घर बनाउँदा नखस्ने छत र नभाँचिने पिलर भएको घर बनाउनू — प्रधानमन्त्री ओली

२०७२ सालको भूकम्पपछिको पुननिर्माण कछुवा गतिमा भएको स्वीकार

चन्द्रमणि भट्टराई
बैशाख १२

काठमाडौँ । प्रधानमन्त्री के. पि. शर्मा ओलीले,घर बनाउँदा नखस्ने छत र नभाँचिने पिलर बनाउन आग्रह गर्नुभएको छ । यस्तो घरमा बसे मात्र भूकम्पको समयमा सुरक्षित बन्नसकिन्छ — प्रधानमन्त्रीको भनाइ छ । २०७२ साल बैशाख १२ गते गएको भूकम्पमा परी दिवंगत भएका मृत आत्माको चीर शान्तिको कामना गर्न तथा मेरो धरहरा म आफैं बनाउँछु अभियानको निरन्तरताका लागि आइतबार धरहरा परिसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो — पहिले धेरैले टाउको छेक्नु, टेवुलमुनि लुक्नु भन्थे, त्यसले त सानो कम्पनमा मात्र काम गर्दो रहेछ । पूरै घर भत्कियो भने त्यो टेवलले के थाम्छ र?

भूकम्पपछिको पुननिर्माणको ५ बर्षे योजनाको लक्ष्यअनुसार अहिलेसम्म काम हुन सकेको छैन । तर हुँदै नभएको पनि होइन, प्रधानमन्त्री ओलीले भन्नुभयो — सरकारी प्रयास र व्यक्तिगत प्रयासमा भएकामा धेरै काम भएका छन् । पुननिर्माणका क्रममा व्यक्तिले गरेका कामले नागरिकको मन जितेको छ । प्रधानमन्त्रीले धुर्मुस सुन्तलीलगायत नागरिक अगुवाको नाम उल्लेख गर्नुभएको थियो ।

अहिलेको व्यवस्था पहिले भन्दा फरक छ, कुरा सुन्ने जनप्रतिनिधि छन् । विगतको तुलनामा अव कामले गति लिन्छ । पुननिर्माणको प्रसङ्कमा धारणा राख्दै प्रधानमन्त्रीले काठमाडौंका रानी पोखरी, काष्ठमण्डप र रानी पोखरीको पुननिर्माणलाई तीव्र बनाउन महानगरका प्रमुखलाई आग्रह गर्नुभयो । २०७२ सालको फागुन महिनामा आफूले शुरु गरेको मेरो धरहरा म आफैं बनाउनु अभियानमा नागरिक सहभागिता बढ्दो थियो तर काम हुन सकेन । प्रधानमन्त्रीले भन्नुभयो — परम्पराका नाममा कमजोर संरचना नबनाउँ, हेर्दा उस्तै बनाउँ ।

कार्यक्रमका वक्ता प्रधानमन्त्री र महानगरका मेयर हुनुहुन्थ्यो भने महानगरका कायममुकायम प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सरकार मन्त्री, सचिवलगायत विशिष्ट व्यक्तित्व र जनसाधारणको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत