गाईजात्रालगायत पर्व मनाउँदा महामारीको बिषम परिस्थिति बुझ्न महानगरबासीलाई आग्रह गर्ने निर्णय गर्दै काठमाडौं महानगरको ५० औ कार्यपालिका बैठक सम्पन्न

बैठकले काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन कोष (संचालन) कार्यविधि २०७७ र स्वास्थ्य संस्था दर्ता नविकरण तथा स्तरोन्नति सम्वन्धी कार्यविधि — २०७७ पारित

साउन १५

काठमाडौं । कोभिड महामारीको संक्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा आस्था र विश्वाश नछोड्न तर भीड नगर्न काठमाडौं महानगरपालिकाले स्थानीयसँग आग्रह गरेको छ । आज महानगरका मेयर बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५० औं कार्यपालिका बैठकले बिभिन्न प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो । ‘पछिल्ला दिनमा काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरि नै कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको छ । हामीले मनाउने जात्रा र पर्वको समय पनि शुरु भएको छ । यो हाम्रा लागि चुनौतीपूर्ण समय हो ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘सुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पूर्ण पालना गरी उपत्यकालाई शान्त बनाउनुभयो । लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेहरुको संख्यामा वृद्धि हुँदा जोखिम बढेको छ । यस्तो बेलामा हामी सबैले सतर्कता अपनाउनुको अर्को विकल्प छैन । बितेर जानुभएकाहरुको आत्माको चीर शान्तिको कामना गरौं । यस बर्ष घर बाहिर निस्किने समय छैन । अवस्था मनन गरेर घरमै बिधि गरौं । बाहिर नआऔं ।’

गाईजात्रा पर्व व्यवस्थापन गर्न कुनै गुठीयार छैनन्, पर्वमा मृतकका परिवार बाहिर आउने भएकोले सबैलाई महामारीबाट बच्न आग्रह गर्ने निर्णय गरेका हौंमेयर शाक्य

गृह प्रशासनले असुरक्षित रुपमा उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने उपत्यकाको अवस्था भयावह हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘अहिलेसम्मको रिपोर्टलाई आधार मान्ने हो भने उपत्यका बाहिरबाट प्रवेश गर्नेहरुमै बढी संक्रमण देखिएको छ, उहाँले भन्नुभयो, ‘उनीहरुबाटै समुदायमा समेत कोरोना संक्रमण फैलिन सक्ने संभावना भएकाले सबै भन्दा पहिला उपत्यका प्रवेशका क्रममा सावधानी अपनाउन आवश्यक छ । कोरोना संक्रमण फैलिन नदिनका लागि घरधनी र सर्वसाधारण पनि सचेत हुनपर्छ ।’

बैठकमा बोल्दै महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो — जात्रा पर्व मनाउने सन्दर्भमा उपत्यका नगरपालिका फोरमको एउटै आवाज हुनुपर्छ । एउटै भूगोलमा रहेका स्थानीय तहमध्ये कुनैले मनाउने, कुनैले नमनाउने निर्णय गर्नुहुँदैन ।’ उहाँले थप्दै भन्नुभयो — ‘हाम्रो मेयर साब उपत्यका नगरपालिका फोरमको अध्यक्ष हुनुहुन्छ । अब तपाईँले फोरमको बैठक बोलाएर यस बिषयमा निर्णय गर्नुपर्छ ।’

उपप्रमुख खड्गी श्रेष्ठले — मुुद्दा ÷ उजुरी दर्ता गर्दा तत्काल न्यायिक निरुपण गर्नुपर्नेलाई गर्ने, पछि दर्ता गर्दा पनि हुने मुद्दालाई पछाडि सार्नुपर्ने बताउनुभयो । त्यस्तै ताला खोल्ने र कोठा खाली गराउने बिषयमा वडाध्यक्षले निर्णय लिँदा भोलि कानुनी झन्झट हुन सक्ने भएकोले यस्ता बिषय न्यायिक समितिमा पठाउन पनि आग्रह गर्नुभयो ।

गाईजात्रा पर्व कसरी मनाउने ? महामारीले ग्रस्त समयमा बाहिर आउँदा झन् ग्रस्त हुने हो कि? अथवा कुनै उपाय अपनाएर जात्रा मनाउन सकिन्छ? महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले स्थानीय गुठीयारहरुसँग परामर्श गर्नुभएको थियो । गुठीयारहरुसँगको छलफलका बारेमा बैठकमा जानकारी गराउँदै उहाँले भन्नुभयो — ‘मेयर शाक्यले छलफल गर्नु भनेपछि मैले मानन्धर संघ, कपाली समाज, ज्यापू महागुथि, तुलाधर समाज, खड्गी सेवा समिति, कसाः, द्यौला, रजक, नकमिः, माली, नापित, पुतुवारलगायत स्थानीय गुठीयार र समुदायसँग छलफल गरेँ । उहाँहरुबाट स्वास्थ्य सुरक्षा ख्याल गर्नुपर्ने सुझाव आएको छ ।’

परम्परागत रुपमा सापारु (गाईजात्रा) लगायत पर्व मनाउँदा सहभागीहरुलाई महामारीको प्रकोपबाट बचाउन कस्तो निर्णय लिनपर्ला, छलफलमा वडाध्यक्षहरु नीलकाजी शाक्य, बिकास डंगोल, कार्यपालिका सदस्य प्रेम पुजारीलगायत बैठकका सदस्यहरुले आस्था र आफ्नो स्वास्थ्य दुवै जोगाउन स्थानीयबाट सहयोग प्राप्त हुनुपर्ने सुझाव राख्नुभएको थियो ।

बैठकले काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन कोष (संचालन) कार्यविधि २०७७ र स्वास्थ्य संस्था दर्ता नविकरण तथा स्तरोन्नति सम्वन्धी कार्यविधि — २०७७ पनि पारित गरेको छ । बैठकमा प्रस्तुत गरिएको मैतिदेवी मन्दिर व्यवस्थापन कार्यविधि, २०७७ लाई भने थप छलफल गरेर निर्णयमा पु¥याउने गरी टुङ्ग्याइएको छ ।

बैठकले वडा – ९ को भवन निर्माणको भेरिएसन स्वीकृत गरेको छ भने चालृु आर्थिक बर्षका लागि निर्माण सामाग्रीको दररेट स्वीकृत गरेको छ । जिल्ला दररेट निर्धारण समितिले स्वीकृत गरेको निर्माण सामाग्री, ज्याला, ढुवानी, भाडाको दररेट नै महानगरले स्वीकृत गरेको हो । बैठकमा सहरी पूर्वाधार बिभागका प्रमुख राम थापाले दररेट सम्बन्धि विवरण प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा संस्कृति र गुठीयारको चाहना बिषयमा वडाध्यक्ष शुद्धकुमार डंगोल, कार्यपालिका सदस्य प्रेम पुजारीलगायत जनप्रतिनिधिहरुले धारणा राख्नुभएको थियो ।

त्यसै गरी, संसद बिकास कोषबाट हुने गरेका काम र महानगरको बिकासको अन्तरसम्बन्धका बिषयमा वडाध्यक्षहरु मुकुन्द. रिजाल, ख्याम तिवारी, नारायण भण्डारी, नविन मानन्धर, शोभा सापकोटा, रामकुमार के. सी., दलबहादुर कार्की, बिकास डंगोललगायतले धारणा राख्नुभएको थियो । संसद बिकास कोषबाट हुने काम पुनरावलोकन गर्नु पर्ने देखियो । यसलाई बिधिले व्यवस्थापन नगरी हुँदेन, उहाँहरुको धारणाको सार थियो ।

बैठक शुरु हुनु अघि राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभागका महानिर्देशक जितेन्द्र बस्नेतले राष्ट्रिय परिचय पत्र निर्माणका प्रक्रियाका बिषयमा जानकारी दिँदै काठमाडौं महानगरमा विवरण संकलन कार्य छिट्टै हुन लागेको जानकारी गराउनुभयो ।

बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, सहसचिव राजेश्वर ज्ञवालीसहित बिभागीय प्रमुखहरु उपस्थित हुनुहुन्थ्यो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५७३

काठमाडौं उपत्यका क्षेत्रभित्र ५७३ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बैठक शुरु हुनु अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भन्नुभयो — काठमाडौँ जस्तो जनघनत्व बढी भएको ठाउँमा संक्रमण फैलियो भने जटिल समस्या आउन सक्छ । सबैले सचेत हुनुपर्छ । पछिल्लो समय भारतबाट कामका सिलसिलामा उपत्यका प्रवेश गर्नेहरुमा संक्रमणको जोखिम उच्च देखिएको भन्दै डा. पाण्डेले भन्नुभयो — यसरी आउने व्यक्ति सम्बन्धि सूचना स्थानीय तहलाई आवश्यक छ । यस्ता व्यक्ति आएको थाहा पाए अनिवार्य रुपमा १४ दिन क्वारेन्टीनमा बस्न लगाउनु पर्छ । आग्रह गर्नुभयो । जोखिममा रहेकालाई परीक्षणको दायरामा ल्याउनु पर्छ । यसो भयो भने महामारी नियन्त्रण गर्न धेरै सहज हुने उहाँको भनाइ छ । मास्कको प्रयोग नगर्ने, गरे पनि उचित तरिकाले प्रयोग नगर्ने प्रवृत्तिले संक्रमणको जोखिम बढेको छ । मास्कको उचित प्रयोग भयो भने ७० प्रतिशत वढी संक्रमणको जोखिमबाट बच्न सकिन्छ ।

डा. पाण्डेकाअनुसार उपत्यकामा देखिएका कोरोनाका संक्रमितमध्ये ३५० जना स्थानीय हुनुहुन्छ । उहाँहरुमध्ये २१० जना पुरुष र बाँकी महिला हुनुहुन्छ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत