८ औं नगर सभामा प्रस्तुत हुने प्रस्ताव स्वीकृत गर्दै महानगरको ५५ औं कार्यपालिका बैठक सम्पन्न

नगर सभामा संशोधित बजेट र कार्यक्रम स्वीकृतिका लागि पेश हुने


काठमाडौं । आज काठमाडौं महानगरको ५५ औं कार्यपालिका बैठक सम्पन्न भएको छ । मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले ८ औं नगरसभामा प्रस्ताव हुने प्रस्ताव स्वीकृत गरेको छ । जसअनुसार पुष २७ गतेको सभामा चालु आर्थिक बर्षको संशोधन बजेट तथा कार्यक्रम स्वीकृतिका लागि पेश हुनेछ । यसै गरी सभामा ३ वटा विधेयक स्वीकृतिका लागि पेश हुनेछन् ।

यसरी प्रस्ताव हुने विधेयकहरु ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने सम्बन्धमा बनेको विधेयक — २०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक — २०७७’  र  ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमन विधेयक — २०७७’ हुन् ।

आजको बैठकले २ वटा कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । यसरी सहमति पाउने बिषयमा ‘सहकारी सम्बन्धि नियमावली’ र ‘पूर्व प्राथमिक विद्यालय व्यवस्थापन कार्यविधि — २०७७’ रहेका छन् ।

बैठकले सहरी योजना आयोगका नवनियुक्त सदस्य राजनराज जोशीको नियुक्ति अनुमोदन गरेको छ । यसै गरी धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्न आएको प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकले वडा २५ न्हूखास्थित गुठी संस्थानको जग्गा लिजमा लिएर पार्क बनाउने, वडा १७ इन्द्रायणी मन्दिर परिसरमा निर्माणाधीन सत्तलको म्याद थप गर्ने, वडा १५ भगवान पाउस्थित पुलेस्वाँ पुखु जीर्णोद्धार गर्ने, वडा ४ को भवन निर्माणको भेरिएसन स्वीकृत गर्ने, वडा १० को भवन निर्माणको भुक्तानी दिनेलगायत निर्णय गरेको छ ।

बैठकले करार सेवामा रहेका कर्मचारी, सामाजिक परिचालक र सिसडोल ल्याण्डफिल साइटमा दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीको असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको छ ।

बैठक सकिएपछि कार्यपालिकाका अध्यक्ष एवं महानगरका मेयर शाक्यले — महानगरले सञ्चालन गरिरहेका ठूला योजनाका विषयमा जानकारी गराउँदै वडामा भएका कामको प्रगति महानगरमा पठाउन आग्रह गर्नुभएको थियो । माग भएका वडा कार्यालय भवन निर्माणमध्ये धेरै काम सकिएको मेयर शाक्यको भनाइ छ । वडा २३ र ३० को खरिद प्रक्रियामा रहेको र बाँकी नवनिर्माण, पुननिर्माण वा तला थप गरिएका छन् । टेकुमा पार्किङ् भवन निर्माण, टेकुमै महानगरको भवन निर्माणको योजना अन्तिम चरणमा पुगेको छ । मेयर शाक्यको भनाइ थियो ।

 

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत