काठमाडौँ हवका लागि उत्कृष्ट १० सोच अन्तिम चरणमा 

काठमाडौँ । काठमाडौं मेट्रोपोलिटन सिटी हब (के—हब) कार्यक्रममा १० वटा सोच अन्तिम चरणमा पुगेका छन् । आवेदक ३० समूहमध्ये विभिन्न चरणका छनौट प्रक्रिया पार गर्दै उत्कृष्ट १० समूह अन्तिममा पुगेका हुन् । के—हब  काठमाडौँ महानगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) ले संयुक्त सञ्चालन गरेको युवाहरुबिच उद्यमशीलतामा आधारित तथा उत्पादनमुलक कार्यक्रम थालनी गर्ने कार्यक्रम हो । 

कार्यक्रमलाई अगाडि बढाउने सन्दर्भमा आज युएनडीपी, एक्सलेरेटर ल्याबका, सोलुसन म्यापिङ् प्रमुख अलिष्का जोशीले महानगरकी उपप्रमुखसँग भेटेर अहिलेसम्म सम्पन्न गरिएका प्रक्रिया र आगामी कार्यक्रमका विषयमा जानकारी गराउनुभयो ।  

कार्यक्रमका विषयमा जानकारी लिइसकेपछि उपप्रमुख डंगोलले भन्नुभयो, ‘कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट युवाहरुमा उद्यमशीलताका लागि प्रोत्साहन हुनेछ । आफ्नो ठाउँमा कमाइ हुने सम्भावना नदेखेर श्रमका लागि बाध्यताबश बिदेश जानु पर्ने, केही गर्न सकिएन भनेर निराश हुनुपर्ने अवस्थामा कमी ल्याउनमा कार्यक्रमले नतिजा दिनेछ ।’ 

सोच भएका तर कसरी गर्ने भनेर अलमल्लमा परेका युवालाई बाटो देखाउने कार्यक्रमको मुख्य उद्देश्य हो । यसका लागि महानगरले लगानी गरेको हो । उपप्रमुख डंगोलको भनाइ थियो । 

युएनडीपीका सोलुसन म्यापिङ् प्रमुख जोशीकाअनुसार छानिएका १० वटा सोचमध्ये बाखं न्यने वाः ले काठमाडौँ सहरका पाका मानिसहरुसँग लोक जीवन, जात्रा पर्व, संस्कार तथा संस्कृतिसँग सम्बन्धित पुराना कथा सोधेर त्यसलाई शव्द चित्रमा उतार्नेछ । यसबाट नासिन लागेका अमूर्त संस्कृतिको पुनस्र्थापना र युवाहरुमा पुस्तान्तरण हुने अपेक्षा गरिएको छ । 

बोधी नेचर्सले, रसायनविहिन हात धुने र भाँडा माझ्ने साबुन उत्पादन गर्नेछ । यसबाट जल तथा माटो प्रदुषणमा कमी आउनेछ । यस्तै रसायनयुक्त साबुनको प्रयोगले उपभोक्तामा परेको स्वास्थ्य समस्यामा कमी हुनेछ । यस कोणबाट यो सोच वातावरण र जनस्वास्थ्य दुवै क्षेत्रसँग सम्बन्धित छ । 

फ्लोवी भेन्चर्सले पिरियड पेन्टी उत्पादन गर्ने सोचले प्रतिस्पर्धामा आफूलाई उत्कृष्ट १० मा पारेको हो । यो महिलाहरुको महिनावारीसँग सम्बन्धित छ । अहिले महिलाहरुले महिनावारीका समयमा प्याडको प्रयोग गर्ने गरेका छन् । फ्लोवी भेन्चर्सले प्याड लगाउनु नपर्ने पेन्टी उत्पादन गर्नेछ । यो पेन्टी प्रयोगकर्ताले प्याडमा अतिरिक्त खर्च गर्नुपर्दैन । 

अर्को सोच हो ह्याप्पी माइन्ड्स । यसमा अनलाइन मनोबैज्ञानिक परामर्श दिइन्छ । व्यक्तिहरु विभिन्न कारणले तनाव र दवाबमा पर्ने गर्छन् । यसले उनीहरुको मानसिक स्वास्थ्यमा समस्या पर्ने हुन सक्छ । व्यक्तिसँग भेटेर कुरा गर्दाभन्दा अनलाइनको माध्यमका ऊ अझ खुल्न सक्ने भएकोले यसबाट मानसिक स्वास्थ्यका क्षेत्रमा सकारात्मक परिवर्तनको अपेक्षा गरिएको छ । 

मुसुर (कल्की आइओटी) नाम दिइएको सोचमा कोठाभित्रै च्याउ उत्पादन गर्ने प्रविधिको कुरा गरिएको छ । यो एउटा उपकरण हो । यसको प्रयोगबाट मानिसले आफू बस्ने कोठामा नै आफूले खाने च्याउ उत्पादन गर्न सक्छन् । कोठामै च्याउ फलाउन पाउँदा र यही च्याउ टिपेर खान पाउँदा व्यक्तिमा खुशी प्राप्त हुन्छ । यस्तै सहरी जीवनलाई सक्रिय बनाउन मद्दत गर्छ । 

प्लाष्टिक सोलुसनअन्तर्गतको सोचमा प्लाष्टिकबाट निर्माण सामग्री बनाउने काम गरिन्छ । सहरी वातावरण, स्वास्थ्य र सुन्दरता सबै कोणबाट प्रयोगपछिका प्लाष्टिक समस्या बनिरहेका छन् । यी समस्यालाई टिपेर इटा तथा सडक निर्माणका लािग सामग्री बनाउनु यो सोचको मुख्य विशेषता हो । 

प्रोजेक्ट क्युब्स स्मार्ट कम्पोष्टिङ् प्रविधि हो । यस प्रविधिमा युवाहरु आकर्षित हुने अपेक्षा छ । परम्परागत कम्पोष्टिङ्मा तापक्रम, दुर्गन्ध व्यवस्थापन जस्ता कुराहरुलाई मानिस आफैँले मिलाउनु पर्छ । यस प्रविधिमा आवश्यक पर्ने आवश्यकता क्युव आफैँले संकेत गर्छ । यसबाट प्रयोगकर्तालाई सन्तुलन कायम गराउन सहज हुनेछ । 
 
सहज कीट पनि महिनावारी सँग सम्बन्धित छ । कार्यालयमा काम गर्ने महिला कर्मचारीहरुको कार्यालयमा नै महिनावारी भयो भने समस्या हुन सक्छ । यसलाई व्यवस्थापन गर्न शौचालयमा सहज किटको सुलभ व्यवस्था गर्नु यसको उद्देश्य हो । 

स्कील एण्ड थ्रील सोच साहसिक खेलसँग सम्बन्धित छ । यसमा माउन्टेन बाइकिङ् सम्बन्धि प्रशिक्षण दिइनेछ । यसबाट साहरिक खेलतर्फ नेपाली खेलाडीहरु उत्पादन हुने अपेक्षा गरिएको छ । 

भर्टिकल ग्रीन्स सोचमा प्रविधिमार्फत कौसी तरकारी खेतीलाई विस्तार गरिने योजना छ । कौसीमा गरिने परम्परागत क्रियाकलापलाई प्रविधिले सजिलो बनाउनेछ । त्यस्तै प्रयोगकर्तालाई जाँगर दिनेछ । 

कार्यक्रम छानिएका सोच तथा सोच कार्यान्वयन गर्ने युवालाई व्यापार अनुसन्धान, लगानीको क्षेत्र र जोखिम, एकल र संयुक्त लगानी, व्यापार प्रबर्धन र सञ्जालीकरण, व्यापारिक कोण, व्यापार गर्दा अबलम्बन गर्नुपर्ने कर सम्बन्धि जानकारी, व्यापारमा प्रबिधिको प्रयोग, व्यापारिक कार्यमा प्राप्त हुने आनुदान रकम र यसको व्यवस्थापन जस्ता बिषमया ३ महिने तालिम दिइएको छ । तालिममा १५ सोच थिए । त्यसपछिको मूल्याङ्कनबाट १० वटा सोच छानिएका हुन् । छानिएका सोचलाई उद्यममा रुपान्तरण गर्न प्रत्येक सोचलाई (५ लाख रुपैयाँ) वीउ लगानी दिइनेछ ।

सोच निर्माण गर्न स्वास्थ्य, शिक्षा, वातावरण र संस्कृति पर्यटन गरी ४ वटा क्षेत्र दिइएको थियो ।  

के हो, के हव?

साना उद्यम, न्युन लगानी भएका तथा स्वरोजगारमुलक व्यापार के हबको मुख्य सोच हो । यसमा उत्पादनमुलक क्षेत्रका बिषयमा युवाहरुलाई सीप सिकाउने र लगानी सहयोग गरेर उद्यम सञ्चालन गर्न प्रोत्साहित गर्ने क्रियाकलापको मुख्य काम हो । 

कार्यक्रमबाट युवाहरुले सम्भावना दख्नेछन् । यसबाट बाध्य भएर बिदेश जानु पर्ने अवस्थामा कमी ल्याउने नतिजा ल्याउन खोजिएको छ । निश्चित अवधिमा आफू रोजगार बन्ने र अरुलाई रोजगारी दिने सपना पूरा गर्ने काम हुनेछ । विस्तारै उद्यम र उद्यमशीलता विस्तार हुँदै जानेछ । स्थानीय स्तरमा उपलब्ध तर बजार भाउ नपाएका सामान तथा बस्तुलाई बिक्री योग्य बनाइनेछन् । सामानलाई बजारको पहुँचमा पु¥याइनेछ । 

सम्झौताबमोजिम शुरुवात चरणमा कार्यक्रम सञ्चालनको बिधि तथा प्रक्रिया, सहभागी युवा छनौट प्रक्रिया, यसको दिगोपनाजस्ता बिषयमा अध्ययन र कार्यक्रम सञ्चालन ढाँचा तयार पारिएका छन् । नविन सोच निर्माण र कार्यान्वयनका लागि संयुक्त लगानीबाट हुने काम, आफ्ना—आफ्नै लगानी (महानगरपालिका र युएनडीपी) बाट सञ्चालन हुने काम, साझा कार्यक्रमको कार्यक्षेत्रजस्ता बिषय पहिचान भएका छन् । छनौट गरिएका कार्यक्रमबाट अधिकतम लाभ लिन कार्यक्षेत्र र मार्गनिर्देशन तयार गरिएका छन् । 

संयुक्त सहभागितामा कार्यक्रम सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र युएनडीपीविच २०७६ मंसिर २९ गते सम्झौता भएको थियो । 

 

 

 

 

सम्बन्धित समाचार

Facebook Comments