महानगरको निर्णयअनुसार रानीपोखरी मल्लकालीन शैलीमा पुननिर्माण हुँदा खुशी लागेको छ ः मेयर शाक्य

महानगरको तयार पारेको गुरुयोजनाबमोजिम थप काम हुने


कार्तिक ६


काठमाडौं । काठमाडौं महानगरपालिकाले रानी पोखरीको पुननिर्माणका सम्बन्धमा २०७४ पुष १३ गते गरेको निर्णयबमोजिम पुननिर्माण भएकोमा खुशी लागेको प्रतिक्रिया दिँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले, यसको गुरुयोजनाबमोजिम थप काम हुने बताउनुभएको छ । पुरातत्व बिभागले असहयोग गरेका कारण निर्माण गर्ने जिम्मेवारी राष्ट्रिय पुननिर्माण प्राधिकरणमा गएको विगत स्मरण सुनाउँदै उहाँले भन्नुभयो — ‘परम्परागत ढाँचा र संरचनामा पुननिर्माण गर्नुपर्छ मागलाई सम्बोधन गर्ने क्रममा हामीले प्राप्त तथ्य र प्रमाणका आधारमा प्रतापमल्लकालीन शैली, ढाँचा र निर्माण सामाग्रीको प्रयोग गरेर बाल गोपालेश्वर मन्दिर बनाउने निर्णय गरेका थियौं ।’ प्रमुख शाक्यको अध्यक्षतामा बसेको पुष १३ को बैठकले ‘रानीपोखरीलाई प्रतापमल्लकालीन शैली स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनःनिर्माण गर्न देहायबमोजिमको एक बिशेषज्ञ समिति गठन गर्ने ’ निर्णय गरेको थियो । यसका लागि पुरातत्व बिभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय बिशेषज्ञ समिति गठन गरिएको थियो ।

प्रमुख शाक्यले बुधबार राष्ट्रिय सभा गृहमा बसेको ५२ औँ कार्यपालिका बैठकमा यस सम्बन्धि जानकारी गराउनुभएको हो । त्यस क्रममा उहाँले भन्नुभयो — ‘आज (कार्तिक ५ गते) रानीपोखरीको उद्घाटन भएको छ भने दरबार हाइस्कुल महानगरलाई हस्तान्तरण भएको छ । यो कामलाई धेरैले असम्भव भनेका थिए तर, त्यो असम्भव कामलाई हामीले सम्भव बनाएका छौँ ।’
रानी पोखरी पुननिर्माणका लागि २०७२ साल माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गर्नुभएको थियो । त्यस्तै दरबार हाइस्कूल २०७५ साउन १८ गतेबाट पुननिर्माणको औपचारिक शुरुवात् भएको थियो । रानी पोखरीमा मौलिक ढाँचा सम्बन्धि असहमति थियो भने स्कूल २ तले बनाउने कि ४ तले भन्नेमा थियो । रानी पोखरीका बीचमा भएको मन्दिर पुननिर्माण अघि गुम्बज शैली थियो भने दरवार स्कूल २ तले थियो ।

प्रमुख शाक्यले रानीपोखरी पुनः निर्माणका विगत प्रयास सुनाउँदै भन्नुभयो — ‘यस बिषयमा मैले पटक पटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह मागेँ । त्यस क्रममा प्रधानमन्त्रीले रानीपोखरी पुनःनिर्माणको जिम्मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिऔँ । पुनःनिर्माण सम्पन्न भएपछि काठमाडौँ महानगरपालिकालाई नै हस्तान्तरण गरौँला भनेपछि सहमति जनाएको हो ।’ शाक्यले भन्नुभयो, ‘ रानीपोखरी क्षेत्रलाई हालको शंखधर उद्यान पार्क, खुलामञ्च र त्रिचन्द्र कलेज तिरको केही भाग समेटेर तयार पारेको वृहत्तर गुरुयोजना कार्यान्वयनमा लैजाने गरी अघि बढेका छौँ । त्योसँगै काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध हुनेछ ।’

शाक्यले दरबार हाइस्कुल पनि दुई तला कि चार तलाको निर्माण गर्ने भन्ने विवाद रहेको भन्दै काठमाडौँ महानगरपालिकाको अडान अनुसार नै चार तलाको निर्माण भएको जानकारी दिनुभयो । ‘केहीले पहिला जस्तो छ त्यस्तै दुई तलाकै बनाउनुपर्छ भन्दै आएका थिए,’ शाक्यले भन्नुभयो, ‘सय वर्ष पहिला दरबारियाका छोरा–छोरी मात्रै पढ्ने त्यो हाइस्कुलमा अहिले जनताका छोराछोरी अध्ययन गर्छन् । त्यसैले अहिले विद्यार्थीको चाप पनि बढेको छ । त्यसैले पहिलाकै स्वरुपमा भन्दा पनि केही परिर्वन गरेर जतिसक्दो धेरै विद्यार्थी अध्ययन गर्ने गरी मौलिकतालाई पनि कायम राख्दै निर्माण गनुपर्छ भनेर अडान लिएपछि अहिले चार तलाको निर्माण भएको छ । हामीले भने अनुसारकै काम सम्पन्न भएको छ, यसमा गौरव महसुस भएको छ ।’

वैठकमा महानगरकी उपप्रमुख हरि प्रभा खड्गी श्रेष्ठले — ‘सम्पदा पुननिर्माण हुनु सबैका लागि गर्वको विषय रहेको उल्लेख गर्नुभयो ।’

‘महानगरसँग सम्पदा पुननिर्माण गर्ने क्षमता थियो । स्रोत थियो । तर पनि काम पुनः निर्माण प्राधिकरणबाट भयो । यो विगतको कुरा हो ।’ उपप्रमुख श्रेष्ठले भप्दै भन्नुभयो — ‘पुननिर्माणका विषयमा विवाद वा अन्य समस्या भए पनि काम सकिनु चाहिँ महत्वपूर्ण उपलब्धी हो । यसमा सबैले गर्व गर्नुपर्छ ।’

रानी पोखरी र दरबार हाइस्कूल पुननिर्माणको अभ्यासबाट ठूलो पाठ सिक्नुपर्छ । उपप्रमुख खड्गी श्रेष्ठले भन्नुभयो — ‘सम्पदाको बचावट गर्न आपसी साझा मत निर्माण हुनुको विकल्प छैन ।’

वैठकले ‘सामाजिक उत्तरदायित्व लगानी कार्यविधि — २०७७’ मस्यौदा तयार पार्न सैद्धान्तिक सहमति दिएको छ । यसै गरी भवन जाँचबुझ कार्यविधि — २०७७ स्वीकृत गरेको छ ।

यसै गरी वडा १५ मा रहेको मनाङ् सेवा समितिको नाममा रहेको जग्गामा निर्मित गुम्वा तथा जग्गाको सम्पत्ति कर छुट दिने निर्णय गरेको छ ।

 

 

 

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत