‘पत्रकार स्वास्थ्य उपचार अक्षय कोष’का लागि पत्रकार महासंघ काठमाडौंलाई महानगरको १५ लाख रुपैयाँ सहयोग

निष्पक्ष भएर कलम चलाउन सञ्चारकर्मीहरुलाई मेयर शाक्यको आग्रह


काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखालाई ‘पत्रकार स्वास्थ्य उपचार अक्षय कोष’का लागि १५ लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको छ । आज शाखाको २२ औँ साधारणसभाका अवसरमा महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । यो कोष जेष्ठ अशक्त र गम्भीर प्रकारको रोग लागेका पत्रकारहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्वोधन गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले, सरकार दृढतापूर्वक मुलुकलाई समृद्ध बनाउने अभियानमा लागिरहेको बताउँदै यसमा पत्रकारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्प सरकारको गन्तव्य हो । यो समग्र विकासका हो भन्ने सन्देश जनतासमक्ष पु¥याउन यहाँहरुले भूमिका निर्वाह गर्नुपर्छ ।’ मन्त्री गुरुङ्को भनाइ थियो ।

त्यस क्रममा महानगरका प्रमुख शाक्यले पत्रकारिताको गरिमा बढाउन व्यवसायिक पत्रकारितामा आमसञ्चारको ध्यान पुग्नु पर्ने बताउनुभयो । निष्पक्ष कलम अहिलेको टड्कारो आवश्यकता हो । प्रमुख शाक्यले भन्नुभयो ‘विकाउ समाचारका लागि विषय खोज्दा तथ्य हराउँछ । समाजमा गलत सन्देश प्रवाह हुन्छ ।’ शाक्यले भन्नुभयो, ‘पत्रकारका हरेक समाचारले व्यक्तिमा धारणा विकास हुने भएकाले विषयले समाजमा पार्ने प्रभावमा सुक्ष्म विश्लेषण गर्ने बानी विकास गर्न आवश्यक छ । पत्रकारले यस विषयमा संवेदनशील नहुने हो भने समाज, राष्ट्र र राष्ट्रियता नै खतरामा पर्न सक्छ । त्यस कुरामा तपाईँहरु सचेत हुनुहुन्छ । अझ सचेत हुनुहोला भन्ने मेरो अपेक्षा छ । सत्य सूचना तपाईँहरुको दायित्व र जिम्मेवारी भित्रपर्छ ।’

कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामनारायण विडारी, वागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटा, पत्रकार महासंघका महासचिव रमेश विष्टलगायत वक्ताले सूचना प्रविधिको बढ्द्यो प्रयोग र आमसञ्चार, पत्रकारको भूमिका र पेशागत सुरक्षा, व्यवसायिक पत्रकारिता, बदलिँदो राजनीतिक परिवेशमा आमसञ्चारको भूमिका र संवेदनशीलता लगायत विषयमा धारणा राख्नु भएको थियो ।

शाखाको सदस्य रहँदाकै बखत मृत्यु भएका १३ जना अग्रज पत्रकारको स्मृति र नाममा १३ जना पत्रकारलाई जनही २० हजार रुपैयाँ राशीसहित सम्मान पत्र प्रदान गरियो । यस बर्ष अशोक स्मृति पत्रकारिता पुरस्कारबाट राजेन्द्र स्थापितलाई सम्मान गरियो । स्थापित काठमाडौं महानगरका प्रमुखको सञ्चार र जनसम्पर्क सल्लाहकार हुनुहुन्छ । यसैगरी अग्नि शिखा पत्रकारिता पुरस्कार शम्भू श्रेष्ठलाई, शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार बलराम थापालाई, जसुदा प्रधान स्मृति पत्रकारिता पुरस्कार देवेन्द्र चुडाललाई प्रदान गरिएको छ । शोभा शाह स्मृति पुरस्कारिता पुरस्कार निर्मला शर्मालाई, डम्बर गिरी स्मृति पुरस्कारिता पुरस्कार विश्वराज किराँतलाई, बासुदेव दाहाल स्मृति पुरस्कारिता पुरस्कार इन्द्र रिजाललाई, मुरारी गौत्तम स्मृति पुरस्कारिता पुरस्कार निरोधराज पाण्डेलाई, चक्रपाणि नेपाल स्मृति पुरस्कारिता पुरस्कार ज्ञान उदासलाई, रामचन्द्र हुमागार्इँ स्मृति पुरस्कारिता पुरस्कार ईश्वरीप्रसाद वाग्लेलाई, गोविन्द शर्मा स्मृति पुरस्कारिता पुरस्कार मानध्वज लामालाई, टिवि कुलुङ् स्मृति पुरस्कारिता पुरस्कार टिवि विरहीलाई, तारा न्यौपाने स्मृति पुरस्कारिता पुरस्कार गोपाल बुढाथोकीलाई, फणिन्द्र दाहाल स्मृति पुरस्कारिता पुरस्कार दामोदरप्रसाद दवाडीलाई प्रदान गरियो ।

सोही अवसरमा प्रेस रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले विपद तथा जोखिम पत्रकारिता सहयोग कार्यक्रमअन्तर्गत २ वटा आपतकालीन झोला प्रदान गरेको छ । प्रेस रजिष्ट्रार रेवती सापकोटाले सामाग्री हस्तान्तरण गर्नुभएको झोलामा ल्यापटप, पावर बैङ्क, माइक्रोफोन, टर्च लाइट र मोवाइल ट्रापोड छन् ।

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत