काठमाडौं महानगर क्षेत्रभित्र रहेका सम्पूर्ण घर, कम्पाउण्ड, छत, बिजुलीको पोल, सडकमा राखिएका डिभाइडर आदिमा राखिएका पर्चा, पम्प्लेट, भित्तेलेखन, अनधिकृत विज्ञापन बोर्ड, होर्डिङ्ग बोर्ड आदिले दृश्य तथा अन्य वातावरणीय प्रदुषण बढाएको छ । यसले स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्ने, हिँड्डुल गर्ने र प्रदूषण रहितको सुन्दर दृश्यावलोकन गर्ने नागरिकको अधिकारमा बाधा व्यावधान गरेको हुनाले यसलाई हटाउन÷व्यवस्थापन गर्न सम्मानीत श्री सर्वोच्च अदालतले २०७२ भदौ १६ गते फैसला गरिसकेको सबैमा बिदितै छ ।
सहरलाई स्वच्छ, शान्त र हरियाली बनाउन विज्ञापन सामाग्रीले पार्ने नकारात्मक प्रभाव कम गराउन काठमाडौं महानगरले ‘बिज्ञापन सामाग्री व्यवस्थित गर्ने सम्बन्धमा नियमन गर्ने निर्देशिका, २०६४’ र ‘बिज्ञापन नीति, २०७०’ का आधारमा अनधिकृत प्रचार सामाग्रीलाई नियमन गर्दै आएको छ । प्रचार सामाग्री प्रभावकारी व्यवस्थापन गर्न महानगर नगरकार्यपालिकाको २०७६ कार्तिक १७ गतेको निर्णय अनुसार प्रचार सामाग्रीले कुरुप बनाएको महानगरलाई सुन्दर बनाउन महानगरले नियमनका थप कार्यक्रम अघि सारेको सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ ।
सहरमा अझै पनि जसलाई जहाँ मन लाग्यो त्यहीँ पर्चा, पम्प्लेट, व्यानरसहित अन्य प्रचार सामाग्री राख्ने क्रम देखिन्छ । त्यसैले यस प्रकारका प्रचार सामाग्रीसँग सम्बद्ध व्यक्ति, नाफामूलक संस्था, गैर नाफामूलक संस्था र अन्य सम्बद्ध निकायलाई मंसिर २४ गतेभित्र आफूले राखेका बोर्ड, बनोट, पर्चा, पम्प्लेट, भित्तेलेखन आदि सबै प्रकारका प्रचार सामाग्री आफ्नैतर्फबाट हटाउन अनुरोध गरिन्छ । सूचनाको वेवास्ता गरी प्रचार सामाग्री नहटाए महानगर आफैंले त्यस्ता सामाग्री हटाउने र त्यसमा लागेको खर्च सम्बन्धित पक्षबाटै असुलउपर गरिने व्यहोरा जानकारीका लागि अनुरोध गरिएको छ ।
काठमाडौ महानगरपालिका
नगर कार्यापालिकाको कार्यालयको