उपभोक्ता अधिकार दिवस मनाउने तयारीमा काठमाडौं महानगरपालिका

उपभोक्ताको सुरक्षा, सुनुवाई, क्षतिपूर्ति र छनौटको अधिकार सम्बन्धि सचेतना बढाउने लक्ष्य हो —  — डेपुटी मेयर खड्गी श्रेष्ठ

काठमाडौं । काठमाडौं महानगरले यो बर्ष उपभोक्ता अधिकार दिवस मनाउने तयारी गरेको छ । आज महानगरकी डेपुटी मेयर हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको ‘उपभोक्ता हित संरक्षण समिति’ को बैठकले यस्तो निर्णय गरेको हो । दिवस हरेक बर्षको मार्च १५ तारिख अर्थात यस बर्ष आउँदो चैत्र २ गते परेको छ ।

‘हामीले उपभोक्ताको खाद्य सुरक्षाका लागि धेरै काम गर्नु पर्नेछ ।’ बैठकमा डेपुटी मेयर खड्गी श्रेष्ठले भन्नुभयो — ‘अनुगमनबाट बजार नियमन गरिरहेका छौं । उपभोक्ता अधिकार सुनिश्चित गर्न सचेतना कार्यक्रम नभइ हुँदैन । सन्देश र अभियानको शुरुवातका लागि दिवस एक दिन मनाउने हो । तर, अभियान नियमित चलिरहन्छ ।’

बैठकमा कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारी, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना, नेपाल च्याम्बर अफ कमर्श, महानगर समितिका प्रथम उपाध्यक्ष तेविन्द्ररत्न शाक्यसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

यस बर्ष दिवसको नारा ‘ट््याकलिङ् प्लाष्टिक पोलुसन’ रहेको छ । ‘सुरक्षा, सुनुवाई, क्षतिपूर्ति र छनौट’ उपभोक्ताका यी प्रमुख ४ वटा अधिकार सम्बन्धि सचेतना फैलाउन यो दिवस मनाउने गरिन्छ । अमेरिकाका ३५ औं राष्ट्रपति जोन एफ. केनेडीले यी ४ वटा अधिकार प्राप्तिका लागि अमेरिकी कंग्रेसमा राखेका थिए । यो प्रस्ताव मार्च १५ तारिखका दिन अनुमोदन भएकोले यसै दिनलाई उपभोक्ता अधिकार दिवसका रुपमा मनाउन थालिएको हो ।

अहिलेको दरमा प्लाष्टिकको प्रयोग बढ्दै जाने हो भने सन् २०५० सम्ममा समुद्रमा भएका माछाभन्दा प्लाष्टिकको संख्या धेरै हुने अनुमान गरिएको छ । यसबाट बार्षिक रुपमा हजारौं समुद्रका जीव र समुद्री चराहरुको मरिरहेका छन् ।

विश्वमा उत्पादित प्लाष्टिकजन्य सामानको दर हेर्दा ५० प्रतिशत सामान एकपटक प्रयोग गरेर फालिने गरेका छन् । सामानका प्याकेट बनाउन उत्पादितमध्ये ४० प्रतिशत प्लाष्टिक प्रयोग भइरहेको छ । यी प्लाष्टिकहरु एक पटक प्रयोग गरिसकेपछि फेरि प्रयोगमा आउँदैनन् । यिनीहरु फालेर वातावरणमा पठाइन्छन् ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत