काठमाडौं महानगरको, आधारभूत तह अन्तिम परीक्षाको नतिजा सार्वजनिकः विद्यार्थीले घरमै बसेर नतिजा हेर्न सक्ने

५५७ विद्यालयका १८ हजार ७४० विद्यार्थी सहभागी

चन्द्रमणि भट्टराई
चैत्र २९

काठमाडौँ । काठमाडौं महानगरको शिक्षा विभागले विहीबार आधारभूत तह, अन्तिम परीक्षाको नतिजा प्रकाशन गरेको छ । गएको १८ (चैत्र) मा सम्पन्न परीक्षाको ११ दिनपछि अनलाइनबाट हेर्न सकिने गरी वेभमा आधारित विश्लेषणसहितको नतिजा प्रकाशन गरेको हो । राष्ट्रिय सभागृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ग्रेटसिट प्रदर्शन गरेर नतिजा सार्वजनिक गर्नुभएको हो ।

नतिजा सार्वजनिक गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले — महानगरको एकीकृत र समन्वयात्मक विकासका लागि वडा समितिलाई जिम्मेबार बनाएर प्रविधिमा आधारित सेवा विस्तारलाई प्राथमिकता साथ अघि बढाइएको बताउनु भयो । असल परिणाम प्राप्त गर्न हामी काम गरिरहेका छौं, त्यसमा सहभागिता बढाउनोस्, साथ दिनोस्, — प्रमुख शाक्यको आग्रह थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सामुदायिक विद्यालयलाई निजी लगानीका विद्यालयको तुलनामा प्रतिस्पर्धी शिक्षा दिने वातावरण तयार पार्न महानगरले योजनावद्ध काम गर्ने बताउनु भयो । द कनेक्ट नामक कम्पनीसँगको सहकार्यमा महानगरले परीक्षा प्रणाली तथा अभिलेखीकरणलाई अनलाइन सिस्टममा लगेको हो । यसले विद्यार्थीको अभिलेख नष्ट नहुने बताउँदै शिक्षा विभागका प्रल्हाद अर्यालको भनाइ थियो । विगतको परीक्षा प्रणालीभन्दा यो फरक छ । विगतका नतिजाले केवल विद्यार्थीको मात्र मुल्याङ्कन हुन्थ्यो, तर यसले समग्र शिक्षाको अवस्था सुधार गर्ने आधार तयार गरेको छ, विभागका प्रमुख अर्यालको भनाइ थियो ।

सार्वजनिक गरिएको तथ्याङ्क विश्लेषण गर्दै समारोहमा, औसतमा कक्षा ८ का विद्यार्थी सबवैभन्दा बढी नेपाली विषयमा कमजोर देखिए । यस विषयमा अधिकांश विद्यार्थीले सी प्लस ग्रेड ल्याएका छन् । त्यसै गरी सामाजिक विषयमा पनि विद्यार्थीहरुले सी प्लस ल्याएका छन् । यसै गरी गणितमा सि, अंग्रेजी विषयमा बि प्लस, नैतिक शिक्षा र ऐच्छिक विषयमा ए ल्याएका छन् । स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयमा विद्यार्थीहरुको औसत ग्रेड ए प्लस छ । यस कक्षामा ९ वटा विषयमा परीक्षा लिइएको थियो ।

प्रकाशित नतिजा विद्यार्थी तथा अभिभावकले घरमै बसेर हेर्न मिल्छ । जसकालागि काठमाडौं महानगरको वेभ साइट www.kathmandu.gov.np को check user गएर १० अङ्कको सिम्बोल (रजिष्टे«सन) नं. र जन्म मिति राख्नुपर्छ ।

यसमा तपाइको मत