काठमाडौं महानगरको आ. व. २०७६/०७७ का नीति तथा कार्यक्रमको समीक्षा

पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, सहरी सुबिधा वितरण, सम्पदा पुननिर्माण, अनुसन्धानमुलक बिकासलगायत क्षेत्रमा उपलब्धी


असार ८
काठमाडौं । आर्थिक बर्ष २०७६/०७७ धो अन्तिम चौमासिक अवधि कोभिड — १९ को महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) मा वित्यो । यस अवधिमा अत्यावश्यक सेवा नियमित गरिए भने अन्य प्रशासनिक सेवा पूर्ववत् सञ्चालन हुन सकेनन् । पूर्वाधार निर्माणका काम ठप्प रहे । जेष्ठ नागरिकलाई भत्ता वितरण गर्नेदेखि अन्य अन्य सामाजिक काम भने नियमित थिए । यसैबीच ०७७ असार ४ गते महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले आ. व. २०७७/०७८ का लागि नीति तथा कार्यक्रम गर सभामा प्रस्तुत गर्नुभयो ।

मेयर शाक्यले सभामा आ. व. ०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ०७६/०७७ का कार्यक्रमको समीक्षा गर्नुभएको थियो । आर्थिक बर्ष भौतिक पूर्वाधार कोभिड १९ का कारणबाट विगत तीन महिनादेखि मुलुक बन्दाबन्दीको अवस्थामा रहेकोमा हाल क्रमिक रुपमा सामान्यतर्पm उन्मुख भइरहेको महसूस भएतापनि परिस्थिति कुनै पनि बेला विषम हुन सक्ने देखिन्छ । महामारीबाट पूर्ण उन्मुक्ति कहिले हुन्छ यकिन गरी भन्न सकिने स्थिति नरहेकै बेला नीति तथा कार्यक्रम प्रस्ताव गरिएको थियो । व्याधीले समस्यामा पारेको जनजीवनलाई पूर्ववत् अवस्थामा ल्याउन प्रयासरत रहँदै आगामी बर्षका नीति प्रस्तुत गरिएको हो । आगामी बर्षको नीति तथा कार्यक्रमको प्राथमिकता जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रबद्र्धन र आवागमन ब्यबस्थापनमा विशेष प्राथमिकतामा राखिएका छन् । यी क्षेत्रहरुलाई लक्षमा राखेर कोभिड १९ प्रतिकार्य योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागु गर्ने र उपत्यकाका अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यकाव्यापी रुपमा कार्यान्वयनमा लैजान पहल गरिनेछ ।
आ. व. ०७६/०७७ का नीति तथा कार्यक्रमको समीक्षा

सामाजिक क्षेत्र
नेपाल सरकारले ज्येष्ठ नागरिकलाई उपलब्ध गराइएको सामाजिक सुरक्षा भत्तासँगै काठमाडौं महानगरपालिकाले स्थायी बसोबास गर्ने ७५ बर्ष उमेर पुगेका महिला र ८० वर्ष उमेर पुगेका पुरुषहरुलाई बार्षिक रु. १२ हजार महानगर बिशेष भत्ता घर–घरमै उपलब्ध गराइएको छ । त्यस्तै विभिन्न स्थानहरुमा ज्येष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र पाँच बर्ष मुनिका बालबालिकाहरुलाई साझा बसमा निःशुल्क यात्रा गर्ने व्यवस्था मिलाईएको छ ।

मानवीयताका काम
“भोकै कोही पर्दैन, भोकले कोही मर्दैन” भन्ने राष्ट्रिय आकांक्षा अनुरुप काठमाडौं महानगरपालिकालाई सडक आश्रित बेसहारा मानवमुक्त सहर बनाउने महाअभियान अन्तर्गत सडकमा कष्टकर जीवनयापन गरिरहेका सहयोगापेक्षी (मनोरोगी, असहाय, अशक्त) मानवहरुको संरक्षण तथा उद्धार सेवालाई दिगो र संस्थागत बनाउने कार्यको थालनी गरिएको छ । यस कार्यबाट अहिलेसम्म ६७६ जनाले आश्रय पाएका छन् । यस्तै १ हजार २४५ जनालाई पारिवारिक मिलन गराईएको छ । काठमाडौं महानगरपालिकालाई मानवीयताको नगर घोषणा गरी मानव अधिकारको संरक्षण तथा संम्बद्र्धनका कार्यक्रमअन्तर्गत यी काम गरिएका हुन् । यसका लागि नेपाली सेना, मानवसेवा आश्रम, नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यलाई संस्थागत गरिएको छ । वेसहारालाई राख्न मानव सेवा आश्रमका लागि सामाखुशी र बुढानीलकण्ठमा रहेका २ वटा भवनको भाडा महानगरपालिकाले बेहोर्दै आएको छ । उक्त आश्रमको दिगो ब्यबस्थापनको लागि सहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम भवन निर्माण प्रक्रियामा रहेको छ ।

स्वास्थ्य
सामुदायिक स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई विस्तार गरेर निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरेको छ । यी केन्द्रबाट सरकारले तोकेबमोजिमका औषधी निःशुल्क वितरण गर्ने गरिएको छ । महानगरको वडा नं. १५ डल्लुस्थित सामुदायिक अस्पतालको स्तरोन्नति कार्य अगाडि बढाएको छ । यस वडाबाट ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने ब्यबस्था मिलाइएको छ ।

महानगरबासी मृगौलाका बिरामीलाई डायलसिस सेवा सहज बनाउन नेपाली सेनासँगको सहकार्यमा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा २०७६ माघदेखि सेवाको थालनी गरिएको छ । कान्ति बाल अस्पताल तथा सहिद गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता गरेर खरिद प्रक्रिया अघि बढेको छ । महानगरपालिकाको सहयोगमा कान्ति बाल अस्पतालमा ब्लड सेपरेशन मेसिन जडान गर्ने कार्य हुने भएको छ । स्वास्थ्य सेवा (प्रि—हस्पिटल केयरसहितको अत्याधुनिक एवं प्रविधियुक्त एम्बुलेन्स सेवा सञ्चालन कार्यलाई निरन्त्तरता दिइएको छ । अहिलेसम्ममा एम्बुलेन्स सेवाबाट करीब १० हजार विरामीहरुले सेवा प्राप्त गरेका छन् । कोभिड १९ बाट प्रभावित ब्यक्तिहरुसमेत यो सेवाबाट लाभान्वित भएका छन् । काठमाडौं महानगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुको कामको कदर गर्दै सेवा सुविधामा बृद्धि र क्षमता अभिबृद्धिकालागि तालिमहरु सञ्चालन गरिएका छन् ।
कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँको बजेट ब्यवस्था गरी सबै वडा कार्यालय र विभागमार्फत आवश्यक सामाग्री (मास्क, हेण्ड स्यानिटाइजर, ग्लोभ, निर्मलीकरण, राहत, खाद्यान्न, प्रचार प्रसार आदि) खरिद गरी सेवा बितरण गरिएको छ । काठमाडौं महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सामाजिक परिचालक र महिला स्वयंसेविकाहरुको कोरोना बीमा गरिएको छ । यसका साथै जनप्रतिनिधिहरुको स्वास्थ्य बीमा गरिएको छ ।

शिक्षा
“प्राविधिक तथा ब्यावसायिक शिक्षाको बिस्तार, समृद्ध महानगर निर्माणको आधार” भन्ने आकांक्षालाई कार्यरुप दिन महानगरका ३ वटा सामुदायिक विद्यालयहरुमा ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई लक्षित गरी सिभिल ईन्जिनियरिङ्ग विषयको कक्षा सञ्चालन गरिएको छ । यस अन्तर्गत ५१४ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

यस शैक्षिक सत्रबाट विद्यालयहरुमा स्थानीय पाठ्यक्रम बनाई लागु गर्न कक्षा १ देखि ८ सम्मका लागि पाठ्यक्रम तयार भइसकेको छ । असल नागरिकका लागि नैतिक शिक्षा अभियानअन्तर्गत नेपाल बौद्ध परियति शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । महानगर क्षेत्रभित्रका ९२ सामुदायिक विद्यालयका खुला स्थानहरुलाई धुलोमुक्त बनाउने, फलपूmलको विरुवाहरु रोप्ने, लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण गर्ने, शुद्ध पिउने पानीको व्यवस्था गर्ने, खुला क्षेत्रमा पानी पुनर्भरण (रिचार्ज) गर्ने, फोहोरमैला राख्ने भाँडोको प्रवन्ध गर्ने, सबै बिद्यालयहरुमा बालमैत्री चित्र र महावाणीहरु लेख्ने एउटै रङ्ग लगाउनेलगायतका कार्यक्रम सञ्चालन गरिएको छ ।

बिकास निर्माण, सांस्कृतिक सम्पदा पुननिर्माण र साझेदारिता
विकास प्रक्रियामा दिगोपना, स्वामित्व र जनसहभागिता अभिवृद्धि गर्न विकेन्द्रीत विकास प्रारुपबमोजिम वडास्तरीय विकास योजना सञ्चालन गर्न वडाहरुलाई जनसंख्या, क्षेत्रफल, कर परिचालन र विकास अवस्थाको आधारमा वर्गीकरण गरिएको छ । यस बर्गीकरणअनुसार ठूला, मझौला र साना वडालाई क्रमशः ४ करोड ५० लाख रुपैयाँ, ३ करोड र २ करोड २५ लाख रकम निकासा गरी विकास योजनाहरु सञ्चालन गरिएका छन् ।

श्रम र उद्यमशीलता
श्रमिक सहकारीमार्पmत अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरु आबद्ध भई उत्पादन तथा स्वरोजगार कार्यक्रमको प्रारम्भ भएको छ । युवा लक्षित स्वरोजगार प्रबद्र्धन गर्न एउटै छानामुनि प्राविधिक सेवा दिने उद्देश्यले के—हब (काठमाडौं हब) को स्थापना तथा विस्तार गर्न संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम (युएनडिपि) सँग सहकार्यका लागि सम्झौता गरिएको छ । यसअनुसार काम पनि थालिएका छन् ।

सम्पदा र पुननिर्माण
काष्ठमण्डप, रानीपोखरी तथा धरहरा पुनःनिर्माण कार्यलाई छिटो बनाइएको छ । रानीपोखरी र काष्ठमण्डपको पुनर्निर्माण कार्य आगामी आर्थिक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दरबार हाइस्कूल भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

हनुमानढोकादेखि स्वयम्भूसम्मको सम्पदा पदमार्गको विकास, संरक्षण र सम्वद्र्धनका लागि बृहत गुरुयोजना तयार गरी कार्यान्वयन शुरु गरिएको छ । ऐतिहासिक तथा वातावरणीय दृष्टिले महत्वपूर्ण रहेका कमलपोखरी, शंखपार्क, कोटेश्वर महादेवस्थान, चेसपार्क संरक्षण र सम्वद्र्धनको काम अघि बढाइएको छ । शोभाभगवती, ईन्द्रायणी, गहनापोखरी, म्हेपी, राजकृति महाबिहार, पलेस्वाँ पुखु, कंकेश्वरीको गुरुयोजना तयार गरेर सोबमोजिम कार्यान्वयन शुरु गरिएको छ । आफ्नो क्षेत्रभित्रका मूर्त अमूर्त सम्पदाको संरक्षण तथा संम्वद्र्धन कार्यमा महानगरपालिका निरन्तर क्रियाशील छ । कीर्तिपुण्य महाविहार दुकु द्यो, दुर्गा विनायक मन्दिर, मुगःद्यो, वलाछें त्वाः छें, स्वयम्भू स्तुप भजनघर जस्ता सांस्कृतिक सम्पदाको भौतिक संरचना पुनःनिर्माण सम्पन्न भइसकेका छन् । सत्यनारायण मन्दिर, लयाश्वर मन्दिर, देवी नाच द्यो छें, कोटेश्वर महादेव स्थानको भगवती मन्दिर, जनबाहा दिगी छें, किलाघः त्वाःछें, न्हय्मु त्वाःछें, वटु भद्रकाली मन्दिर, भगवान बहाल, गोरखनाथ मन्दिर परिसर, पञ्चेधारा, टेबहालस्थित क्वाःपा द्यो छें, क्वःहिटी सत्तल तथा बहाल, मणीसंघ महाविहार, दिही प्याखं द्यो छें, परम्परागत लायकु सा गुठी भवन, नाट्येश्वरी गुठी भवन, नित्यनाथ गुठी भवन, लखतीर्थ परिसर आदिको पुनःनिर्माण कार्य अघि बढेको छ ।

परम्परागत बाजा सिकाउने गुरुहरुलाई सम्मान गरिएको छ । ऐतिहासिक सोह्रखुट्टे पाटी पुनस्र्थापना गर्ने कार्य सम्पन्न हुने चरणमा छ । विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी बिकास गुरुयोजनाअन्तर्गत लुम्बिनीमा रहेको नेपाल बज्रयान महाबिहारमा मौलिक परम्परागत प्रवेशद्वार, झ्याल तथा टुँडाल निर्माणको लागि नेपाल परम्परागत बौद्ध धर्म संघलाई, काठमाडौंमा रहेको अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा धम्महल भवन निर्माणका लागि केन्द्रलाई र भवन निर्माणका लागि बागबजारस्थित बुद्धबिहारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
काठमाडौंको ऐतिहासिक एवं साँस्कृतिक पर्व ईन्द्रजात्रा (येंया पुन्ही) का अवसरमा महानगरको भगिनी सम्बन्ध भएका विभिन्न अन्तर्राष्ट्रिय सहरहरुका मेयर तथा विशिष्ट पाहुनाहरुलाई आमन्त्रण गरी ईन्द्रजात्रा पर्वलाई अन्तर्राष्ट्रियकरण गरिएको छ । ईन्द्रजात्रा पर्वलाई संस्थागत र दिगोरुपमा सञ्चालन गर्न काठमाडौं महानगरपालिकाको २ करोड रुपैयाँ, नेपाल सरकारको १ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकारको १ करोड रुपैयाँ र गुठी संस्थानको ५० लाख रुपैयाँ गरी रु. ५ करोड रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । ईन्द्रजात्राबारे विस्तृत खोजमूलक दस्तावेज प्रकाशनको अन्तिम चरणमा रहेको छ ।

प्रजातन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरुको उच्च सम्मान गर्ने उद्देश्यले सिफलमा सहिद धर्मभक्त माथेमाको, शोभा भगवतीमा सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको पूर्णकदको सालिक प्रतिस्थापन गर्ने काम सम्पन्न भएको छ ।

पूर्वाधार निर्माण
पैदल यात्रुलाई सहज रुपमा आवात–जावत गर्नका लागि मीनभवनस्थित बागमती नदीमा र धोबीखोला (कालोपुल) मा गरी २ वटा फुटब्रिज निर्माण सम्पन्न गरिएको छ । माईतीघर, जयवागेश्वरी तथा चावहिलमा आकाशे पुल निर्माण कार्य अगाडि बढेको छ । वडा नं. ३ महाराजगञ्जमा नारायण गोपाल पेमला सुरमय गीतगङ्गा भवन निर्माण भईरहेको छ ।

माईतीघरदेखि तीनकुनेसम्मको फुटपाथमा दुबैतिर डेडिकेटेडसाइकल लेन तथा फुटपाथ स्तरोन्नतिको विस्तृत डिजाइन गरेर निर्माण प्रक्रियामा रहेको छ । सिंहदरबार पश्चिम ढोकादेखि भद्रकालीसम्म दुबै साइडको फुटपाथ सौन्दर्यीकरण योजना अघि बढेको छ । वडा ६ बौद्ध रामहिटीमा महानगर बारुणयन्त्र भवन तथा तालिम केन्द्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ ।

नगर साझेदारीका कार्यक्रम
नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं जिल्लाका १० वटा नगरपालिकाहरु तथा मध्यपुर थिमी नगरपालिकासँग सम्झौता गरी पार्क निर्माण कार्य अगाडि बढेको छ । यस अन्तर्गत टोखा नगरपालिकामा बौडेश्वर बाल उद्यान, कीर्तिपुर नगरपालिकामा युद्ध स्मारक पार्क, बुढानीलकण्ठ नगरपालिकामा बुढानीलकण्ठ पार्क, तारकेश्वर नगरपालिकामा तारकेश्वरधाम ऐतिहासिक पार्क, नागार्जुन नगरपालिकामा गणेशमान स्मृति पार्क निर्माण भइहेका छन् । चन्द्रागिरी नगरपालिकामा मदन भण्डारी पार्क, दक्षिणकाली नगरपालिकामा बहुउद्देश्यीय उद्यान, गोकर्णेश्वर नगरपालिकामा राष्ट्रिय सहिद तथा शान्ति पार्कक्षेत्रभित्र गोकर्णेश्वर पार्क, कागेश्वरी मनोहरा नगरपालिकामा कागेश्वरी धाम उद्यान, शंखरापुर नगरपालिकामा बज्रयोगिनी क्षेत्र हरित उद्यान र मध्यपुर थिमी नगरपालिकामा शंखधर शाख्वा स्मृति सामुदायिक पार्क रहेका छन् ।
काठमाडौं उपत्यकाको साझा सवालहरुमा एकीकृत धारणा तथा योजना निर्माण गर्न उपत्यका नगरपालिका फोरम गठन गरेर आपसी सहकार्य र समन्वयलाई संस्थागत गरिएको छ ।

कार्यालय भवन निर्माण
काठमाडौं महानगरपालिकाको आफ्नै केन्द्रीय कार्यालय तथा वडा कार्यालय भवनहरुको निर्माण गर्ने प्रतिबद्धता अनुरुप अहिलेसम्म वडा १८ को कार्यालय भवन निर्माण सम्पन्न भइसकेको छ । वडा नं. ३, ४, ९, १४ र २६ मा वडा कार्यालय भवन निर्माण सम्पन्न हुने चरणमा रहेका छन् । त्यस्तै वडा नं. २, ६, ८, १२, १६, २१, २२, २९ र ३१ को कार्यालय भवनको डिजाइन भएर निर्माण गर्न खरिद प्रक्रियामा गएको छ । वडा नं. ५, ६, ७, १०, ११, १५, १६ र ३२ मा तला थप तथा स्तरोन्नति गर्ने काम भइरहेको छ । वडा नं. १६ को नयाँ कार्यालय भवनका लागि आवश्यक जग्गा खरिद भइसकेको छ । वडा नं. २३ र ३० का लागि जग्गा र घरजग्गा खरिद प्रक्रियामा रहेको छ ।
नयाँ सडक, दरबारमार्गलगायत मुख्य–मुख्य सडकमा स्मार्ट सवारी पार्किङ्ग सञ्चालन गरिएको छ । भृकुटी मण्डपमा मेगाहलको डिजाइन सहितको अवधारणा–पत्र तयार भई सहमतिका लागि नेपाल सरकारसँग अनुरोध गरिएको छ ।

सुबिधा वितरण
शुद्ध पिउने पानीको सुविधा दिन काठमाडांै उपत्यका खानेपानी ब्यवस्थापन बोर्डसँगको सहकार्यमा स्वयम्भू, शंखधर पार्क, बालाजु पार्क, शंख पार्क र मीनभवनमा वाटर एटिएम राख्न सहमति पत्रमा हस्ताक्षर गरेर काम अगाडि बढिसकेको छ । महानगरपालिका क्षेत्रमा अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्न शहरी क्षेत्रको मुख्य–मुख्य मार्ग, चोक, गल्ली तथा वडा कार्यालयहरुमा सीसीटिभी क्यामेरा राख्ने कार्य सम्पन्न भएको छ ।
महानगरपालिकामा ४ वटा दमकल सञ्चालनमा रहेकोमा काठमाडौं उपत्यकाको बढ्दो सहरीकरणलाई मध्यनजर गरी थप ३ वटा दमकल खरिद प्रक्रियामा रहेको छ ।

वातावरण सुधार तथा फोहोरमैला व्यवस्थापन
काठमाडौं महानगरलाई धुलोमुक्त बनाउने अभियानअन्तर्गत थप २ वटा खरिद गरि ९ वटा बु्रमर सञ्चालनमा रहेका छन् । रिचार्ज काठमाडौं अभियान अन्तर्गत १५ र २६ वडालगायतका अन्य स्थानहरुमा आकाशेपानी पुनभरण कार्य शुरु भएको छ ।

अनुसन्धानमुलक बिकास
मेयर्स रिसर्च फेलोसिप कार्यक्रमअन्तर्गत प्रस्ताव आह्वान गरेर महानगरलाई उपयोगी हुने विभिन्न विषयमा खोज तथा अनुसन्धान गर्ने कार्य प्रारम्भ गरिएको छ ।

करियर क्याम्प कार्यक्रमअन्तर्गत यस बर्ष ३१ जना स्नातक तह उत्तीर्ण सिभिल इञ्जिनियर तथा आर्किटेक्टलाई ६ महिनाको कार्यगत तालिम प्रदान गरिएको छ । यसबाट ६५ वटा पार्क, पाटी, मन्दिर, सामुदायिक भवन, वडा कार्यालयहरुको डिजाईन तथा लागत ईष्टिमेट तयार गरेर कार्यान्वयनमा लगिएको छ । काठमाडौं महानगर क्षेत्रभित्र निर्माण गरिने भौतिक पूर्वाधार सडक, ढल, पेटी, खानेपानी, बिद्युत, टेलिफोन आदिको गुणस्तरीयता कायम गर्न बिभिन्न निकायहरुबीच समन्वयकारी भूमिका निर्वाह गरिएकोे छ । कोटेश्वर तीनकुनेको जग्गामा बुद्धपार्क निर्माणको गुरुयोजना तयार भइसकेको छ । उक्त स्थानमा अहिलेका लागि (अल्पकालीन रुपमा) हरियालीको विकास गरिएको छ । २३ वडामा यें महानगरपालिका सहिद धर्मभक्त माथेमा पार्क निर्माण तथा पूर्णकदको सालिक प्रतिस्थापन, ३१ वडामा हनुमान पार्क, गणेश मन्दिर पार्क, लोकेश्वर महादेव मन्दिर परिसरमा पार्क निर्माण सम्पन्न भईसकेको छ ।

वडा ४ मा टुँडालदेवी पार्क र टुसाल पार्क निर्माण भइसकेको छ । त्यसैगरि विभिन्न वडामा मदन भण्डारी पार्क, सुकेधारा कृष्ण गल्ली पार्क, बाँसबारी इकोपार्क, टुँडालदेवी पार्क, न्ह्योखा पार्क, शान्ति नमुना पार्क, गौरीघाट हरियाली पार्क, धोबीखोला पार्क, त्रिपुरेश्वर ज्येष्ठ नागरिक पार्क, कुलेश्वर पार्क, कुलेश्वर आवास क्षेत्र पार्क, बागमती नगर पार्क, रानीबारी पोर्पा अजिमा पार्क, लगं पार्कलगायतका पार्कहरुको निर्माण कार्य शुरु भईसकेको छ । महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा रहेका अतिक्रमित सार्वजनिक जग्गाहरुको पहिचान गरी अतिक्रमण हटाउने र संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाइएको छ । मेयर उज्यालो कार्यक्रम अन्तर्गत सार्वजनिक स्थल तथा सडकहरुमा स्वचालित सडक बत्ती जडान गरिएका छन् ।

कानून तथा न्याय
महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडा कार्यालयहरुमा मेलमिलाप केन्द्र स्थापना गरी मेलमिलाप मार्पmत विवाद निरुपण गर्ने कार्यक्रम अन्तर्गत सवै वडाबाट २÷२ जना र केही कर्मचारी गरी ७४ जनालाई मेलमिलाप सम्वन्धी ४८ घण्टाको आधारभूत तालिम दिइएको छ । सबै मेलमिलाप केन्द्रहरुका लागि १४४ जना मेलमिलापकर्ता सूचिकृत भई वडा तहमा समेत मेलमिलाप पद्धति स्थापित भएको छ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत