महानगरको बार्षिक नीति तथा कार्यक्रम नगर सभाबाट पारित

५ वटा मुख्य क्षेत्र २५८ बुँदामा नीति , कार्यनीति तथा कार्यक्रम

असार ६

काठमाडौं । काठमाडौं महानगरको सातौ अधिवेशनबाट आर्थिक बर्ष २०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । असार ४ गते राष्ट्रिय सभा गृहमा आयोजना गरिएको नगर सभाको पहिलो सत्रमा, बैठकका अध्यक्ष एवं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्ताव गर्नुभएको थियो । त्यसपछिको सत्रमा कार्यपालिका सदस्यहरुले प्रस्तावमाथि आफ्ना धारणा राख्नुभएको थियो ।

५ क्षेत्रमा नीति र त्यसअन्तर्गत बिभिन्न शीर्षकमाकार्यनीति गरी २५८ बुँदामा नीति तथा कार्यक्रम समेटिएका छन् । आगामी बर्षको नीति तथा कार्यक्रममा जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रबद्र्धन र आवागमन ब्यबस्थापनलाई प्राथमिकतामा राखिएको छ ।

गएकोे बर्षमा सम्पन्न कामलाई ४६ वटा बुँदामा समीक्षा गरिएको नीति तथा कार्यक्रमको ४७ औं बुँदामा महामारीले पारेको प्रभाव र आगामी कार्यक्रम तर्जुमाका प्राथमिकताका कुरा उल्लेख गरिएको छ ।

काठमाडौं उपत्यकालाई सिङ्गो समृद्ध सहरको रुपमा विकास गर्न अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यका एकीकृत विकास कार्यक्रम अघि बढाउने, विकासात्मक काम र वितरण गर्ने सबै खालका सेवालाई सुशासनको प्रत्याभूति दिने गरी सुलभ तथा गुणस्तरीय बनाउन विद्युतीय पद्धतिमा क्रमशः रुपान्तरण गरिने नीतिलाई समग्र नीतिका रुपमा लिइएको छ ।

महानगरपालिकाको आवधिक योजना तयार गरी कार्यान्वयन गर्ने, दिगो एकीकृत विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरुको अनुसरण गर्ने,े टुलकिट, म्यानुअल, मापदण्ड तयार गरी जारी गरिनेछ । महानगरपालिकाले कार्यान्वयन गरेका परियोजनाहरुको निर्माण सुपरीवेक्षण पद्धतिलाई वैज्ञानिक, पारदर्शी तथा वास्तविक समय (रियल) मा आधारित बनाइनेछ, समग्र नीतिमा उल्लेख छ । सहरी व्यवस्थापन र राजस्व प्रशासनकालागि भौगोलिक सूचना प्रविधिमा आधारित एकीकृत सहरी नक्सा तथा महानगर सूचना प्रणाली विकास गरिनेछ । असल निर्माण अभ्यास (गुड कन्स्ट्रक्सन प्राक्टिस) प्रबद्र्धनको लागि विभिन्न प्राविधिक, जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरिनेछन् । महानगरपालिकाबाट सञ्चालित जग्गा एकीकरण आयोजनाहरुमध्ये नयाँबजार आयोजना यसै आर्थिक बर्षभित्र तथा चःमती र मनोहरा जग्गा एकीकरण आयोजना आगामी दुई बर्षभित्र सम्पन्न गरिनेछ ।

नीति पारित भइसकेपछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भन्नुभयो — यस बर्षका नीति तथा कार्यक्रमलाई सूत्रमा आधारित कार्यक्रमिक बजेट राख्छौं । यसले कार्यक्रम कार्यान्वयनमा सुनिश्चित गर्छ । उहाँकाअनुसार सूचकमा आधारित कार्यक्रम भएकोले नतिजाउन्मुख भयो कि भएन हेर्नका लागि अनुगमन तथा निरीक्षण गर्न पनि सहज हुनेछ । यसबाट भन्न र गन्न सकिने प्रगति हुनेछ ।

आर्थिक तथा रोजगारी क्षेत्रअन्तर्गत कृषि खाद्य तथा पशु, सहकारी, उद्यमशीलता तथा रोजगार प्रबर्धन, उद्योग तथा व्यापार, पर्यटन, सार्वजनिक निजी सामुदायिक साझेदारी नीति अन्तर्गत कार्यनीति पारित भएका छन् ।

यसैगरी सामाजिक बिकासअन्तर्गत शिक्षा, जनस्वास्थ्य, महिला बालबालिका, किशोर किशोरी, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा समाज कल्याण, खानेपानी तथा सरसफाइ, संस्कृति तथा सम्पदा, युवा तथा खेलकुद, सामाजिक बिकास, सुरक्षा तथा संरक्षण नीति तय गरिएका छन् ।

सहरी पूर्वाधार तथा योजना बिकास क्षेत्रअन्तर्गत सहरी पूर्वाधार बिकास, सहरी यातायात व्यवस्थापन, सहरी आवागमन, सूचना तथा सञ्चार, सहरी बिकास तथा भवन मापदण्ड रहेका छन् ।

स्वच्छ हावा, स्वस्थ्य जीवन नारालाई सार्थक बनाउन वातावरण तथा फोहोरमैला व्यवस्थापन क्षेत्रअन्तर्गत फोहोरमैला व्यवस्थापन, प्रदुषण नियन्त्रण, हरियाली प्रबर्धन कार्यनीति छन् । यस्तै जलबायु परिवर्तन अनुकुलन, विपद् व्यवस्थापन नीतिलाई पनि बार्षिक नीति कार्यक्रममा प्राथमिक क्षेत्रमा राखिएको छ ।

संस्थागत बिकास तथा शुशासन नीतिअन्तर्गत संस्थागत तथा मानव संशाधन बिकास, अन्तरराष्ट्रिय सम्बन्ध बिस्तार, राजस्व परिचालन तथा बित्तिय व्यवस्थापन नीति र शुशासन तथा सुरक्षा कार्यनीति रहेको छन् ।

महामारीको विषम परिस्थितिसँग जुध्दै काठमाडौंको ऐतिहासिक, सांस्कृतिक र समुन्नत बिरासतलाई वर्तमान र भविष्यसंग जोड्न महानगरले नेतृत्व गर्नेछ । नीति तथा कार्यक्रममा भनिएको छ — जनताको सापेक्ष विकासका चाहना पुरा गरेर समृद्धितर्फ लैजाने, स्थानीय सरकार र स्थानीयवासी बीचको सुमधुर सम्बन्ध कायम गर्ने, आधुनिक प्रविधि र मौलिक पहिचानको सम्मिश्रणवाट काठमाडौंलाई सफा, सुन्दर, स्वस्थ, सुरक्षित, साँस्कृतिक र जीवन्त सहर बनाउने काममा महानगरले निरन्तर प्रयन्त गरिरहेको छ । यस अवसरलाई सदुपयोग गर्दै सम्पूर्ण महानगरवासीलाई स्वच्छ, निष्पक्ष, न्यायपूर्ण र प्रतिबद्ध नेतृत्व प्रदान गर्नेछ ।

बार्षिक नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्न तलको लिङ्क थिच्नुहोला

http://kathmandu.gov.np/ne/content/%E0%A4%95%E0%A4%BE%E0%A4%A0%E0%A4%AE%E0%A4%BE%E0%A4%A1%E0%A5%8C%E0%A4%82-%E0%A4%AE%E0%A4%B9%E0%A4%BE%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE-%E0%A4%86%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A4%BF%E0%A4%95-%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AD%E0%A5%AD%E0%A5%AE-%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF-%E0%A4%A4%E0%A4%A5%E0%A4%BE-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE-%E0%A5%A4

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत