महानगरको वार्षिक बजेट क्युआर कोडबाट स्क्यान गर्न सकिने 

काठमाडौँ । आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरको बजेट वेभसाइटमा सार्वजनिक भएको छ । बजेट सम्बन्धी सामग्री हेर्न र पढ्न सजिलो होस भनेर क्युआर (क्वीक रेस्पोन्स) कोड बाट स्क्यान गर्न सक्ने बनाइएको छ । गएको असार २४ गते राष्ट्रिय सभा गृहमा सम्पन्न नगर सभा ११ औँ अधिवेशनको छैटौँ बैठकले संशोधनसहित वार्षिक बजेट स्वीकृत गरेको थियो । अधिवेशन असार ५ गतेबाट सुरु भएको थियो । त्यसदिन महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले आर्थिक बर्ष २०७९/०८० का लागि वार्षिक नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । यो प्रस्ताव असार ८ गते बसेको सभाको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको थियो । 

असार १० गते सम्पन्न सभाको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले आर्थिक बर्ष २०७९/०८० का लागि २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको अनुमानित बजेट पेश गर्नुभएको थियो । त्यसै बैठकमा सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाहले आर्थिक विधेयक र उपप्रमुख डंगोलले विनियोजन विधेयक पेश गर्नुभएको थियो । यसरी पेश गरिएको बजेट तथा कार्यक्रममाथि असार १७, २२ र आज (२४) गते बसेको बैठकमा छलफल भएको थियो । छलफलका क्रममा उठेका सुझावलाई समेटेर बैठकले बजेट तथा कार्यक्रम र विनियोजन विधेयक सर्वसम्मत पारित गरेको थियो । सभामा पेश भएको आर्थिक विधेयक असार १७ गते बसेको चौथो बैठकबाट पारित भएको थियो । 

बजेट सार्वजनिक भएपछिको प्रतिक्रियामा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले, बजेट पारित गराउन र कार्यान्वयन गराउन सहकार्यको विकल्प नभएको प्रतिक्रिया दिनुभएको छ । ‘हामीले बजेट निर्माणताका हेक्का राखेका केही कुराहरु छन । यसमा हामीले महानगरको प्राथमिकता तय गरेका छौँ । तत्काल परिवर्तन गर्ने आवेश छैन । क्रान्तिकारी देखिने चाहना छैन । एक्लै हिँडेर गन्तव्य पुग्न खोज्ने गल्ती गरिएको छैन ।’ प्रमुख शाहले भन्नुभएको छ, पुराना किसिमका बजेट शीर्षकहरुलाई यसपाली पनि निरन्तरता दिएका छौँ । र, भविष्यका लागि सकारात्मक आधार बन्ने केही नयाँ शीर्षकमा बजेट थपेका छौँ ।’

‘हाम्रा, महानगरवासीका र महानगर आफैँका पनि सीमा र बाध्यताहरु हुन्छन । यसविचमा पनि उद्देश्य र प्राथमिकता हुन्छन । अहिले फोहोर व्यवस्थापनलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ ।’ प्रमुख शाह भन्नुहुन्छ, ‘शिक्षा र स्वास्थ्यलाई थप मजबुत बनाएर हरेकको पहुँचमा गुणस्तरीय सेवा पुर्याउन ३ गुणासम्म बजेट वृद्धि गरेका छौँ । यस्ता धेरै कुराहरु छन, जसमा आलोचना वा प्रशंसा दुवै आउन सक्छन । ती सबै कुराहरुलाई स्वागत गर्दछौँ ।’ 

तपाईले अहिलेसम्म महानगरको बजेट पढ्नु भएको छैन भने महानगरको वेबसाइटमा गएर पढ्न सक्नु हुनेछ

सम्बन्धित समाचार

Facebook Comments