‘युद्ध स्मारक पार्क’ निर्माण प्रगतिको मेयर शाक्यबाट प्रशंशा

काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा पार्कको निर्माण हुँदै


कीर्तिपुर । गोर्खाली र कीर्तिपुरे फौजबीच (१८१४ देखि १८२२ सम्म तीनपटक) युद्ध भएको ऐतिहासिक स्थान कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण भइरहेको छ । करीब २ सय ६२ वर्षअघि भएका युद्धको झल्को दिने गरी कीर्तिपुर नगरपालिकाले यो पार्कको निर्माण गरिरहेको हो । करीब ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माण गर्न काठमाडौं महानगरले नगर—नगर साझेदारी कार्यक्रम अन्तर्गत आर्थिक अनुदान उपलब्ध गराएको छ ।

आफूले उपलब्ध गराएको अनुदानबाट कामको प्रगति कति भयो स्थलगत अवलोकनका लागि काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य मंगलबार पार्क निर्माण स्थल पुग्नुभयो । उहाँलाई कीर्तिपुर नगरका प्रमुख रमेश महर्जनले जानकारी गराउनु भयो । यसरी कामका बारेमा जानकारी लिइसकेपछि प्रमुख शाक्यले भन्नुभयो — ‘युद्ध स्मारक पार्क’ मार्फत कीर्तिपुरको इतिहास जीवन्त बनाउन हामीले सहयोग गरेका हौं ।’ मेयर शाक्यको प्रतिक्रियाबाट उत्साहित हुँदै कीर्तिपुरका मेयर महर्जनले, कालु पाण्डेको शिर छेदन गरेको खस्रे ढुंगा नजिकै उभिएर चोरी औँलाले काठमाडौतर्फ देखाउँदै निर्माणाधीन पार्क त्यसैको आधार भएको बताउनुभयो ।

निर्माणको प्रगति र निर्माण सम्पन्न सुनिश्चितताका आधारमा हामी थप सहयोग उपलब्ध गराउन सकँछौं । अवलोकनका क्रममा महानगरका मेयर शाक्यले, काठमाडौँ महानगरपालिकाले छिमेकी नगरलाई समृद्ध बनाउँदै आफू पनि समृद्ध हुने योजना बनाएको बताउनुभयो । ‘हरियाली विकास, खुला क्षेत्रको संरक्षण, संस्कृति संम्पदाको संरक्षण र ऐतिहासिक–धार्मिक तथा पर्यटकीय स्थानको विकासमा महानगरले अनुदान सहयोग उपलब्ध गराउँछ ।’ उहाँले काठमाडौँका १० ओटा र मध्यपुर ठिमी नगरपालिकालाई यस्ता परियोजनाका लागि सहयोग गरेको पनि स्मरण गराउनुभयो ।

कीर्तिपुर १, २ र १० गरी ३ वटा वडालाई समेटेर पहिलो चरणमा १४ रोपनी क्षेत्रमा पार्क निर्माणको काम भइरहेको छ । यो क्रम विस्तार गर्दै लगेर ५४ रोपनीमा पार्क निर्माण गर्ने नगरपालिकाको योजना छ ।

नेपाल एकीकरणको अभियानका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि पटक–पटक आक्रमण गरेको इतिहास छ । ‘ढाल र तरबारसहित पृथ्वीनारायण शाह, कालु पाण्डेसहितका गोर्खाली सेनाले कीर्तिपुरमाथि तीन पटक आक्रमण गरे । घमासान युद्ध भयो । त्यही युद्ध कीर्तिपुरवासीका लागि गर्विलो इतिहास बन्यो । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले भन्नुभयो, ‘यो युद्ध पार्कमा इतिहास मात्र होइन, नेवारी कला र संस्कृति झल्काउने मूर्ति र संग्रहालय निर्माण गर्ने योजना पनि हो ।’ मेयर महर्जनले युद्धको झल्को दिने गरी ‘युद्ध स्मारक पार्कमा मूर्त–अमूर्त कलाकृति राख्ने योजना सुनाउनुभयो । यसका लागि ३० बढी त्यस्ता मूर्ति र कलाकृति कुँद्ने काम भइरहेको छ ।

इतिहासअनुसार पृथ्वीनारायण शाह आफैँ आक्रमणको कमाण्डर भएर गोर्खा राज्यकातर्फबाट करीब १२ सय सैनिकले कीर्तिपुरमाथि आक्रमण गरेका थिए । तर, दुई पटकको प्रयासलाई कीर्तिपुरका करीब तीन सय सेनाले प्रतिकार गरेका थिए । ‘त्यही युद्धमा गोर्खाली सेनाका कालु पाण्डे मारिएका थिए । पृथ्वीनारायण शाह पनि कीर्तिपुरे फौजको कब्जामा परेका थिए ।’ युद्धमा गोर्खाली फौजले कब्जा गरेर बाघभैरव मन्दिरमा सबैले देख्ने गरी राखिएका ढाल, तरबार देखाउँदै मेयर महर्जनले भन्नुभयो, ‘त्यसबेलासम्म कीर्तिपुर कृषिमा आधारित थियो । घरेलु उत्पादनमा प्रख्याती कमाएको थियो । सहरीकरणसँगै अब कीर्तिपुरको त्यो पहिचान हरायो ।’

महर्जनले इतिहासको जगेर्ना गर्दै पर्यटन व्यवसायमा नगरलाई जोड्ने योजनासहित नगरपालिका अघि बढेको जानकारी दिनुभयो ।

त्यस क्रममा सहभागी कीर्तिपुर नगरकी उपमेयर सरस्वती रिजाल खड्काले, काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगकै कारण युद्ध पार्क निर्माणको योजना अघि बढेको बताउनुभयो । काठमाडौं महानगरपालिकाका मेयरको अभिभावकत्व नभएको भए यस प्रकारको योजना निर्माण हुन सम्भावना कम रहेको विगत स्मरण गर्नुभयो ।

‘पार्क निर्माणका लागि करीब सात करोड लाग्ने अनुमान गरेका छौँ । काठमाडौं महानगरपालिकाले दिएको १ करोड खर्च भइसकेको छ । प्रदेश सरकार र महानगरपालिकासँग पनि हामीले अझै सहयोगको अपेक्षा गरेका छौँ ।’ उपमेयरको भनाइ थियो ।

वडा २ का अध्यक्ष रमेशमान डंगोलकाअनुसार गोर्खाली र कीर्तिपुरे फौजबीच तीनपटक युद्ध भएको र त्यही बाघभैरव आसपासको ढिस्को चढ्न नसकेर पृथ्वीनारायण शाहले दुईपटकसम्म कीर्तिपुरसँग हार्नु परेको इतिहासको झल्को दिने गरी पार्क निर्माणको काम अघि बढाएको बताउनुभयो । पार्क बन्ने ढिस्कोमै ठूलो पर्खाल, गढ र किल्लासमेत निर्माण भैरहेको उहाँको भनाइ थियो ।

वि.स १८२१ को भदौमा सुरप्रताप शाह, दलजीत शाह र श्री हर्ष पन्तको नेतृत्वमा कीर्तिपुर माथि दोस्रो आक्रमण भयो । त्यस आक्रमणमा कीर्तिपुरे फौजले गोर्खाली सैनिकका कमान्डर (पृथ्वीनारायण शाहका भाइ) सुरप्रताप शाहको आँखा फुटाएको इतिहास छ । सुरप्रतापको आँखा फुट्नुका साथै अन्य केही फौज त्यो पटक पनि फर्कन वाध्य भएको थियो । त्यही इतिहासअनुसार पार्कमा कालु पाण्डे र सुरप्रतापहरुको सम्झना पार्कका बिम्बित हुनेछ ।

पार्कमा मूर्तिका साथै सामाजिक, सांस्कृतिक र धार्मिक महत्वलाई झल्काउने सामाग्री राख्ने र पार्कमा संग्रहालयसमेत बनाउने योजना छ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत