नागरिक अभिनन्दनको तयारीमा महानगर

एक छिन देखिने काम नगरिने

चन्द्रमणि भट्टराई
बैशाख २४

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्रदामोदर दास मोदीलाई गरिने नागरिक अभिनन्दन कार्यक्रमको तयारीलाई महानगरले तीव्रता दिएको छ । प्रधानमन्त्री काठमाडौं रहँदा आवागमन गरिने सडकको भौतिक अवस्था तथा सरसफाइ, स्वागत द्वार निर्माण, सडक किनाराका पोलमा झण्डा राख्ने काम, कार्यक्रम स्थल राष्ट्रिय सभा गृहको मर्मत, सम्भार, रङ्करोगन तथा सरसफाइमा महानगरको ध्यान छ ।

प्रधानमन्त्रीको मोदीको भ्रमणका क्रममा महानगरले पूरा गर्नु पर्ने जिम्मेबारीलाई व्यवस्थित गर्न क्षेत्रगत कामको बाँडफाँड गर्दै १८ वटा उपसमिति गठन भएका छन् । ती उपसमितिले सम्पादन गर्नु पर्ने, गरेका, र गर्न बाँकी कामका विषयमा आइतबार महानगरको वैठक कक्षमा छलफल गरियो । महानगरका प्रमुख विद्याुिन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, कायममुकायम प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला र उपसमितिका संयोजकहरुवीच सम्पन्न छलफलमा तयारीका धेरै काम पूरा भएको बताइएको थियो ।

छलफलमा बोल्दै प्रमुख शाक्यले भन्नुभयो — पाहुनाको स्वागतमा कमी नगरौं, तर यसको नाममा एकछिन देखिने, पाहुना गइसकेपछि अवशेष बाँकी नै नहुने कुनै पनि काम नगरौं । सधै नागरिकलाई जस्तो सेवा दिएको छौं, त्यसलाई थप व्यवस्थित गरौं र त्यसबाट प्राप्त भएको अवस्थालाई निरन्तरता दिउँ । छलफलमा उपप्रमुख खड्गी श्रेष्ठले — सहरी सुन्दरता र तार व्यवस्थापनमा बढी गुनासो आइको जनाउँदै, यसतर्फ समयमै काम गर्न उपमितिलाई आग्रह गर्नुभयो ।

हामीले हाम्रा कामको प्रभावकारिता बढाउनु पर्छ । त्यसका लागि नियमित बजेटबाट के गर्न सकिन्छ, त्यो पहिले हेर्नोस्, यदि त्यसले नपुग्ने भए अपुग बजेटको कुरा गरौंला तर वेला यही हो भनेर खर्च नगर्नोस्, वैठकमा प्रमुख प्रशासकीय अधिकृत कोइरालाले उपसमितिका संयोजकहरुसँग आग्रह गर्नु भयो ।

भारतका प्रधानमन्त्री मोदी बैशाख २८ गते नेपाल आउँदै हुनुहुन्छ । पहिलो दिन प्रदेश नं. २ को जनकपुरबाट उहाँको नेपालका कार्यक्रम शुरु हुनेछन् । त्यसै दिन काठमाडौं आउने प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरुसँगको महत्वपूर्ण भेटघाट गर्नुहुनेछ । दोश्रो दिन अर्थात् बैशाख २९ गते मुक्तिनाथको दर्शन तथा जोमसोमको यात्रा गर्नुहुनेछ । त्यसपछि काठमाडौं फर्केपछि भारतीय राजदूतले आयोजना गर्नुभएको दिवा भोजमा सहभागी हुनुहुनेछ । त्यसपछि दिउँसो साढे २ बजे उहाँ काठमाडौं महानगरपालिकाले प्रधानमन्त्रीलाई गर्ने नागरिक अभिनन्दन तथा नगरको साँचो बुझाउने कार्यक्रमका लागि राष्ट्रिय सभा गृहमा पुग्नु हुनेछ । यस समारोहमा प्रधानमन्त्रीले करीव ४५ मिनेट समय विताउनु हुनेछ । कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरबासीका तर्फबाट नागरिक अभिनन्दन प्रदान गर्नुहुनेछ । त्यसपछि उहाँको स्वदेश फिर्ता हुने कार्यक्रम तय भएको छ ।

यसमा तपाइको मत