काठमाडौंमा सुरु भयो वाटर एटिएम : पाँच रुपैयाँमा एक लिटर पानी

बटुवालाई चाहिएको ठाउँ र चाहिएको मात्रामा स्वच्छ पिउने पानी उपलव्ध गराउनु एटिएम स्थापनाको उद्देश्य हो

काठमाडौं । काठमाडौंका ३ ठाउँमा आजबाट वाटर एटिएम सञ्चालनमा आएका छन् । शंखघर पार्क (रत्नपार्क) टिकट काउन्टरसँगै, स्वयम्भू भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वार सँगै वाटर एटिएम स्टेशन राखिएका छन् । आज एटिएम उद्घाटनका लागि खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापा र सचिव माधव बेल्बासे ३ वटै ठाउँमा पुग्नुभएको थियो । यसैगरी बालाजुमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, शंखपार्कमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, स्वयम्भूमा महानगरका प्रवक्ता ईश्वरमान डंगोलसहित पदाधिकारी सहभागी हुनुभएको थियो ।

यो ठाउँलाई महानगरले ‘जरुंहिति’ नाम दिएको छ । वटुवाको प्यास मेटाउन काठमाडौंमा जरुंहिति थिए । घरमा पानी लिएर आउने गृहिणीले यी हितिमा एक एक अङ्खोरा पानी राखिदिने गर्थे । त्यो पानी पिएर वटुवा प्यास मेटाउँथे । यस्ता स्थानहरु क्रमशः हराउन थालेपछि महानगरले गएको चैत ९ गते स्वच्छ पिउने पानी उपलब्ध गराउन स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटिएम) राख्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको थियो ।

बटुवालाई चाहिएको ठाउँ र चाहिएको मात्रामा स्वच्छ पिउने पानी उपलव्ध गराउनु एटिएम स्थापनाको उद्देश्य हो । अहिले उपभोक्तालाई नचाहिए पनि १ लिटर पानी अनिवार्य किन्नु पर्ने बाध्यता छ । एटिएम जडानपछि आफूलाई चाहिने जति मात्र पानी किन्न सकिने भएको छ । अहिलेको प्रणालीभित्रै १ हजार ५ सय लिटरको र त्यससँगै छेउमा ५ हजार लिटरको ट््याङ्की राखिएको छ । मेलम्चीको पानी वितरण भएपछि मेलम्चीको पाइप प्रणालीमा सोझै जडान गर्ने योजना छ ।

सम्झौताबमोजिम चालु आर्थिक बर्षभित्र वडा ४ को शंखपार्क, वडा १५ स्वयम्भूको भुइँखेल, वडा १६ को बालाजु पार्क, वडा २८ को शंखधर पार्क र वडा ३१ को ट्रलीबस सेवा भएको कम्पाउण्डमा वाटर एटिएम राखिनेछ । यी ठाउँमा वाटर एटिम स्थापना गरेर आउँदो ३ बर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ भने महानगरपालिकाले एटिम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराउनेछ । यही सम्झौताबमोजिम बोर्डले ३ ठाउँका प्रणाली सञ्चालनमा ल्याइसकेको छ भने बाँकी २ ठाउँमा प्रणाली जडान कार्य अन्तिम चरणमा पु¥याएको छ ।

‘प्लाष्टिक रहित सहरको परिकल्पनामा सहभागी बनौँ’ नारा लेखिएको बोर्डसँगै प्रणाली जडान भइसकेका वाटर एटिएमहरुको आज शुभारम्भ गरिएको हो । उद्घाटनका क्रममा मन्त्रीसहित उपस्थित पदाधिकारीले ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का राखेर कप र पानी लिनुभएको थियो । कपमा आएको पानी उहाँहरुले पिउनु भएको थियो ।

पानी पिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री थापाले आधुनिक प्रविधिसँग सेवाग्राहीलाई जोड्न काठमाडौंं महानगपालिकासँगको सहकार्यबाट परिणाम प्राप्त भएको बताउनुभयो । ‘पहिलो चरणमा उपत्यकाका १५ ठाउँमा सञ्चालन गर्ने तयारी छ । विस्तारै मुलुकभरिकै सहरमा सेवा विस्तार हुनेछ ।’ मन्त्री थापाले नविनतम सेवाका लागि स्थानीय तहहरुसँग सहकार्य गर्दै जाने बताउनुभयो ।

‘मेलम्ची अहिले राजधानीवासीका लागि निकै महत्वपूर्ण छ । मेलम्चीको पानी आउने अन्तिम तयारी भैरहेका बेलामा यस्तो प्रविधिको शुरुवात हुनु खुशीको कुरा हो ।’ राज्यमन्त्री मानन्धरले भन्नुभयो, ‘एक लिटर नै पानी किनेर खानुपर्ने बाध्यतालाई यो प्रविधिले अन्त्य गरेको छ । पानीको उपलब्धतासँगै शौचालय पनि सहज उपलब्ध हुनुपर्छ ।’

‘प्रविधिको प्रयोगबाट शुद्धिकरण गरिएको पानी सस्तो मूल्यमा प्राप्त गर्ने वातावरण बनेको छ ।’ सचिव बेल्बासे भन्नुहुन्छ — ‘प्रविधि ल्याउन र प्रयोग गर्न सिकाउँदै लैजाने दुवै कामलाई सँगै गर्नुपर्छ ।’

काठमाडौंलाई मानवमैत्री सहर बनाउन मानवीय आवश्यकताहरु पूरा गराउने पूर्वाधार थप्दै लगिएको छ । महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत भन्नुहुन्छ, ‘यस प्रणालीले मुख्यतया २ वटा काम गर्छ । एउटा, सुपथ मूल्यमा शुद्ध पिउने पानीको सहज उपलब्धता हुन्छ । अर्को, प्लाष्टिकका बोतलको प्रयोगमा कमी आउँछ ।’

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डले उपत्यकाका १५ ठाउँमा यस प्रकारका प्रणाली जडान गर्दैछ । बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणाकाअनुसार स्थापनापछिका ३ महिना सञ्चालन व्यवस्थापन खर्चसहित प्रणाली जडानको लागत करीब १५ लाख ८६ हजार रुपैयाँ हो । उपत्यकाका सबै प्रणाली जडान गर्दा करीब २ करोड रुपैयाँ खर्च हुनेछ ।

कसरी चलाउने वाटर एटिएम

वाटर एटिएम एउटा उपकरण हो । यसको प्रयोग गर्दा शुरुवात्मा तिरेको २ रुपैयाँमा एउटा २०० मिलिलिटर पानी अट्ने कप र २०० मिलिलिटर पानी पाइन्छ । त्यसपछिका हरेक २०० मिलिलिटरको पानीको मुल्य १ रुपैयाँ पर्छ । त्यसमा आफूलाई आवश्यकता भएअनुसार पानी लिन सकिन्छ । यदि कसैले बोतल लिएर जाने हो ५ रुपैयाँमा १ लिटर पानी भर्न सकिन्छ ।

क) मेसिनमा १ रुपैयाँको सिक्का मात्र चल्छ ।
ख) गोजीमा सिक्का पैसा छैन भने १० वा ५ रुपैयाँको नोटको सिक्का साट्न सकिन्छ ।
ग) सिक्का साट्न वाटर भेन्डिङ मेसिन सिक्का साट्ने मेसिन राखिएको छ ।
घ) साटेको सिक्कामध्ये १ रुपैयाँको सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउनुपर्छ । यसबाट २०० मिलिलिटर पानी अट्ने कागजको कप आउँछ ।
ङ) कपलाई लगेर धाराको तल राख्ने ।
च) १ रुपैयाँको सिक्कालाई धारासँगैको सिक्का हाल्ने ठाउँमा छिराउने ।
छ) यसमा २०० मिलिलिटर शुद्ध पिउने पानी आउँछ ।
ज) थप पानी खान मन लागे फेरि १ रुपैयाँको सिक्का खसाउँदा २०० मिलिलिटर पानी पाउन सकिन्छ ।
झ) १ लिटर पानी लिनु परे बोतल थापेर १ रुपैयाँका ५ वटा सिक्का खसाउने । १ लिटर पानी प्राप्त हुन्छ ।
ञ) प्रयोग गरिसकेको कपलाई कन्टेनरमा फालिदिने ।

 

Tags

#Water_ATM
चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत