करीब ६० किलोमिटर सडक क्षेत्रमा काठमाडौं महानगरले आधुनिक सडक बत्ती जडान गर्ने

यातायात व्यवस्थापन, शान्ति सुरक्षा, शान्ति सुरक्षालाई दिगो बनाउन रातभरि पर्याप्त उज्यालो आवश्यक छ — मेयर शाक्य

 

काठमाडौं । काठमाडौं महानगरले उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करीब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । काठमाडौं महानगरका ठूला योजनाका विषयमा कार्यपालिका सदस्यहरुलाई जानकारी दिने क्रममा मेयर विद्यासुन्दर शाक्यले यस्तो बताउनुभएको हो । आज राष्ट्रिय सभा गृहमा सम्पन्न ५५ औं कार्यपालिका बैठकमा मेयर शाक्यले, गएको मङ्सिर २५ गते काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमति पत्रमा हस्ताक्षर गरेसँगै महानगरपालिकाले यो प्रक्रिया अघि बढाएको बताउनुभयो । ‘महानगरलाई रातमा पनि उज्यालो र झिलीमिली बनाएर उज्यालो संघीय राजधानीको चिनारी दिन मेयर उज्यालो अभियान अन्तर्गत आधुनिक सडक बत्ती जडान कार्य अघि बढाइएको हो । यसअन्तर्गत करीब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई दु्रतगतिमा अघि बढाइएको छ ।’ मेयर शाक्यले बैठकमा थप्दै भन्नुभयो, ‘यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न, सामाजिक सुरक्षालगायतका सेवा सुविधाहरुलाई चुस्त दुरुस्त राख्न र सहरी सौन्दर्य अभिवृद्धि गर्न मुख्य–मुख्य सडकमा करीब १७ सय ५० वटा आधुनिक बत्ती जडान गर्ने काम बोलपत्र आव्हानको चरणमा पुगिसकेको छ ।’

महानगरपालिका क्षेत्रभित्रका मुख्य–मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहने छ । औपचारिक रुपमा गरिएको सहमतिअनुसार सडक बत्ती जडानमा काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानी रहने छ । मेयर शाक्यकाअनुसार उपलब्ध श्रोत साधन तथा प्रविधिको अधिकतम प्रयोग गरेर बत्ती जडान कार्यलाई छिटो सम्पन्न गरिनेछ ।

सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाकाअनुसार पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वरहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म र सिंहदरबार वरिपरि आधुनिक सडक बत्ती जडान गरिनेछ । पुतली सडकदेखि बालुवाटारसम्म र त्रिभुवन विमानस्थलदेखि हायात होटलसम्मको सडक खण्ड पनि पहिलो चरणमा समेटिएको छ । यस चरणमा करीब ६० किलोमिटर सडक खण्डमा करीब १७ सय ५० बटा बत्ती जडान गर्ने तयारी भएको छ ।

थापाले नयाँ बानेश्वर, माइतीघरलगगायतका स्थानमा अहिलेकै पोल प्रयोग गरेर आधुनिक बत्ती जडान गरिने योजना सुनाउनुभयो । ‘ती स्थानमा अहिले भइरहेका सोलार प्यानलको पुनः प्रयोगका लागि स्थान पहिचान गरिरहेका छौँ ।’ थापाले भन्नुभयो, ‘पहिलो चरणको बत्ती जडानका लागि करीव ११ करोड रुपैयाँ लागत हुनेछ ।’

चालु आ .व. मा बत्ती जडानमा प्राधिकरणको भागमा पर्ने ४० प्रतिशत लगानी महानगरले नै गरिदिनेछ । यो रकम दोस्रो चरणको बत्ती जडान योजनामा समायोजना हुनेछ ।

बत्ती जडानका लागि लागत अनुमान तयार गर्ने, प्रविधिको छनौट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरीवेक्षण गर्नेलगायतका काम प्राधिकरणले गर्नेछ ।

यस क्रममा नयाँ पोल थप्नका लागि स्थानको स्वीकृति दिने, नयाँ बत्ती जडानका क्रममा विग्रिएका फुटपाथलगायतका संरचनाको निर्माण गर्ने काम सडक विभागले गर्नेछ ।

सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाकातर्फबाट प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्युत प्राधिकरणकातर्फबाट कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गर्नुभएको थियो ।

 

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत