भारतका प्रधानमन्त्री मोदीलाई काठमाडौं महानगरको नागरिक अभिनन्दन

काठमाडौं कलाको महाकुम्भ — प्रधानमन्त्री मोदी

चन्द्रमणि भट्टराई
बैशाख २९


समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदी
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं कलाको महाकुम्भ भएको बताउनु भएको छ । शनिवार भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा महानगरले आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा, अभिनन्दन र काठमाडौं नगरको साँचो ग्रहण गर्दै प्रधानमन्त्री मोदीले अनुपम विशेषता भएको नगरसँग आफ्नो र भारतको गहिरो नाता रहेको बताउनु भयो । सो क्रममा प्रधानमन्त्री मोदीले काठमाडौंं काष्ठकलायुक्त, भक्तपुर भव्य, ललितपुर ललितकलायुक्त भएको बताउनु भएको थियो । विश्वका हरेक देशसँग भाइ भाइ र वन्धुत्वको नाता राख्ने भारतको विदेश नीति हो । त्यसमा नेपाल त छिमेकी मुलुक हो । यसकारण पनि नेपालको समृद्धिमा भारत सदैव सहयोग गर्न तत्पर छ । प्रधानमन्त्री मोदीले भन्नुभयो — आवश्यकताका आधारमा नेपालले अघि सारेका कामप्रति भारतको सदैव सहयोग रहन्छ ।

मन्तव्यका क्रममा प्रधानमन्त्री मोदीले — पशुपतिनाथ, बौद्ध, स्वयम्भू, बसन्तपुरको काष्ठमण्डपदेखि नागार्जुन र शिवपुरी बन, बाग्मती नदीको मुहानसम्मका स्थानको विशेषतामा चर्चा गर्नुभएको थियो । त्यस्तै धार्मिक आध्यात्मिक विषयदेखि विकास र समृद्धिको प्रसङ्ग, देशदेशवीचको सम्बन्धदेखि नागरिक नागरिकवीचको सम्बन्धका विषयमा समेत चर्चा गर्नुभएको थियो । त्यस्तै भूकम्पको समयमा नेपालीले सहेको दुःख र दुःखका समयमा देखाएको धैर्यतादेखि भारतले प्रक्षेपण गरेको भूउपग्रहमार्फत छिमेकीलाई पुग्ने लाभसम्मका विषयमा उहाँको मन्तव्य रह्यो । मन्तव्यकै क्रममा प्रधानमन्त्री मोदीले सार्क सम्मेलनको समय स्मरण गर्दै भन्नुभयो — त्यसबेला मैले यही मञ्चमा उभिएर आपसी सौहाद्रताका विषयमा बोलेको थिएँ । त्यसमा अहिले पनि भारतका अडान फेरिएको छैन ।

समारोहमा बोल्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले — दुई देशका नागरिकवीच बर्षौ लामो सम्बन्धले आपसमा गहिरो मित्रता भएको जनाउँदै नेपालका प्रधानमन्त्रीले गर्नुभएको भारत भ्रमण र भारतका प्रधानमन्त्रीले गर्नुभएको नेपाल भ्रमणले आपसी सम्बन्धलाई थप मजवुत बनाएको बताउनु भयो ।

समारोहमा प्रधानमन्त्री मोदीलाई प्रदान गरिएको नागरिक अभिनन्दन पढेर सुनाउँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — नेपालको विकास र समृद्धिका लागि भारत सरकारको सद्भाव र सहयोग आवश्यक रहेको जनाउँदै आपसी विकासका लागि सद्भाव र सहकार्यको निरन्तरतामा जोड दिनुभयो । अभिनन्दन पत्रमा आपसी देश, नगर—नगर र नागरिक — नागरिकवीचको सम्बन्धका दायरा, आपसी सहकार्यका क्षेत्र उल्लेख गर्दै विगतमा प्राप्त गरेका सहयोगप्रति आभार प्रकट गरिएको छ ।

प्रधानमन्त्रीलाई अभिनन्दनसँगै प्रमुख शाक्यले महानगरको साँचो, ५५ किलोग्रामको वुद्धमूर्ति र उपत्यकाको काष्ठकलाको बिम्ब स्वरुप कलात्मक झ्याल प्रदान गर्नुभएको थियो ।

समारोहमा बोल्दै महानगरका कायममुकायम प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले भारतीय प्रधानमन्त्रीले महानगरबासीकोतर्फबाट स्वीकार गर्नुभएको अभिनन्दनबाट दुई देशमा जनस्तरको सम्बन्ध थप प्रगाढ हुने विश्वाश व्यक्त गर्नुभएको थियो ।

अभिनन्दन समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री रविन्द्र अधिकारीलगायत विभिन्न मन्त्रालयका मन्त्रीहरु, प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार मन्त्री केशव स्थापित, ललितपुर महानगरका प्रमुख चीरिबाबु महर्जन, काठमाडौं महानरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, संघीय तथा प्रदेश प्रतिनिधि सभा सदस्यहरु, कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न मन्त्रालयका, सचिवहरु, सुरक्षा निकायका अधिकारीहरुलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत