साबिक निजामती सेवाबाट समायोजन भएर महानगरमा आउने कर्मचारीको कुरा सुन्न प्रमुख प्रशासकीय अधिकृत ताहाचलमा

महानगरका कामलाई लाभग्राहीमैत्री बनाउन अन्तर बिभाग समन्वय र अधिकारीबीच घुलमिल जरुरी — प्रमुख प्रशासकीय अधिकृत अर्याल

साउन १२

काठमाडौं । साबिक निजामती सेवाबाट समायोजन भएर काठमाडौं महानगरमा आउनु भएका कर्मचारीको कुरा सुन्न, प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल आज प्रशासन बिभागका प्रमुख नमराज ढकालसहित ताहाचल पुग्नुभयो । त्यहाँ (तत्कालीन जिल्ला शिक्षा कार्यालय रहेको ठाउँमा) अहिले शिक्षा बिभाग, कृषि बिभाग र भेटेनरी महाशाखा रहेका छन् । ती ३ वटै सेवा साबिक जिल्लास्तरीय सेवाबाट स्थानीय तह (काठमाडौं महानगरमा) आएका हुन् । त्यहाँको कार्यप्रणाली, कार्यालय र कर्मचारी व्यवस्थापन, महानगरसँग सेवाको अन्तरघुलनका बिषयमा जानकारी लिन उहाँ ती बिभागको निरीक्षणमा जानुभएको हो । शिक्षा बिभागमा ७ जना, कृषि बिभागमा ५ जना र भेटेनरी महाशाखामा ८ जना कर्मचारी हुनुहुन्छ । उहाँहरुमध्ये शिक्षा बिभागमा कार्यरत लेखापालबाहेक अरु सबै साबिक निजामती सेवाबाट आउनुभएको हो ।

कार्यालयको निरीक्षण, सेवा प्रवाहको अवस्था र कर्मचारीको मनोबिज्ञान बुझिसकेपछि उहाँले भन्नुभयो — ‘समायोजनबाट आउनुभएका कर्मचारीलाई महानगरले ग्रहण गरिसकेको छ । अब बिभाग—बिभागका बीचमा समन्वय गरेर एकीकृत सेवा व्यवस्थापनमा काम गर्नुपर्छ । समायोजनबाट आउनुभएका कर्मचारी र पहिल्यैदेखि महानगरमा काम गर्नुहुने कर्मचारीबीच घुलमिल गर्नुपर्छ ।’ उहाँले लक्षित बर्गमा लाभ पु¥याउने कार्ययोजनाको कुरा गर्दै भन्नुभयो — ‘तपाई सेवाप्रदायक मात्र होइन । महानगर क्षेत्रमा बसोबास गर्नेभएकोले लाभग्राही पनि हो । कुनै कार्यालयमा जाँदा त्यहाँका कर्मचारीबाट तपाई जुन खालको सेवा र व्यवहारको अपेक्षा गर्नुहुन्छ । तपाईले त्यहीअनुरुपको आचरण गर्नुपर्छ । ’

त्यस क्रममा प्रशासन बिभागका प्रमुख नमराज ढकालले भन्नुभयो — ‘समायोजन भएर आउने कर्मचारीले प्राप्त गर्ने सुबिधामा फरक परेकोले समायोजन प्रक्रियामा केही जटिलता देखिएको थियो । ती समस्याहरुमध्ये धेरैको समाधान आइसकेको छ । अब सबै मिलेर सेवा व्यवस्थापनलाई चुस्त बनाउनुपर्छ ।’ महानगरले स्थानीय सेवा ऐन तर्जुमा गरिरहेको बताउँदै ढकालले, फरक सेवा, समूह, श्रेणी र तहमा काम गर्ने कर्मचारीको सुबिधा र शर्त यसैबाट समाधान हुने बताउनुभयो ।

त्यस क्रममा कृषि बिभागका प्रमुख हरिबहादुृर भण्डारीले, कृषि प्रयोगशाला बनाउने, बजार व्यवस्थापन गर्ने, बृक्षारोपण र फूल रोप्ने काम कृषि बिभागको क्षेत्रमा पर्ने भएकोले ती जिम्मेवारी बिभागलाई दिन आग्रह गर्नुभयो । खाद्य सुरक्षा र सहरी खेतीको प्रवर्धन गर्र्ने योजनाा सुनाउँदै भण्डारीले — बजार अनुगमनमा फराकिलो हुनुपर्ने बताउनुभयो ।

त्यस क्रममा शिक्षा अधिकृत मोती भट्टराई र मोती खनालले अहिले १०० बढी बिद्यालयले तह बृद्धि गर्न निवेदन दिएको जानकारी गराउनुभयो । फाइल स्वीकृत गराउन टाढा जानु पर्ने भएकोले भएकोले समस्या भएको, बिभागमा सवारी साधनको अभाव रहेको उहाँहरुको भनाइ थियो ।

जिल्ला स्तरीय कार्यालयमा भन्दा स्थानीय तहमा काम गर्न सजिलो हुने अनुभूति गरेको अनुभव सुनाउँदै भेटेनरी महाशाखा प्रमुख डा. अवधेष झाले भन्नुभयो — हामीलाई काम गर्ने ठूलो ठाउँ र पर्याप्त संरचना चाहिन्छ । महाशाखाले अहिले चौपाया र सामुदायिक कुकुर व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

त्यस क्रममा बोल्दै अरु अधिकारीहरुले — समायोजन भएर हाजिर हुन नपाएका समयमा प्राप्त नभएको सुबिधा प्राप्तिका उपाय, हाजिर नभएकैकारण जेष्ठता गणनामा परेको समस्यालगायतका बिषयमा गुृनासो सुनाउनुभएको थियो ।

महानगरले पदान गर्ने सेवा सुबिधा सबैका लागि एकै प्रकारका हुन्छन् । यसमा चिन्ता नगर्नोस्, अधिकारीहरुको प्रश्नको जवाफमा प्रमुख प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो — महानगरका काम गर्ने कर्मचारी जहाँबाट आएका हुन्, एउटै परिवार भएपछि आन्तरिक समस्या समाधान गरेर हिँड्नुपर्छ ।

त्यस क्रममा कर्मचारीले बहन गर्नुपर्ने उत्तरदायित्व, अभिलेखीकरण, कार्य सम्पादन सम्झौतालगायतका बिषयमा छलफल भएको थियो ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत