मेयर कप क्रिकेट आजबाट सुरु

उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई १ विकेटले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको छ


फागुन २२
काठमाडौं । काठमाडौं मेयर कपको पहिलो संस्करण आजबाट सुरु भएको छ । टीयुको खेल मैदानमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रतियोगिता सुरु गर्नुभएको हो ।
खेल उद्घाटन गरिसकेपछि कार्यक्रममा बोल्दै उपप्रमुख खड्गी श्रेष्ठले — महानगरले खेलमा लगानी बढाएर युवा लक्षित कार्यक्रमलाई अघि बढाएको बताउनुभयो । ‘खेलले युवालाई रचनात्मक बनाउँछ । यसको प्रवर्धन र विस्तारले नेपालको नाम अन्तरराष्ट्रिय स्तरमा फैलिने विश्वाश लिएर महानगरले लगानी बढाएको हो ।’ खड्गी श्रेष्ठले भन्नुभयो — ‘महानगरले पूर्वाधार, आर्थिक तथा सामाजिक विकाससँगै खेल विकासका लागि ध्यान दिएको छ ।’

उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिस्पर्धामा विभागीय टिम एपीएफ क्लबले पहिलो संस्करणको विजयी शुरुवात गरेको छ । त्रिभुवन आर्मी क्लबलाई १ विकेटले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो । आर्मीले दिएको २ सय ३६ रनको लक्ष्य एपीएफले ४९ ओभर ४ बलमा ९ विकेट गुमाएर पुरा गरेको थियो । एपीएफको जीतमा सुमित महर्जनले ६० रनको अर्ध शतकीय इनिङ्स खेले । उनले ७८ बलमा ८ चौका प्रहार गर्दै ६० रन जोडेका थिए । सुमितले बसन्त रेग्मीसँग ७१ रनको साझेदारी गरे ।

बसन्त अर्धशतक बनाउनबाट एक रनले चुके । ४९ रनमा बसन्त करण केसीको बलमा भीम सार्कीको हातबाट क्याच आउट भए । उनले ७९ बलमा ३ चौका र एक छक्का प्रहार गर्दै ४९ रन बनाए । त्यस्तै शंकर रानाले ३३ रनको योगदान दिए । उनले ४३ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३३ रन बनाए ।

एपीएफको १६ रन हुँदा चार विकेट गुमाएको अवस्थामा मैदान प्रवेश गरेका सुमितसँग शंकरले ५२ रनको साझेदारी गरेका थिए । अमर रौटेलाले ३८ रनको योगदान दिए । उनले ३१ बलमा एक चौका र चार छक्का प्रहार गरे । आसिफ शेखले १२ र भुवन कार्कीले १० रनको योगदान दिए । कमल ऐरी ४ र अभिनास बोहरा ७ रनमा अविजित रहे ।

आर्मीका बिक्रम सोबले तीन विकेट लिए । त्यस्तै करण केसीले दुई तथा सोमपाल कामी, शाहब आलम र लोकेश बमले १÷१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय ३५ रन बनाएको थियो । आर्मीका लागि रोहित पौडेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७८ बलमा ३ चौका प्रहार गर्दै अर्धशतकीय इनिङ्स खेलेका हुन् । उनी कमल ऐरीको बलमा कप्तान शदर भेषवाकरको हातबाट क्याच आउट भए ।

यस्तै कप्तान विनोद भण्डारीले ४२ रन बनाए । लोकेश बमले ३० रन जोड्दा सोमपाल कामीले २८ रन बनाए । पहिलो विकेटका लागि ओपनरद्धय सोमपाल र लोकशले ६१ रनको साझेदारी गरेका थिए । भीम सार्कीले १८ र राजेश पुलामीले १७ रन बनाए । कुशल मल्लले ११, बिक्रम सोब ४, करण केसी २ र सुशन भारी सुन्य रनमा आउट भए । एपीएफका लागि अविनास बोहोराले ३ विकेट लिए । यस्तै अमर रौटेला र भुवन कार्कीले २÷२ विकेट लिए । बसन्त रेग्मी र कमल ऐरीले १÷१ विकेट लिए ।
जीतसँगै एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ । आर्मीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यस्तै मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल भएको छ । प्रतियोगितामा आयोजक टिम काठमाडौं मेयर – ११ सहित त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशले भाग लिएका छन् ।

प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् ।सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले २५÷२५ हजार पाउने छन् । खेलाडीले प्रति खेल २ हजार म्याच फि प्राप्त गर्दा प्लेयर अफ द म्याचले ५ हजार पाउने छन् ।

प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत