संगठन संरचना र कर्मचारी व्यवस्थापन सम्बन्धि २ वटा विधेयक विधायन र सुशासन समितिमा पठाउँदै महानगरको ५६ औं कार्यपालिका बैठक सम्पन्न

फागुन ४ गते विशेष अधिवेसन

काठमाडौं । काठमाडौं महानगरमा कार्यरत कर्मचारीको सेवा, सर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक २०७७ र समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ तर्जुमा गर्न सहमति दिँदै आज महानगरको ५६ औं कार्यपालिका बैठक सकिएको छ । प्रमुख शाक्यको अध्यक्षतामा राष्ट्रिय सभा गृहमा बैठक बसेको थियो । महानगरले सम्पादन गर्ने काम, ती काम व्यवस्थापन गर्न आवश्यक विभाग, महाशाखा, शाखा, सचिवालय, फाँटसहित आवश्यक संगठन संरचना, दरबन्दी, कार्य विवरण, साविक महानगरको सेवा प्रवेश गरेका कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्दाका सर्त, विधिलगायत विषय व्यवस्थापन गर्न ऐन तर्जुमा गर्न बैठकले सहमति दिएको हो ।

विधेयकको मस्यौदा विधायन समितिमा पठाइएको छ । समितिले सुशासन समितिसँगको समन्वयमा छलफल गरेर आउँदो कार्यपालिका बैठकमा पेश गर्नेछ । कार्यपालिकाबाट विधेयक पारित भएपछि फागुन ४ गते बोलाइएको विशेष अधिवेसनमा पेश हुनेछ ।

आजको बैठकमा सार्वजनिक निजी साझेदारीअन्तर्गत काठमाडौं फोहोरमैला व्यवस्थापन बारे सुझाव दिन गठित समितिको प्रतिवेदन प्रस्तुत गरिएको यिथो । समितिका संयोजक एवं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले संयुक्त रुपमा प्रतिवेदनको सार प्रस्तुत गर्नुभएको थियो । २०७६ मंसिर १६ गते लगानी बोर्डबाट यस सम्बन्धि फाइल महानगरमा पठाइएको थियो । २०७७ असोज १९ गते बसेको कार्यपालिका बैठकबाट गठित समितिले पुष २४ गते प्रमुख शाक्यलाई प्रतिवेदन बुझाएको थियो ।

परियोजनालाई अघि बढाउन समितिले दिएका सुझाव आउँदो कार्यपालिका बैठकमा छलफल हुनेछ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत