आ. व. २०७६/०७७ मा महानगरको आय व्यय

बन्दाबन्दीका कारण आय र व्यय दुवै क्षमतामा अबरोध

असार ११

काठमाडौं । काठमाडौं महानगरले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा ६ अर्ब ६ करोड ४८ लाख ५२ हजार ७९७ रुपैयाँ आम्दानी गरेको छ । आन्तरिक श्रोततर्फ ४ अर्ब १२ करोड ४४ हजार २ हजार ७९७ रुपैयाँ र बाह्य आम्दानीतर्फ १ अर्ब ९४ करोड ४ लाख ५० हजार आम्दानी भयो । आम्दानीलाई प्रतिशतमा राखेर हेर्दा आन्तरिकतर्फ ५४.५५ र बाह्यतर्फ ४६.३२ प्रतिशत हुन आउँछ ।

यस अवधिमा ११ अर्व ७४ करोड ९६ लाख ४५ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य थियो । यसमा आन्तरिक श्रोतबाट ७ अर्व ५६ करोड ६ लाख ३७ हजार रुपैयाँ संकलन गर्ने र बाह्य श्रोतबाट ४ अर्व १८ करोड ९० लाख ८ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको थियो । बिश्वव्यापी व्याधीका रुपमा फैलिएको कोभिड — १९ को संक्रमण नेपालमा पनि देखिन थालेपछि चैतबाट गरिएको बन्दाबन्दी (लकडाउन) का कारण अपेक्षित आम्दानी हुन नसकेको असार १० गते उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले नगर सभामा प्रस्तुत गर्नुभएको बजेटको समीक्षा खण्डमा उल्लेख गरिएको छ ।

बन्दाबन्दीले आयमा मात्र होइन, व्ययमा पनि प्रगति रोकेको छ । चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा महानगरले ४ अर्ब ७० करोड ३२ लाख ३७ हजार २९७ रुपैयाँ अर्थात् ३२.४८ प्रतिशत खर्च गरेको छ । यस बर्षका लागि चमती र मनोहरा जग्गा एकीकरण आयोजनाबाहेक १४ अर्ब ४७ करोड ८७ लाख ४२ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । यसमध्ये जेठ मसान्तसम्ममा चालुतर्फ १ अर्ब २७ करोड ६ लाख ११ हजार ९४ रुपैयाँ, पूँजीगत एवम् पूर्वाधार क्षेत्रमा ३ अर्ब ४३ करोड २६ लाख २६ हजार २०२ रुपैयाँ खर्च भएको छ । यसरी हेर्दा चालुतर्फ ६४.८५ प्रतिशत र पूँजीगत एवम् पूर्वाधारतर्फ २७.४२ प्रतिशत खर्च भएको देखिन्छ । यो विवरण उपप्रमुखले नगर सभामा प्रस्तुत गर्नुभएको समीक्षामा उल्लेख छ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत