बेलायतका संसदहरु, काठमाडौंको सम्पदा मार्गमा

सम्पदा व्यवस्थापन र प्रवर्धनमा सहयोग गर्ने रुची

 
चन्द्रमणि भट्टराई
जेठ १

काठमाडौँ । काठमाडौं उपत्यकाको भएका सांस्कृतिक भौतिक अवस्था, परम्परागत वस्ती, संस्कृति र सभ्यताको प्रवर्धन र दिगो विकास अवस्था अध्ययन गर्न वेलायतका संसदहरुको एउटा टोलीले बाग्मती नदी किनाराको अवलोकन गरेको छ । काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका संरक्षण कोष र सम्पदा बचाउन सक्रिय युवाहरुका साथमा सम्पन्न अवलोकन टेकुको कालोपुलदखि शुरु भएर त्रिपुरेश्वरस्थित त्रिपुरा सुन्दरी मन्दिर परिसरमा आएर सम्पन्न भएको थियो ।

महानगरले प्रवर्धन गरेको त्रिपुरेश्वर कालमोचनबाट टेकु दोभान खण्डसम्मको सम्पदा मार्गमध्ये करीव ८०० मिटर सडक खण्डको अवलोकन गरिएको थियो । त्यस बेला सम्पदा मार्गमा पर्ने मठ मन्दिरमा भएको तत्कालीन कला संयोजनको निरन्तरता, निर्माण सामाग्रीको उपलब्धता, सहरीकरणसँग सम्पदा अतिक्रमणको खतरा तथा वचावटका प्रयासमा सरकार, समुदाय र युवा सहभागिताका बारेमा जानकारी गराइएको थियो ।

संसद सदस्य नाइजेल इभान्सको नेतृत्वमा आएको प्रतिनिधि मण्डलमा डेभिड मोरिस, वीरेन्द्र शर्मा, केरी म्याकक्याथ्री, लर्ड बल्फे, लर्ड ढोलाकिया सहभागी हुनुहुन्थ्यो । अध्ययन भ्रमणका क्रममा उहाँहरुले सम्पदाका अन्तर पक्षमा गहिरो चासो राख्नुभएको थियो ।

अध्ययनका क्रममा संसदहरुले सम्पदा संरक्षणमा राम्रो कामको थालनी भएको प्रतिक्रिया दिँदै, यसको विस्तार र प्रवर्धनमा आवश्यक परे आफू पनि सहयोग गर्न इच्छुक रहेको जनाउनुभएको थियो । अध्ययन भ्रमणको संयोजन, स्थानीय सरोकारवाला निकाय तथा समुदायको सहयोग लिएर व्रिटिस काउन्सिलले गरेको थियो ।

यसमा तपाइको मत