बुद्ध विहार पुननिर्माणका लागि महानगरबाट थप ७० लाख रुपैयाँ अनुदान

जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छेँ लगायत सम्पदा आफ्नै कार्यकालमा पुनःनिर्माण गर्ने लक्ष्य — मेयर शाक्यb

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले बागबजारमा रहेको बुद्ध विहार पुनःनिर्माणका लागि थप ७० लाख रुपैयाँ अनुदान दिएको छ । २०७६ साल साउन ३२ गते १ करोड रुपैयाँ अनुदान दिएको थियो । शनिबार विहारको सभाकक्षमा आयोजना गरिएको समारोहकामा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविर र कोषाध्यक्ष सुरेश महर्जनलाई थप अनुदान रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

अनुदान रकम हस्तातरण गरेपछि बोल्दै प्रमुख शाक्यले महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छेँ लगायत सबै सम्पदा आफ्नै कार्यकालमा पुनःनिर्माण गर्ने लक्ष्य अनुरुप काम भइरहेको बताउनुभयो । सम्पदासँग स्थानीयबासीको आस्था र भावना जोडिएको हुन्छ । मानिसहरुको यो संवेदनशीलताको ख्याल गर्दै यिनै सांस्कृतिक सम्पदाको प्रवर्धन गरेर नेपालको पहिचान अन्तरराष्ट्रिय स्तरमा बढाउने प्रयास गरिरहेका छौं । उहाँले थप्दै भन्नुभयो — ‘यो लक्ष्य पूरा गर्न सबै सम्पदा सुन्दर र आकर्षक अवस्थामा रहन आवश्यक छ । बौद्ध विहार, पाटी पौवा र सम्पदाको पुनःनिर्माणबाट पहिचान प्रवर्धनको आधार तयार हुन्छ । यसमा सबै सरोकारवालाको सहयोग आवश्यक हु्न्छ । त्यो सहयोग पाएको पनि छु ।’

प्रमुख शाक्यले संस्कृति, सम्पदा संरक्षणमा रकम अभाव भयो भनेर चिन्ता नलिन आग्रह गर्दै योजना लिएर आएमा महानगरपालिकाले सबैलाई यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, स्वयभ्भुस्थित आनन्द भुवन विहार पुननिर्माणका लागि महानगरले सहयोग गरेको छ । प्रमुख शाक्यले स्वयम्भुस्थित ऐतिहासिक आनन्दकुटी विहारको पुनःनिर्माणका लागि १ करोड रुपैयाँ उपलब्ध गराउने बताउनुभयो ।

सो अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, विहार पुनःनिर्माणमा महानगरपालिकाले उपलव्ध गराएको सहयोगले महानगर र स्थानीयविच अपनत्व बोध भएको बताउनुभयो । स्थानीय तहप्रति जनताको भरोसा वढ्दै गएको छ । लामो समयसम्म जनप्रतिनिधि नहुँदा पूरा हुन नसकेका काम अहिले भइरहेको उहाँको भनाइ थियो ।

समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविरकाअनुसार महानगरसँगै सर्वसाधारण दाताहरुबाट प्राप्त सहयोगबाट विहार पुननिर्माण भइरहेको छ । पुनःनिर्माणमा गत वर्ष र चालू आर्थिक वर्षमा गरी महानगरपालिकाले उपलब्ध गराएको १ करोड ७० लाख रुपैयाँ पुनःनिर्माणको मेरुदण्ड भएको उहाँको भनाइ छ ।
संस्कृति, सम्पदाप्रतिको संवदेनशीलताका दृष्टि महानगरको सहयोग अनुकरणीय रहेको विहारका सहसचिव सुनील महर्जनको भनाइ छ ।

विहार २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको थियो । ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको विहार नेपाली मौलिकता प्रदर्शन हुने कलात्मक शैलीमा निर्माण भइरहेको छ । पुनःनिर्माणको लागत करीव ५ करोड रुपैया हो । २०७५ साल बैशाख १० गते शिलान्यास गरेर निर्माण कार्य थालिएको थियो । नवनिमिर्मित बिहार ३ तलाको छ । भवनमा एउटा सभा हल, पूजा कोठासहित ७ वटा कोठा छन् ।

महानगरपालिकाको दोस्रो अनुदान रकमले निर्माण सम्पन्न चरणमा पुगेको भवननजिकैको अर्को भवनको पुन ःनिर्माण गरिने छ । सो अवसरमा अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष भिक्षु धर्ममूर्ति, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष र विभिन्न महाशाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

बुद्ध बिहार २०३४ साल फागुन महिनाको चीर रथारोहण अष्टमीका दिन स्थापना गरिएको हो । डेढ रोपनी क्षेत्रफलमा भएको बिहारभित्र बनेपामा सञ्चालित बौद्ध बृद्धाश्रमको नगर सम्पर्क कार्यालय, अखिल नेपाल भिक्षु महासंघको नगर सम्पर्क कार्यालय, बौद्ध महिला संघ नेपालको कार्यालय, धर्मोदय सभाको सम्पर्क कार्यालय छन् ।

 

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत