रेडियोकर्मी स्व. शाक्यको सम्झनामा श्रद्धाञ्जली सभा

स्व. शाक्यका छोराछोरीको शिक्षादीक्षाका बारेमा सोचेका छौं, छलफलपछि निर्णय गर्छौ — प्रमुख प्रशासकीय अधिकृत अर्याल

असोज २३

काठमाडौंं । काठमाडौं महानगरले सञ्चालन गरेको मेट्रो एफ. एम. मा कार्यरत संवाददाता स्व. बिक्रम शाक्यको सम्झनामा आज श्रद्धाञ्जली सभा आयोजना गरियो । उहाँको साउन १४ गते राती १ बजे उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो ।

उहाँकी श्रीमति धनलक्ष्मी शाक्यकाअनुसार असोज ८ गतेतिर बिक्रमलाई पिसाब चुहिने समस्या भयो । पिसाव रोकिँदै रोकिएन । त्यसपछि सामान्य ज्वरो आयो । त्यसपछि  १३ गते पाटन अस्पताल लगेर पिसीआर परीक्षण गरेर घर फर्काइयो । १४ गते बिहान उनलाई अक्सिजन कम देखियो । समस्या बढ्दै गएपछि उपचारका लागि पाटन अस्पताल लगियो । उनलाई आइसियुमा राख्नु पर्ने भयो तर अस्पतालमा आइसियु खाली थिएन । बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म आइसियु खोज्दैमा दिन बित्यो । समस्या सुनाउँदै बिक्रमकी श्रीमति धनमायाले भन्नुभयो — ‘साँझ ७ बजेतिर वीर अस्पतालमा ठाउँ पाइयो । त्यहाँ भर्ना भएर उपचार हुँदै थियो । उपचारकै क्रममा राती १ बजे उहाँको निधन भयो । अर्को दिन १५ गते बिहान करीब ९ बजेतिर उहाँको कोरोना पोजेटिभ भएको रिपोर्ट प्राप्त भयो ।’

स्व. शाक्यको मृत्युपश्चात् रिपोर्ट प्राप्त भएपछि आज उहाँकी श्रीमति, भाइ, बहिनी, छोराछोरी र नजिक रहेका एक जना साथीको पिसीआर परीक्षण गरिएको छ ।

रेडियोको स्थापना कालदेखि नेपाल भाषाको कार्यक्रम सञ्चालन गर्दै आउनु भएका शाक्य लामो समयदेखि नशा र थाइराइड सम्बन्धी समस्यासँग जुधिरहनुभएको थियो । उहाँ असोज १ गतेसम्म रेडियो कार्यक्रम सञ्चालनका लागि कार्यालय आउनुभएको थियो । रिँगटा लागेर कार्यालयमा बस्न कठिन भएको सूचना दिएर त्यस दिन उहाँ घर फर्किनुभएको थियो ।

२०२८ साल फागुन ५ गते जन्मनु भएका शाक्य ललितपुरको पाटनमा श्रीमति, भाइ, १ छोरा र १ छोरीका साथमा बस्दै आउनुभएको थियो । क्यान्सर रोगका कारण अभिभावक गुमाउनु भएका शाक्यलाई पछिल्लो समय चरम आर्थिक समस्याले घेरेको थियो ।

श्रद्धाञ्जली सभामा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भन्नुभयो — स्व. शाक्यले पु¥याउनु भएको योगदानलाई महानगरले सम्पत्तिका रुपमा सम्झना गर्नेछ । जीवनको उर्जाशील समय यसै रेडियोमा बिताउनु भएका शाक्यका सन्तानको शिक्षादीक्षा र उहाँको उपचारका क्रममा भएको खर्चका सम्बन्धमा हामीले कुराकानी गर्दैछौं । छलफलपछि निर्णय गर्छौं ।

त्यस क्रममा सूचना प्रबिधि बिभागका प्रमुख नरेन्द्र बिलास बज्राचार्य, महाशाखा प्रमुख सरस्वती पोखरेल, स्टेशन म्यानेजर केशवप्रसाद नेपाल ‘केशु’ र पत्रकार महासंघ मेट्रो प्रतिष्ठानका पूर्वअध्यक्ष श्रीकृष्ण महर्जनले स्व. शाक्यले नेपाल भाषा र साहित्य तथा रेडियो सेवामा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो । रेडियोमैत्री स्वरका कारण उहाँ नेपाल भाषीहरुका बीच लोकप्रिय हुनुहुन्थ्यो । उहाँले सहलह दबूः, मेट्रो धम्प तछ्या, स्वनिगः या सःलगायत कार्यक्रम सञ्चालन गर्दै आउनुभएको थियो ।

सभामा रेडियोकर्मी, पत्रकार तथा कर्मचारीहरुले स्व. शाक्यको तस्विरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत