राष्ट्रिय विभूति साख्वाः र मानव अधिकार अभियानका अगुवा तुलाधरको शालिक अनावरण

दुईवटा शालिकको लागत २० लाख रुपैयाँ

कार्तिक ६

काठमाडौं । आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’ मा शंखधर साख्वाः र पद्मरत्न तुलाधरको शालिक अनावरण गर्नभयो । कार्यक्रममा सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ, राज्यमन्त्री रामवीर मानन्धर, प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँल, प्रदेश सभाका सदस्यहरु, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतका पदाधिकारीहरुले सालिकमा माल्यार्पण गर्नुभयो ।

ती शालिक करीब २० लाख रुपैयाँ लगानीमा महेश तुलाधरले निर्माण गर्नु भएको हो ।

सालिकको अनावरणपछिको सम्वोधनमा मन्त्री श्रेष्ठले भन्नुभयो — ‘महानगरपालिकाको काम प्रशंशसनीय छ । सालिक स्थापनाले साख्वाः र तुलाधरको योगदान चीरकालसम्म सम्झनामा रहिरहनेछ ।’ मन्त्री श्रेष्ठले साख्वाले सामाजिक रुपान्तरणका लागि गरेको प्रयासको र तुलाधरले राजनीतिक परिवर्तन एवं मानव अधिकार रक्षाका लागि पु¥याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो । नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन आन्दोलन गरेको नेपालभाषा मंका खलः नामक संस्थाका अध्यक्षसमेत रहेका तुलाधरलाई तत्कालीन राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिई राष्ट्रिय पञ्चायत भित्रै पञ्चायती व्यवस्था खारेजीको माग गरेको जस जान्छ । मन्त्री श्रेष्ठको भनाइ थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै महानगरका प्रमुख शाक्यले, स्वतन्त्र नागरिक हुने अधिकार प्राप्तिका लागि योगदान गरेका सहिद र राष्ट्रिय विभूतिहरुलाई चीरकालसम्म सबैले चिनुन र सम्झिरहुन भनेर महानगरपालिकाले शालिक निर्माण गरेको जानकारी दिनुभयो । ‘उहाँहरुले बिर्सन नसक्ने योगदान गर्नुभएको छ । अझ उपत्यकावासीका लागि शंखधर र पद्मरत्न हृदयपटलमा हुनुहुन्छ ।’ उहाँले भन्नुभयो, ‘उहाँहरुको सम्मानमा शालिक निर्माण गर्न पाउँदा खुशी छौँ ।’

वागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलले नेपाल संवत्को संस्थागत विकास र तुलाधरसँग आफ्ना राजनीतिक घटना उल्लेख गर्नुभयो । त्यस्तै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, राष्ट्रिय व्यक्तिको सम्मानको संस्कार बढाउन महानगरले काम गरिरहेको बताउनुभयो ।

नेपाल संवतका प्रवर्तक साख्वालाई ०५६ साल मंसिर ३ गते राष्ट्रिय विभूति घोषणा गरिएको हो । साख्वाले घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनताको ऋण तिरिदिएका थिए भन्ने बिश्वाश गरिन्छ ।

वामपन्थी राजनीतिज्ञ तुलाधरले वि.सं. २०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकै ठाउँमा ल्याउन प्रमुख सूत्रधारको भूमिका निर्वाह गरेका थिए । महानगरले रत्नपार्कलाई ‘शंखधर उद्यान’ नामाकरण गर्ने निर्णय गरिसकेको छ ।

आजभन्दा ११४१ वर्ष अघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नै सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका शंखधर साख्वाःको योगदान उपत्यकाबासीका लागि ताजा जस्तै छ । साख्वाःको योगदानको सम्मान गर्दै नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमी अर्थात् वि.सं. २०५६ मंसिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषित ग¥यो । यो दिनलाई ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिन्छ ।

नेपालको मानव अधिकार अभियान, भाषा र जातीय समानताको आन्दोलनमा ठूलो योगदान गरेका पद्मरत्न तुलाधर पनि धेरैले सम्झिरहने नाम हो । उनलाई प्रजातान्त्रिक आन्दोलका नेताका रुपमा पनि चिनिन्छ । देशका लागि उल्लेखनीय योगदान दिएका साख्वाः र तुलाधर जस्ता वैभव व्यक्तित्वको अमर योगदानको सम्मानमा काठमाडौँ महानगरपालिकाले रानीपोखरी नजिकै रहेको ‘शंखधर उद्यान’ मा शालिक स्थापना गरेको हो ।

महानगरपालिकाले जहाँनिया राणा शासनविरुद्धको लडाइका क्रममा सहादत प्राप्त गरेका चार सहिद (शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द) को सहादत प्राप्त गरेकै ठाउँमा पूर्णकद भएका शालिक स्थापना गरिसकेको छ । त्यस्तै धर्मभक्तको पुख्र्यौली टोल झोँछेमा पनि धर्मभक्त पार्क र शालिक निर्माण गरिएको छ ।

कार्यक्रममा पद्मरत्नकी छोरी सुम्निमा तुलाधरले पिताजीको सम्मानमा शालिक स्थापना हुँदा परिवार भावुक भएको बताउनुभयो ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत