धर्मकीर्ति विहार विस्तारित भवनको शिलान्यास

सम्पदा संरक्षण महानगरको प्राथमिक योजना — मेयर शाक्य

कार्तिक २०

काठमाडौं । सम्पदा जोगाउने कामलाई प्राथमिक योजनामा राखेको जानकारी दिँदै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले यसका लागि स्रोतको अभाव नभएको बताउनुभएको छ । आज वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको शिलान्यास गर्दै उहाँले क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तल जस्ता सांस्कृतिक सम्पदा जोगाएर गुठी परम्परालाई जीवन्त बनाइ राख्न लगानी बढाइएको बताउनुभयो ।

सहरभित्रका सम्पदालाई काठमाडौंबाहिरका सम्पदासँग जोडेर पर्यटन व्यवस्थापनका काम गर्ने र यसबाट स्थानीयको आयमा वृद्धि गर्ने योजना सुनाउँदै उहाँले भन्नुभयो — ‘बुद्ध दर्शनको साइनोबाट हामीले भर्खर लुम्बिनी प्रदेशको रामग्राम नगरसँग भगिनी सम्बन्ध गाँसेका छौं । यसै गरी भगवान वुद्धको मावली घर भएको पण्डितपुरमा कोलिय शान्ति पार्क निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेका छौं । सम्पदा क्षेत्रको व्यवस्थापनमा गरिएको यो लगानीले पर्यटन उद्योगमार्फत राष्ट्रिय समृद्धिमा टेवा पुग्ने हाम्रो अपेक्षा हो ।’

‘स्थानीयलाई राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा पहिचान गराउन हामीले लुम्बिनीमा नेपाली बिहार निर्माण गर्न ४ करोड २० लाख सहयोग गरेका छौं ।’ मेयर शाक्यले भन्नुभयो — ‘सार्वजनिक जग्गा संरक्षण र हरियाली विकास गर्न काठमाडौंका सबै नगरसहित मध्यपुर थिमीमा शंखधर पार्क बनाउन १ करोड लगानी गरेका छौं ।’

विहारको विस्तारित भवनको लागत ४ करोड २८ लाख रुपैयाँ हो । त्यसमध्ये पहिलो चरणमा करीब १ करोड लागतका काम हुनेछ । विस्तारित भवन निर्माण उपभोक्ता समितिका संयोृजक अभयरत्न कंसाकारले भन्नुभयो — ‘पहिलो चरणमा लाग्ने कुल ९९ लाख ९९ हजार १६५ रुपैयाँको १५ प्रतिशत अर्थात् १४ लाख ९९ हजार ८७४ रुपैयाँ उपभोक्ता समितिले व्यहोर्नेछ । बाँकी ८५ प्रतिशत अर्थात् ८४ लाख ९९ हजार २९० रुपैयाँ महानगरको सहयोग हुनेछ ।’

शिलान्यास समारोहमा वडा २५ का अध्यक्ष नीलकाजी शाक्य, १७ का अध्यक्ष नविन मानन्धरसहित कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु र स्थानीयको उपस्थिति थियो ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत