पूर्वमन्त्री थापालाई कमलपोखरी सुधारका पूर्व विवरण उपलब्ध गराएर सहयोग गर्न महानगरका मेयर शाक्यको पत्र , पुरातत्व विभागलाई ध्यानाकर्षण

राय–परामर्श नगरी एक पक्षीय रुपमा पत्राचार गरेकोप्रति पुरातत्व विभागलाई ध्यानाकर्षण


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले क्षेत्र नं. ४ का संघीय संसद सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापालाई पत्र लेख्दै कमलपोखरीको विकास तथा सुधारका लागि उहाँले गरेका कार्यको विवरण उपलब्ध गराएर सहयोग गरिदिन आग्रह गर्नुभएको छ । माघ ७ गते लेखिएको पत्रमा भनिएको छ, ‘कमलपोखरी पुननिर्माणका सन्दर्भमा तपाईँबाट प्रेषित काठमाडौं महानगरपालिकाको प्रमुखलाई सम्वोधन गरिएको पत्र मिति २०७७/०९/२६ मा प्राप्त भयो ।’ पत्रमा भनिएको छ, ‘सम्वत २०७६ असारबाट निर्माण प्रारम्भ भएको कमलपोखरीको डिजाइन तपाईँसमेतसँग पटक–पटक भएको छलफल तथा अन्तरक्रियाबाट अन्तिम भई कार्यान्वयनमा आएको तथ्य प्रष्ट छ । पोखरीको विकास तथा सुधारमा तपाईँबाटसमेत विगतमा धेरै कार्यहरु गरिएको भन्ने छलफलका क्रममा तपाईँबाट नै अभिव्यक्त भएको थियो । तपाईको पहलबाट विगतमा कमलपोखरी परिसरमा भएका विकास तथा सुधारका कार्यहरुको विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ ।’

पत्रका सम्बन्धमा प्रतिक्रिया दिँदै मेयर शाक्यले भन्नुभयो — ‘प्रस्तावित ढाँचामा सुधारका लागि त्यस क्षेत्रका तत्कालीन संघीय सांसद गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमा काम थालिएको थियो । पछिल्लो समयमा पुननिर्माणका विषयमा केही विमति सुनिएका छन् । हामीले कमलपोखरी मासेर अन्य संरचना बनाउन खोजेका होइनौँ । कमलपोखरीमा पोखरी नै बनाउन खोजेका हौँ । काम गर्ने सिलसिलामा केही कमजोरी भएको रहेछ भने हामी छलफल गरेर अघि बढ्न तयार छौँ ।’ शाक्यले भन्नुभयो, ‘पूर्वमन्त्री थापालाई उहाँले गर्नुभएका सुधारका काम सम्बन्धि विवरण पत्रमार्फत माग गरेका छौं । ती विवरण प्राप्त भएपछि पुननिर्माणको थप कामका बारेमा जानकारी गराउँछौं ।’

यसै बिषयमा महानगरको प्रशासन विभागले माघ ६ गतेको निर्णय उल्लेख गर्दै पुरातत्व विभागलाई पत्राचार गरेको छ । पत्र महानगरमा प्राप्त हुनुअघि नै आमसञ्चारमा प्रकाशन भएपछि यसले सरकारी संयन्त्रविच समन्वय नभएको सन्देश प्रवाह भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ । प्रशासन विभागका प्रमुख महेश काफ्लेले हस्ताक्षर गर्नुभएको पत्रको अंशमा भनिएको छ — ‘पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरुको संरक्षण गर्ने महानगरको अभियानमा यसले अवरोध सिर्जना हुने देखिन्छ । यस प्रकार समन्वयको अभावले कमलपोखरी समयमा निर्माण हुन नसकी खर्चमा बढोत्तरी हुनेहुँदा कुनै पनि पत्राचार पूर्व समन्वय, छलफल र सहकार्य हुन मिति २०७७ / १० / ०६ को निर्णय अनुसार अनुरोध गर्दछु ।’

पत्रमा उल्लेख गरिएको व्यहोराका विषयमा विभागले कहिल्यै पनि महानगरसँग छलफल नगरेको र विभागका चासो आफ्नो आमसञ्चारबाट थाहा पाएको उल्लेख गर्नुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली भन्नुहुन्छ — ‘समाचार पढेपछि पत्र प्राप्त भयो । पुननिर्माणको यत्तिका काम भइसकेपछि पत्राचार हुनु उचित होइन ।’

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत