स्थानीय तहबीच सञ्चार साझेदारिताको सम्भावना अध्ययन गर्दै महानगर

स्थानीय शासन, असल अभ्यास र सिकाइ आदान प्रदान गर्ने प्लेटफर्म तयार गर्ने सोच गरेका हौं — प्रमुख प्रशासकीय अधिकृत अर्याल


साउन १३

काठमाडौं । काठमाडौं महानगरले सञ्चालन गरिरहेका सञ्चार अभ्यासलाई अन्य स्थानीय तहको साझेदारितामा सञ्जाल बनाउने बिषयमा अध्ययन थालेको छ ।

अन्तर नगर साझेदारिता र सहयोगका कार्यक्रम पहिचान गर्न साउन ४ गते काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले समिति गठन गरेर अध्ययन थालेको हो । त्यस बैठकले काठमाडौं महानगरका सहसचिव राजेश्वर ज्ञवालीको सयोजकत्वमा गठन गरेको समितिलाई अन्तर नगर सहयोग क्षेत्र र साझेदार कार्यक्रम अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ । त्यस्तै ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत बिष्णु कोइरालाको अध्यक्षतामा गठन गरिएको समितिलाई फोहोरमैला व्यवस्थापन कोषको कार्यबिधि बनाउने, सञ्चार साझेदारिता र ट्राफिक व्यवस्थापनका कार्यक्रम ढाँचा शिफारिस गर्ने जिम्मेवारी दिइएको छ । यस समितिमा महालक्ष्मी नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत पुरुषोत्तम सापकोटा, तारेकश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हिरामणि सुवेदी र गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरे सदस्य हुनुहुन्छ । समितिको सदस्य सचिवको जिम्मेवारी काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठलाई दिइएको छ । समितिलाई १ महिनाको समयावधि दिइएको छ ।

काठमाडौं महानगरपालिकाको सञ्चार अभ्यास राणा कालदेखिको हो । यो सिकाइलाई स्थानीय तहको साझेदारितामा व्यवस्थापन गर्ने हाम्रो योजना हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल भन्नुहुन्छ — स्थानीय तहबाट रकम राखेर कोष स्थापना गर्ने, कोषबाट एउटै छातामुनि टेलिभिजन स्टेशन, रेडियो र अनलाइन सञ्चार माध्यम स्थापना गर्ने हाम्रो प्रारम्भिक सोच हो । स्थानीय तहसँग छलफल र स्थानीय तहको सञ्चार सम्बन्धि जिम्मेवारी अध्ययन गर्न समिति बनाएका छौं । अर्याल थप्दै भन्नुहुन्छ — महानगरले सञ्चालन गरिरहेका सञ्चारमाध्यमको क्षमता बिस्तार गरेर सबै स्थानीय तहको आवाज बोल्ने, साझा सिकाइ प्रबर्धन गर्ने, सबैको स्वामित्व र अपनत्व हुने सञ्चारमाध्यम स्थापना गर्ने बिषयमा अहिले अध्ययन भइरहेको छ ।

सञ्चार साझेदारिताको अध्ययन गरिरहेको समितिका संयोजक एवं ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद कोइराला भन्नुहुन्छ — अन्तरनगर साझेदारिताका सम्भावित कार्यक्रममध्ये सञ्चार महत्वपूर्ण क्षेत्र हो । सञ्चार व्यवस्थापनका प्रचलित मुल्य मान्यता, संबिधानले स्थानीय सरकारलाई दिएको जिम्मेवारीमध्ये जवाफदेहिता, सरकारको पारदर्शिताका लागि साझा अभ्यास सम्भव देखिन्छ । उहाँ भन्नुहुन्छ — काठमाडौं उपत्यकाभित्रका स्थानीय तहबीच तत्काल साझेदारिता हुनसक्छ ।

१९७६ पुष २ गते सफाइ अड्डाका रुपमा स्थापना भएको सफाइ अड्डाबाट बिकसित संरचनालाई २००३ साल फागुन २ गते पद्म शम्शेरले नगरपालिका घोषणा गरे । त्यसको एकबर्षपछि नगरपालिकाले गरेका कामका बारेमा जनतालाई सूसुचित गर्नुपर्छ भनेर ‘जनचेतना’ नामबाट पत्रिका प्रकाशन शुरुभयो । काठमाडौं महानगरको सञ्चार अभ्यास यहीँबाट शुरु भएको हो ।

२०५६ साल असोज १ गतेबाट मेट्रो एफ. एम. सञ्चालन शुरु गरियो भने २०५८ साल फागुन ७ गतेबाट टेलिभिजन कार्यक्रम उत्पादन प्रसारण थालियो । प्रबिधिको बढ्दो उपयोगसँगै आमसञ्चारको कान्छो अभ्यास अनलाइन समाचार पोर्टल २०७५ सालबाट सञ्चालनमा छ । जनचेतना नामबाट प्रकाशन शुरु भएको पत्रिका २०१७ साल अघिसम्म यसै नामबाट सञ्चालन भयो । त्यसपछि प्रकाशन अनियमित भयो । २०४६ सालमा प्रजातन्त्र पुनर्वहाली भएपछि प्रकाशनलाई नियमित गरियो । जुन अहिले पनि नियमित छ ।

 

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत