स्थानीय सञ्चित कोष व्यवस्थापन र अनलाइन राजस्व निर्धारण तथा संकलन प्रणाली सम्बन्धि अभिमुखीकरण

प्रयोगमा आएका सफ्टवेयरबाट प्रभावकारी परिणाम देखिन थालेका छन्, प्रयोगमा क्षमता बढाउँदै जाऔं — मेयर शाक्य


काठमाडौं । काठमाडौं महानगरले जनप्रतिनिधि र कर्मचारीलाई एउटै ठाउँमा राखेर स्थानीय सञ्चित कोष व्यवस्थापन र अनलाइन राजस्व निर्धारण तथा संकलन प्रणाली सम्बन्धि अभिमुखीकरण सञ्चालन गरिरहेको छ । मानव सशाधन महाशाखाले आयोजना गरेको अभिमुखीकरणमा वडाध्यक्ष, सडा सचिव र लेखापाललाई सहभागी गराइएको छ । जनप्रतिनिधि र कर्मचारीलाई छुट्टै समूहमा राख्दा बुझाइमा एकरुपता नआउने भएकोले विषयको साझा बुझाइका लागि सँगै राखेर अभिमुखीकरण सञ्चालन गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले, जनप्रतिनिधि र कर्मचारीले भूमिकालाई आफ्ना—आफ्ना ठाउँमा प्रभावकारी बनाउने, सेवा, योजना तथा कार्यक्रम सञ्चालनलाई आपसी साझा बुझाइको विकास गर्न यसप्रकारको अभिमुखीकरण गरिएको बताउनुभयो । जनप्रतिनिधिको अन्तिम लक्ष्य भनेको नागरिक सेवा सन्तुष्टि हो । प्रणालीमा आधारित सहज सेवाका लागि आपसी समन्वय बढाउनु पर्छ । मेयर शाक्यले भन्नुभयो — ‘जनप्रतिनिधि र नागरिकविचको सम्बन्धलाई न्यानो बनाउन कर्मचारीको अहम् भूमिका हुन्छ ।’ विद्युतीय सेवा प्रणालीको सन्दर्भमा कुरा गर्दै उहाँले भन्नुभयो — ‘सञ्चित कोष व्यवस्थापन र अनलाइन राजस्व प्रणालीबाट महानगरको आर्थिक स्रोत व्यवस्थापन सहज बन्दै गएको छ । यसको कार्यान्वयन दिगो बनाउँदै लैजान जनप्रतिनिधि र कर्मचारीको सक्रिय भूमिका आवश्यक छ ।’

कार्यक्रममा स्थानीय सञ्चित कोष व्यवस्थापनका विषयमा वित्त बिभागका प्रमुख बुद्धरत्न मानन्धर र महाशाखा प्रमुख प्रवीण प्याकुरेलले प्रस्तुतिकरण गर्नुभएको थियो भने अनलाइन राजस्व प्रणालीका विषयमा राजस्व बिभागका प्रमुख डा. शिवराज अधिकारीले प्रस्तुति गर्नुभएको थियो ।

विभागीय प्रमुख मानन्धरकाअनुसार सञ्चित कोष व्यवस्थापन गर्न कार्यान्वयनमा महालेखा परीक्षकको कार्यालयले सञ्चालनमा ल्याएको सब—नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सुत्र) मार्फत खर्च लेखाङ्कनको काम भइरहेको छ । सूत्र स्थानीय तहको सञ्चित कोष व्यवस्थापनका लागि महालेखा परीक्षकको कार्यालयले सञ्चालनमा ल्याएको वेभमा आधारित सफ्टवेयर हो । चालु आर्थिक बर्ष (२०७७/०७८) को शुरुवातसँगै यो एप्लिकेसन महानगरले कार्यान्वयनमा ल्याएको छ ।

सुत्रले बल्कमा बजेट स्वीकार गर्दैन । प्रणालीले कार्यक्रम कार्यान्वयन कार्ययोजनासहितको विवरण माग्छ । प्रणालीमा कार्यक्रम र बजेट राखिसकेपछि यो लक हुन्छ । त्यसपछि परिवर्तन गर्न मिल्दैन । यसअघि महानगरले चलाउँदै आएको एक्युरल अकाउन्टिङ् सिस्टम (प्रोदभावी लेखा प्रणाली) र सूत्रमा आधारित लेखा प्रणालीलाई छुट््याउने सूचक भनेको खर्च र आय लेखाङ्कन गर्ने समय हो । एक्युरल अकाउन्टिङ् सिस्टममा सेवा लिइसकेपछि भुक्तानी नभए पनि (दायित्व छ भुक्तानी गर्नुपर्छ भनेर) खर्च भएको मानिन्छ । त्यस्तै आफूले प्राप्त गर्नुपर्ने तर समयमा प्राप्त नभएको आयलाई बुक गर्दै यति आय प्राप्त हुन्छ भनिन्छ । तर, सुत्रमा आधारित प्रणालीले जहिले भुक्तानी भयो त्यही समयलाई खर्च भएको र जहिले खातामा रकम जम्मा भयो त्यसै समयलाई आय भएको मानिन्छ । महाशाखा प्रमुख प्याकुरेलका अनुसार यो प्रणालीमा बजेट खर्च गर्दा पटकपटक निर्णय गर्न पाइँदैन । नगरसभाबाट एकै पटक निर्णय गरेर अर्थात् स्वीकृत गरेका कार्यक्रम प्रणालीमा राखेपछि जुन शीर्षकमा जे काम गर्ने भनिएको छ, त्यसैअनुरुपमा खर्च गर्दै जानुपर्छ । यो प्रणाली विगतभन्दा केही फरक भएकोले बुझाइमा एकरुपता ल्याउन तथा प्रणाली सञ्चालन गर्दा महसुस भएका समस्या समाधान गर्न अभिमुखीकरण दिइएको हो ।

अनलाइन राजस्व प्रणाली गएको असोज १ गतेदेखि वडा २६ बाट सञ्चालन गर्न थालिएको हो । त्यसपछिका ३ चरणमा गरेर सबै वडाबाट यो प्रणाली कार्यान्वयनमा आइसकेको छ । विभागका प्रमुख डा. अधिकारीका अनुसार पुष २० गतेसम्ममा यो प्रणालीबाट १ अर्व ४ करोड ३७ लाख ४४ हजार ४ हजार ४११ रुपैयाँ राजस्व संकलन भइसकेको छ ।

महानगरलाई कर तिर्ने करीब २ लाख करदाता हुनुहुन्छ । उहाँहरुमध्ये अहिलेसम्म ३५ हजार करदाताको विवरण कम्प्युटरमा प्रवेश गराइसकिएको छ । बाँकी करदाताको विवरण चैत्रमसान्तभित्र प्रवेश गराइसक्ने लक्ष्यसहित काम भइरहेको छ ।

अभिमुखीकरणमा वडाध्यक्षहरुले जनशक्ति र उपकरण पर्याप्त नभएको, सफ्टवेयरका बारेमा पूर्ण जानकारी नहुँदा विवरण राख्न समय लाग्ने गरेको, सम्पत्ति करलगायत कर लेखाङ्कन गर्ने क्रममा द्विविधा भएकोजस्ता आन्तरिक समस्या समाधान गर्न सुझाव दिनुभएको थियो । त्यसै गरी करदाता शिक्षामा कार्यक्रम बढाउनु पर्ने उहाँहरुको जोड थियो ।

हातले हिसाब गर्दा र कम्प्युटरमा आउने हिसाबको अङ्क फरक हुनु, इन्टरनेट ढिला हुनु जस्ता समस्या अहिलेका साझा समस्या हुन् । प्रणाली थालनी भइसकेपछि सबै कर्मचारीले कम्प्युटर जान्नै पर्ने अवस्था आएको छ ।

राजस्व विभागले राजस्व निर्धारण तथा सञ्चालन प्रणालीमा तथ्याङ्क प्रविष्टि गराउने, जनशक्ति परिचालन र तालिम तथा उपकरणको क्रमशः विस्तार गरिरहेको बताएको छ । सिकाइको क्रममा रहेकाले पूर्ण भन्न मिल्दैन तर राजस्व संकलनलाई अनलाइन प्रणाली सञ्चालन गर्न सकिनेमा आत्मविश्वाश बढेको छ । विभागका प्रमुख डा. अधिकारीले आशा गर्नुभयो ।

महानगरका विद्युतीय प्रणालीका बारेमा सेवाग्राहीको सकारात्मक प्रतिक्रिया छ । सेवा लिएका सेवाग्राही भन्नुहुन्छ — महानगरले राम्रो कामको शुरुवात् गरेछ । यसलाई राम्रो र दिगो बनाउँदै अरु सेवालाई पनि यस्तै बनाउनुपर्छ । हामीले भोट दिएको काम लागेछ । अब घरबाटै कर तिर्ने प्रणाली ल्याओस् । कर असुलीमा पारदर्शिता होस् । महानगरले बल्ल ठीक काम गरेछ । यी आवाजहरु प्रत्यक्ष संवाद, अनलाइन र सामाजिक सञ्जालबाट प्राप्त भएका हुन् ।

 

 

Tags

#e-govKMC
चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत