नासफः सत्तल जीर्णोद्धार सुरु : मेयर शाक्यबाट बिहीबार शिलान्यास

सम्पदा बचाउने पैसा महानगर आफैंसँग छ, निर्विवाद माग लिएर आउनोस् — मेयर शाक्य


काठमाडौं । नासफः (सत्तल) को आजबाट जीर्णोद्धार सुरु गरिएको छ । वडा २१ को पद्मसुगन्ध मार्ग, मजिपामा महानगरका मेयर विद्यासुन्दर शाक्यले सत्तलको शिलान्यास गर्नुभएपछि पुननिर्माणको काम सुरु भएको हो । नासफः नित्यनाथ मन्दिर संरक्षण समितिले सत्तलको संरक्षण गरिरहेको छ ।

शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिँदै मेयर शाक्यले भन्नुभयो — ‘सम्पदा संरक्षण सम्बन्धी काम गर्न महानगरले पैसाको कमी हुन दिँदैन । उपभोक्ता, गुथि र स्थानीय सरोकारवालाको अगुवाइमा सम्पदाको मर्मत, सम्भार र पुननिर्माण गर्ने र त्यसको संरक्षण गर्न उहाँहरुलाई नै जिम्मा दिने नीतिअनुरुप हामीले काम गरिरहेका छौं । यसबाट सम्पदा क्षेत्र यथावत् अवस्था लामो समयसम्म जोगिने हाम्रो विश्वाश हो ।’ मेयर शाक्यले थप कुरा राख्दै भन्नुभयो — ‘यो निशर्त हो । निशर्त काम गर्न एउटा शर्त राख्नु पर्ने बाध्यता छ । त्यो भनेको योजना विवाद रहित हुनुपर्छ भन्ने हो ।’

सम्पदा बिभागका इञ्जिनियर तृप्ति रोक्काकाअनुसार यो सत्तल २ तले हुनेछ । यसको निर्माण काठ, चुना, सुर्की, परम्परागत इटा र झिँगटीको प्रयोग हुनेछ ।

महानगरले आफ्नै खर्चमा सत्तल बनाइदिएकोमा संरक्षण समितिका सल्लाहकार वुद्ध रञ्जितकार, अध्यक्ष राजेश रञ्जितकार र सचिव कुमार रञ्जितकारले महानगरको योजनाप्रति अनुग्रहित भएको प्रतिक्रिया दिनुभयो । अहिले महानगरका धेरै ठाउँमा परम्परागत पाटी, फलैँचा, सत्तल, मठमन्दिर, चैत्य, गुम्बा बनिरहेको देखेका छौं । यसरी महानगरले परम्परागत सम्पत्ति जोगाएको देख्दा खुशी लाग्छ । उहाँहरुको साझा भनाइ थियो ।

यो सत्तल करीब १६ लाख रुपैयाँ भ्याटबाहेक लागतमा पुननिर्माण हुनेछ ।

 

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत