कमलपोखरीको पुननिर्माणमा आर्थिक अभाव छैन, कुनै वहानामा काम ढिला गर्न पाइदैन : मेयर शाक्य

अहिलेसम्ममा पुननिर्माणको ४५ प्रतिशत काम सकिएको छ । लागत ६ करोड ३६ लाख रुपैयाँ


काठमाडौं । ‘कमलपोखरी पुर्ननिर्माण सन्तोषजनक भएन । आर्थिक समस्या छैन । कामलाई यो वा त्यो वहानामा ढिला गर्न वा पछि सार्न पाइँदैन ।’ शुक्रबार पुननिर्माणको प्रगति बुझ्न स्थलगत अवलोकनमा पुग्नुभएका काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यले भन्नुभयो — ‘काममा ढिलासुस्ती भयो भन्ने गुनासो आएपछि म आफैँ स्थलगत अनुगमनका लागि आएको हुँ । महानगरपालिकाले आर्थिक अभाव हुन दिँदैन । तपाईँहरुले यो वा त्यो बहानामा काम रोक्न वा ढिला गर्न पाउनुहुन्न ।’

‘कमल पोखरीको अस्तित्व जोगाउन पुर्ननिर्माणको काम गरेका हौं । महानगरको केन्द्रभागमा रहेकोले पोखरी पुर्ननिर्माणपछि काठमाडौँवासीका लागि यो ठाउँ आकर्षक स्थल बन्ने छ ।’ मेयर शाक्यले भन्नुभयो — ‘छठको बेलामा व्रतालुहरुलाई बस्न र छठ मनाउन सहज हुने गरी पोखरी निर्माण भैरहेको छ । यसले स्थानीय रहनसहन, कला, संस्कृतिलाई पर्यटन व्यवस्थापनसँग जोड्ने हाम्रो अपेक्षा छ ।’

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा सदस्यहरुसहित बिभागीय अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतकाअनुसार कमलपोखरी बास्तुशास्त्रमा आधारित छ । पोखरी छिर्ने गेट मौलिक नेपाली स्वरुपको छ । यसको निर्माणमा नेपाली इट्टा र दर्सिन ढुंगाको प्रयोग भइरहेको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानासहितका पाटी हुनेछन् । विभिन्न ठाउँमा चैत्य राखिनेछन् भने ५ ओटा मकरधारा निर्माण हुनेछन् ।
पोखरी वरिपरि बाल उद्यान, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, खुल्ला ठाउँ रहनेछ ।

यो पोखरी वडा १ को पहिचान हो । वडाध्यक्ष भरतलाल श्रेष्ठ भन्नुहुन्छ — पोखरीको अतिक्रमण हटाउने र सकेसम्म धेरै खुल्ला ठाउँ बनाउने योजनालाई प्राथमिकतामा राखिएको छ ।

भौतिक पूर्वाधार बिकास बिभागका प्रमुख राम थापाकाअनुसार अहिले अनधिकृत संरचना हटाउनेलगायतका काम भइरहेका छन् । सम्झौताबमोजिम मंसिर मसान्तसम्ममा काम सम्पन्न हुनुपर्ने थियो । तर महमारीमा जनशक्ति परिचालन लगायत कारणले लक्षित समयमा लक्षित काम सकिएको छैन । यसलाई अब छिटो गर्ने गरी आवश्यकता र औचितत्यका आधारमा केही समय म्याद गर्नु पर्ने देखिएको छ । यदि विकासकर्ताले वहाना बनाएर काम रोक्ने वा समयमा काम सम्पन्न गरेन भने कारवाहीको प्रक्रिया अघि बढाउँछौं ।

पोखरी पुननिर्माणमा प्राबिधिक पक्षमा कुरा गर्दै इन्जिनियर प्रेम श्रेष्ठले भन्नुभयो — पाको उमेरका मानिस सजिलै आउन जान सक्ने र उहाँहरुलाई प्रशस्त बस्ने ठाउँको प्रबन्ध हुनेछ । पोखरीमा रात्रीकालीन वत्तीको व्यवस्था गरिनेछ ।

निर्माण व्यवसायी अर्जुन कडेँल र इन्द्र सिटौलाका अनुसार अहिलेसम्ममा ४५ प्रतिशत काम सकिएको छ । फागुन मसान्तसम्ममा काम सम्पन्न हुने गरी निर्माण कार्य गरिरुहेका छौं । उहाँहरुको भनाइ थियो ।

६ करोड ३६ लाख रुपैयाँ लागतमा पोखरी पुननिर्माण भइरहेको छ । यसको क्षेत्रफल करीब २३ रोपनी १४ आना हो ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत