तीनकुनेको अतिक्रमित सडक व्यापार र तिलगंगाका अतिक्रमित टहरा हटाइए

पैदल यात्रीको आवागमन सहज बनाउने अभियान

चन्द्रमणि भट्टराई
बैशाख २७

काठमाडौँ । काठमाडौं महानगरपालिकाले अतिक्रमित सडक, सडक पेटी र बफर जोन (हरियाली क्षेत्र)लाई सार्वजनिक उपयोगमा रुपान्तरण अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा बुधबार तीनकुने पार्क नजिक निर्माण सामाग्रीको व्यवसाय गर्ने व्यवसायीले पैदल मार्गमा राखेका फलामे डण्डी र इटा हटाइए । नगर प्रहरी नायव उपरीक्षक दिनेशकुमार अर्यालको नेतृत्वमा गएको प्रहरीको टोलीले व्यवसायी आफैंलाई सामान उठाउन लगाएर अतिक्रमित सडक खाली गराएको थियो । सो क्रममा व्यापारी भन्दै थिए — सधैंका लागि हो भने ठीक छ , एक छिनका लागि हो भने यसो नगरौं ।

यसप्रकारका अतिक्रमण हटाएर नागरिकको जीवन पद्धति सुधार गर्न हामी प्रयासरत छौं तर यसको सफलताका लागि नागरिक र व्यापारीले पनि साथ दिनुपर्छ । सहरी मापदण्डको पालना गर्न गराउन हामीले आग्रह गरिरहेका हौं । महानगरका प्रमुख विद्यासुन्दर शाक्य भन्नुहुन्छ — महानगरले केही भनेको छैन भनेर कोठाभित्र सञ्चालन हुनु पर्ने व्यापारको आयातन बढाएर सडकमा पु¥याउनु हुँदैन ।

तीनकुने पार्कबाट मीन भवनतर्फ लाग्दाको सडक दायाँ भाग आधा दर्जन बढी यस प्रकारका व्यवसाय सञ्चालनमा छन् । तिनीहरु इटा, सिमेन्ट, फलामे रड लगायत निर्माण सामाग्री विक्री गर्छन् । यसरी वेचिने सामाग्रीमध्ये सिमेन्ट घर भित्र राखिएको छ तर, त्यसको धुलो उडेर घरका भित्ता तथा आसपास घरको वास्तविक रङ्ग पुरिएको छ भने सडकमै राखिएका इटा र डण्डीले सहरी अव्यवस्था र असुरक्षा देखाएको थियो । वुधबारबाट ती सामाग्री हटाइएपछि तीनकुने क्षेत्रको व्यवस्थामा सुधारमा अर्को सफलता मिलेको छ । नगर प्रहरी नायव उपरीक्षक अर्याल भन्दैहुनुहुन्थ्यो — हाम्रो क्षेत्रमा सडक व्यापार न्युन हुँदैछ । कोटेश्वर, गौशाला, चावहिल, कोटेश्वर, बानेश्वर जस्ता तीव्र सडक व्यापार हुने क्षेत्रलाई मुल व्यापार नियन्त्रणमा लिइसक्यौं । लुकीछिपी बेच्ने केही छन्, तिनीहरु माथि निगरानी बढाएका छौं ।

सहरी आवागमन सुधार गर्न सार्वजनिक सम्पत्तिमा हरेक नागरिकको पहुँच पु¥याउन जरुरी छ । महानगर अहिले यसैमा केन्द्रीत काम गरिरहेको छ । व्यवस्थापन सुधार गर्ने क्रममा बुधबार नै तिलगंगा क्षेत्रका करीव ४५ वटा अस्थायी टहरा भत्काइए । ती टहरा घरबाट विस्तार हुँदै सडकमा पुगको थिए । सडकको केन्द्रबाट ३१ मिटर बाहिरको दूरी व्यक्तिगत लाभमा प्रयोग गर्न पाइदैन । यही मापदण्ड कार्यान्वयन गराउने क्रममा छौं । नगर नायब प्रहरी उपपरीक्षक अर्यालको भनाइ छ ।

यसरी भत्काइएका ठाउँमा कवाडी संकलन केन्द्र, सवारी मर्मत केन्द्र, चिया तथा नास्ताको पसल थिए । विमानस्थलबाट निस्केर तीनकुनेतर्फ लाग्दाका यात्रु प्रतिक्षालयमा र सिनामंगल चोकमा रहेको पीपलको बोटमुनि पाल टाँगेर भात भान्सा चलाउने पनि थिए । अहिले उनीहरुलाई पनि हटाइ सकिएको छ ।

यसमा तपाइको मत