वडा ३१ को कार्यालय भवन शिलान्यास

मेरो कार्यकालमा सबै वडा कार्यालय बनाउँछु — मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, डेपुटी मेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नारायण भण्डारीले संयुक्त रुपमा वडा ३१ कार्यालयको शिलान्यास गर्नुभएको छ । आज तीनकुने पुल मुखैमा रहेको १ रोपनी ८ आना क्षेत्रफल भएको जग्गामा भवन निर्माणका लागि शिलान्यास गरिएको हो । २०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय भवन र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले, वडा भवन एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको बताउँदै भवन निर्माण भइसकेपछि सेवा चुस्त र छिटो हुने अपेक्षा गर्नुभयो । ‘हामीले हाम्रो जिम्मेवारी पूरा गरेका छौँ । जसका पालामा भवन निर्माण भयो त्यो भवन उसैको निजी भएको जस्तो गरेर कहिलेकाहीँ धारणा व्यक्त हुने गरेका छन् । यो भ्रम हो । जुनसुकै वडा कार्यालय निर्माण भए पनि जनप्रतिनिधिले हाम्रा पालामा काम सम्पन्न गर्न पायौँ भनेर आत्मसन्तुष्टि मात्रै लिने हो । यो सम्पत्ति स्थानीयको हो । स्थानीय सेवाका लागि हो ।’

कुरा नबुझेर कहिलेकाहीँ राम्रो कामको पनि विरोध हुन्छ । अवरोध गर्न पाइयो वा व्यवधान खडा गर्न सकियो भने आफूलाई अघि बढ्न सजिलो हुन्छ भन्ने प्रवृत्ति पाइन्छ । योे गलत हो । मेयर शाक्यले थप्दै भन्नुभयो — ‘निर्वाचनका बेला उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुन्छन् । त्यसको हार वा जीतपछि सबै मिलेर काम गर्नुपर्छ । स्थानीय तह विचारको लडाईँ गर्ने थलो होइन । विचारको लडाई गर्ने हो थलो संसद हो । स्थानीय तहमा पक्ष र प्रतिपक्ष हुँदैन । हामीले मिलेर सर्वसम्मतिका साथ निर्णय गरेको छौं । त्यहीअनुसार योजना कार्यान्वयन गर्दैछौं । तपाईहरुले पनि टोलमा पनि मतभेद नराख्नुहोला ।’

शिलान्यास कार्यक्रममा बोल्दै डेपुटी मेयर हरिप्रभा खड्गी श्रेष्ठले, सेवा व्यवस्थापनमा जिम्मेवार बोध गरेर वडा भवन निर्माण भइरहेको बताउनुभयो । ‘लामोसमय जनप्रतिनिधिबिहिन साविक स्थानीय निकायले नयाँ भवन निर्माण गर्न सक्ने अवस्था थिएन । पुराना भवनमा सेवा व्यवस्थापन गर्न सजिलो पनि थिएन । त्यसैकारण हामीले निर्वाचित भएपछि कार्यालय भवन बनाउने निर्णय गरेका थियौं ।’ डेपुटी मेयर खड्गी श्रेष्ठको भनाइ थियो ।

समारोहमा प्रदेश सभा सदस्य गणेश दुलाल, वडाध्यक्ष नारायणप्रसाद भण्डारी, काँग्रेस महासमिति सदस्य सुरजचन्द्र लामिछानेले, पायक पर्ने ठाउँमा वडा कार्यालय निर्माण हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो । निर्माण थालनी हुनु जति महत्वपूर्ण छ । समयमा निर्माण सम्पन्न हुन उत्तिकै जरुरी छ । उहाँहरुको एउटै धारणा थियो ।

एक रोपनी ८ आना क्षेत्रफल जमिनमा निर्माण हुने वडा भवनको इष्टिमेट रकम ६ करोड ७५ लाख ६२ हजार १ सय ६२ रुपैयाँ थियो । खुल्ला प्रतिस्पर्धामा निर्माण व्यवसायी प्राकृतिक — पवन जेभीले भ्याटसहित ४ करोड ६७ लाख ४८ हजार ४५ रुपैयाँमा निर्माण कवोल गरेको छ । भवन ५ तलाको हुनेछ । इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार २ हजार ४६५ दशमलव ७३ बर्गफुट जमिनमा भवन निर्माण हुनेछ । भवनको जम्मा क्षेत्रफल १० हजार २१२ दशमलव १० वर्गफुट हुनेछ । भवनमा ६ जना क्षमताको लिफ्ट जडान हुनेछ । जमिन तलामा पार्किङ्का लागि पूर्वाधार तयार पारिनेछ । भवन पहुँचयुक्त हुनेछ । भवनको बाहिरपट्टि बगैचा हुनेछ ।

महानगरले वडा – ९ र १८ का नवनिर्मित भवनको औपचारिक रुपमा उद्घाटन गरिसकेको छ । वडा – ३ को भबन ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । वडा – ४ को भवन पुष मसान्तभित्र सम्पन्न हुनेछ । वडा – १४ को गृह प्रवेश भैसकेको छ । वडा – २६ ले नयाँ भबनबाट सेवा सुरु गरिसकेको छ । इन्जिनियर श्रेष्ठकाअनुसार वडा – ६ को १ तला र वडा २२ को २ तला ढलान कार्य सम्पन्न भएको छ । वडा – १२, २१ र २९ को बोलपत्र आव्हानको प्रक्रिया चलिरहेको छ । वडा – १६ टेन्डर प्रक्रिया पुग्न लागेको छ । अन्य वडा भवनको स्तरोन्नति गर्नेलगायतका काम भइरहेका छन् ।

वडा ३१, एक वडा — एक प्रदेश सभाका निर्वाचन क्षेत्र भएको वडा हो ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत