ई-स्पोर्टसका लागि छुट्याएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन - प्रमुख शाह

काठमाडौँ । आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरले ई—स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको प्रमुख बालेन्द्र शाह (बालेन) ले स्पष्ट पार्नुभएको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसङ्गका बिषयमा ध्यानाकर्षण भएको छ जनाउँदै प्रमुख शाहले, आधुनिक विश्वमा ई—स्पोर्टस विधा खर्बौँको आर्थिक योगदान गर्ने बिधाका रुपमा रहेको उल्लेख गर्दै नेपालमा यो खेलको व्यवसायिक पाटो बढ्दै गएको बताउनुभयो ।

यही बर्ष हुने एसियाली खेलमा ई-स्पोर्टस पनि समावेश हुनेछ । यस खेलमा योग्य रहेमा नेपाली ई—स्पोर्टसका खेलाडीहरु सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट््याएको हो ।

कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन । प्रमुख शाहले यस्ता विषयलाई बिषयलाई लिएर अतिरञ्जित नगर्न आग्रह गर्नुभएको छ । यस विषयमा आफ्नो नाम जोडिएको प्रसङ्ग उल्लेख गर्दै प्रमुख शाहले भन्नुभएको छ, ‘नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु ।’

सम्बन्धित समाचार

Facebook Comments