‘मेयर्स रिसर्च फेलोसिप’ का लागि छनौटमा परेका अनुसन्धानकर्तासँग सम्झौता

कार्यान्वयन हुने खालका शिफारिसको अपेक्षा गरेका छौं — मेयर शाक्य

कार्तिक १

 

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले विभिन्न १० विधामा १० जना युवालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको छ । नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजान उद्देश्यसहित पहिलो चरणमा १० जनालाई ‘फेलोसिप’ प्रदान गरिएको हो ।

सहरी शासन, प्रशासन, वातावरण, सेवा वितरण, समृद्धि र पूर्वाधार, सञ्चारजस्ता विभिन्न क्षेत्रमा अनुसन्धान गर्न इच्छा देखाउनेमध्ये उत्कृष्ट प्रस्तावकहरुसँग हिजो (असोज ३० गते) सम्झौता भएको छ ।  महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको उपस्थितिमा प्रस्तावक १० जनासँग सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

हस्ताक्षरपछि सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाले आगामी नीति तथा कार्यक्रममा समेत समावेश गरी कार्यान्वय चरणमा लैजान सहज हुने गरी व्यवहारिक पक्षलाई समेत ध्यानमा राखेर अनुसन्धान तयार पार्न सुझाव दिनुभयो । उहाँले यस्ता अनुसन्धानले आफ्नै स्रोत–साधानको प्रयोग गरी समय सापेक्ष तथ्याङ संकलनमा केही हदसम्म टेवा पुग्ने विश्वास लिएको बताउनुभयो । 

‘काठमाडौँ महानगरपालिका संघीय राजधानी रहेको स्थानको महानगरपालिका हो । काठमाडौँमा ७७ वटै जिल्लाका नागरिक बसोबास गर्ने भएकाले यहाँ लागु भएका नीति–कार्यक्रम र गरिएका अनुसन्धान अन्य सबै स्थानीय तहका लागि अनुसरण गर्ने खालका हुनपर्छ,’ शाक्यले भन्नुभयो, ‘तपाईँहरु जस्ता अनुभवी व्यक्तिहरुले तयार पार्ने अनुसन्धान व्यवहारिक रुपमा कार्यान्वयन गर्ने सन्दर्भमा अनुसन्धानकर्ता नै अन्योलमा हुने खालका नहुन र समय सान्र्दभिक हुन् भन्ने मेरो सझाव छ ।’ शाक्यले काठमाडौँ महानगरपालिकाले दिने सेवा प्रवाह यहाँका मेयर, जनप्रतिनिधि र स्थानीयसँग मात्रै नभई ७७ ओटै जिल्लाका नागरिकको सेवासँग जोडिएको हुन्छ भन्दै फेलोसिपको मर्म पनि त्यसैसँग सम्वन्धित होस् भन्नुभयो । ‘काठमाडौँ मेयर एक्लैले बनाएर बन्दैन,’ उहाँले भन्नुभयो, ‘जनप्रतिनिधि अस्थायी हुन् । म पनि अस्थायी हुँ । तर, यहाँको विकास स्थायी प्रकृतिको हुन आवश्यक छ । त्यसैले यहाँको विकास र समृद्धिमा सबैको हातेमालो जरुरी छ । सबै मिलेर अघि बढौँ, यहाँको संवृद्धि टाढा छैन ।’

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले सबै स्थानीय तहले कार्यान्वयनमा लैजान सक्ने उदाहरणीय र नेतृत्वदायी अनुसन्धानको अपेक्षा रहेको बताउनुभयो । ‘तपाईँहरुले अन्तराष्ट्रिय अनुभवलाई पनि हेरेर व्यवहारमा सजिलै लागु गर्न सकिने खालको अनुसन्धान गर्नुहोला,’ उहाँले भन्नुभयो, ‘स्थानीय परिवेश बुझ्ने अनुसन्धानकर्ताबाट व्यवहारिक अनुसन्धान हुनेछ । अनुसन्धानमुलक विकास र विकासमा युवा सहभागितालाई उत्साह हुने कार्यक्रम उपलब्धीमुलक हुने आशा व्यक्त गर्नुभयो ।’

नेपालमा यसप्रकारका अनुसन्धानको चलन धेरै कम छ । कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले भन्नुभयो — ‘सहरी विकासका आवश्यकताका तथ्य हामीले अपेक्षा गरेको उपलब्धी हो । विदेशमा यस्तो चलन छ । नेपालमा स्वीकार गरिएको भए पनि व्यवहारमा देखिँदैन ।’ उहाँले भन्नुभयो,  ‘अनुसन्धानमुलक विकास पद्धतिको आवश्यकतालाई महानगरपालिकाले पूरा गर्ने प्रयास गरेको छ । यसलाई हामी व्यवहारिक रुपमा पनि कार्यान्वयन गर्दै निरन्तरता दिने सोचमा छौँ ।’

सम्झौता अनुसार अनुसन्धानकर्ताले बढीमा ६ महिनाभित्र अनुसन्धान कार्य सम्पन्न गर्नुपर्ने छ । अनुसन्धानको क्रममा वौद्धिक चोरी गर्न निषेध गरिएको छ भने चोरी भएको पाइएमा प्रथम पक्षले फेलोसिप तुरुन्त खारेज गरी निर्धारित रकम जफत  गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । अनुसन्धानका लागि महानगरपालिकाले प्रत्येक विधामा १ लाख ५० हजार दिनेछ ।

पहिलो चरणमा ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका विद्यालयहरुमा गैर संक्रामक रोग सम्बन्धी जोखिम र स्वस्थ जीवनशैली सम्बन्धी नीति अध्ययन, पैदल यात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा परेको प्रभाव ः काठमाडौँको ठमेल क्षेत्रको अध्ययन, काठमाडौँ उपत्यका भित्र दिगो जोखिम न्यूनीकरण गर्नका लागि  पूर्वाधार नक्साङ्कन सम्बन्धी अध्ययन, काठमाडौँ उपत्यका भित्रको वायु गुणस्तर र वायु प्रदुषण संयन्त्र सम्बन्धि विश्लेषण अध्ययन, काठमाडौँका सामुदायिक विद्यालयका महिला प्राध्यापकहरुको अनुभवको मात्रात्मक अध्ययन छनोटमा परेका छन् । छानिएका बिषयका बारेमा उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै विश्व जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि काठमाडौँ उपत्यका रिङरोड क्षेत्रको बायोमास र कर्बोन स्टक सम्भाव्यता वृक्षारोपण सम्बन्धी अध्ययन, काठमाडौँ महानगरपालिकाका जेष्ठ नागरिकहरुको जीवनको गुणस्तर सम्बन्धी कानुन, नीति र प्रमाण सम्बन्धी अध्ययन, काठमाडौँ महानगरपालिकालाई नविन परिवर्तन हबको रुपमा विकास गर्न स्टेम शिक्षाको आवश्यकता सम्बन्धी अध्ययन, काठमाडौँ महानगरपालिका क्षेत्र भित्रको नेवार समुदायमा रहेको गरिबी र सम्भावित निवारणका पद्धति सम्बन्धि अध्ययन पनि छनोट भएका छन् । काठमाडौँ महानगरपालिकाको सहरी विकास व्यवस्थापन (योजना तर्जुमादेखि कार्यान्वयनसम्म) मा सञ्चारको भूमिका र प्रभावकारिता अभिवृद्धि सम्बन्धि अनुसन्धान प्रस्तावना पनि छनौटमा परेको छ ।

यी दश विधामा अनुसन्धानका लागि क्रमश प्रतिक खनाल, कृति प्रधान, सुरज गौतम, राजीब पोखरेल, सम्राट बस्याल, नबिनराज जोशी, कृपा सिग्देल, मनिषमान श्रेष्ठ, रबिन्द्र के सुवाल, गोपीकृष्ण ढुङ्गानाका बिषय छनौटमा परेका हुन् ।

 

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत