काठमाडौं उपत्यकाको प्रवेशद्वार सिल गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्राचार गर्ने निर्णय गर्दै महानगरको ४६ औं कार्यपालिका बैठक सम्पन्न

श्रममा आधारित राहत वितरण कार्यबिधि बनाएर श्रममा आधारित राहत वितरण हुने


जेठ ४

काठमाडौं । काठमाडौं उपत्यका प्रवेशमा कडाइ गर्न नाका सिल गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखी पठाउने निर्णय गर्दै काठमाडौं महानगरपालिकाको ४६ औं बिशेष कार्यपालिका बैठक सम्पन्न भएको छ । जेठ ४ गते आइतबार राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख एवं कार्यपालिका बैठकका अध्यक्ष बिद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न बैठकले उपत्यकामा सम्भावित कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न यसप्रकार निर्णय गरेको हो । हामीले उपत्यकाबाहिर भएका मानिसलाई महामारी नियन्त्रण नहुञ्जेल उपत्यका नआउन र भित्र भएकालाई बाहिर नजान आग्रह गरेका थियौं । केही मानिसहरु अनावश्यक रुपमा आवतजावत गरेकाले उपत्यका पनि जोखिममा प¥यो । प्रमुख शाक्यले भन्नुभयो — अनुरोधको पालना नभएपछि कार्यपालिका बैठकबाट हामीले उपत्यका प्रवेश गर्ने नाका सिल गर्न, अत्यावश्यक कामले उपत्यका आउनेहरुको प्रवेश बिन्दुमा नै परीक्षण गरेर नेगेटिभ भए मात्र आउने प्रबन्ध मिलाउन र लुकीछिपी उपत्यका प्रवेश गर्ने र गराउनेहरुलाई कानुनी कारवाही गर्न गृह मन्त्रालयलाई अनुरोध गर्नेलगायत निर्णय गरेका छौं ।

महामारी नियन्त्रण गर्न कति समय लकडाउनमा जानु पर्ने हो अहिले भन्न सक्ने अवस्था छैन । कोही अपरिचित मान्छे देखियो भने शंका गर्नु पर्ने अवस्था छ । अहिले पनि ठाउँ ठाउँमा, टोल टोलमा बाँस राखेर सडक अवरोध गर्ने घटना देखिने गरेका छन् । प्रमुख शाक्यले भन्नुभयो — सडक अवरोध गर्न महानगरले कसैलाई पनि अनुमति दिएको छैन ।

बैठकमा क्वारेन्टाइन सञ्चालन गर्ने, सार्वजनिक सेवामा आवद्ध व्यक्तिले अनिवार्य र निःशुल्क तथा सर्वसाधारणले निःशुल्क तथा सःशुल्क परीक्षण गर्ने, सःशुल्क कोरोना परीक्षणका लागि निजी क्षेत्रका स्वास्थ्य प्रदायकलाई प्रोत्साहित गर्नेलगायत निर्णय भएका छन् ।

जिल्ला बाहिरबाट आउने व्यक्तिको विवरण अद्यावधिक गर्ने, सवारी पास दिँदा पास लिने व्यक्ति कुन पालिका, वडा, टोलमा जाने हो, घरधनीको सम्पर्क ठेगाना के हो? लगायतका विवरण लिनुपर्ने, र यस प्रकारको विवरण सम्बन्धित महानगरलाई उपलब्ध गराउन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने पनि निर्णय भएको छ । आउने मान्छेको निगरानी गर्न विवरण आवश्यक पर्ने भएकोले पास लिनेको विवरण महानगरलाई उपलब्ध गराउन आग्रह गर्नु परेको प्रमुख शाक्यको भनाइ छ ।

कोरोना भाइरस नियन्त्रणका लागि अहिलेसम्म भए गरेका कामको मुल्याङ्कन गर्दै बैठकले अब उपलब्ध गराइने राहत प्याकेज श्रममा आधारित बनाउने निर्णय गरेको छ । यसका लागि कार्यबिधि तर्जुमाको काम शुरु भइसकेको छ ।

बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — लकडाउनका समयमा संक्रमणको सम्भावना भएका व्यक्तिलाई राख्न वडास्तरीय क्वारैन्टाइन स्थापनामा जोड दिँदै लकडाउनपछिको आर्थिक गतिबिधिलाई सहज बनाउन राजस्व परामर्श समितिमा छलफल चलाउन थालिएको बताउनुभयो । उपत्यका नाकाबाहेक गल्लीहरुको प्रयोग हुन थालेकोले यसतर्फ सम्बन्धित स्थानीय तह र संघ सरकारको पनि ध्यान जानु पर्ने उहाँको भनाइ थियो ।

बैठकमा प्रबक्ता एवं वडाध्यक्ष ईश्वरमान डंगोल, वडाध्यक्षहरु नीलकाजी शाक्य, मचाराजा महर्जन, नविन मानन्धर, शुद्धकुमार ंडंगोल, रामकुमार के. सी., न्हुच्छेकाजी महर्जन, कार्यपालिका सदस्यहरु रश्मी खड्का र हीरादेवी पोखरेललगायत बक्ताले कोरोनाको जोखिम न्युनीकरणका प्रयास र आगामी सोचका बिषयमा अनुभव तथा सोच प्रस्तुत गर्नुभएको थियो ।

छलफलमा बजार अनुगमन, नाका व्यवस्थापन, लकडाउन पछिको नियमित कामका लागि कार्ययोजना, बाहिरबाट काठमाडौं प्रवेश गर्नेहरुमाथि संक्रमण शंका निवारण, थप मानिसहरु आउन नदिने प्रयास, घर भाडामा सरकारले दिने भनेको बहाल छुटमा महानगरले पूरा गर्नुपर्ने दायित्व र निर्णय, पूर्वाधार र भवन निर्माणसँग सम्बन्धित कामलाई नियमित गर्नेलगायत बिषय उठान भएका थिए । यसैगरी अनुगमन समितिबाट आन्तरिक कामको अनुगमन गरेर सम्पन्न भएका कामको लेखाजोखा तथा सुधारका प्रयास सुझाउनु पर्ने बिषयमा पनि छलफल भएको थियो ।

सबै वडाका काममा एकरुपता कायम गराउन, राहत वितरण तथा व्यवस्थापनमा आपसी सहयोग आदानप्रदान गर्न सबैबाट समान प्रयत्न हुनुपर्ने, अन्तरराष्ट्रिय उडानबाट र टाढाबाट काठमाडौं बस्न आउनेहरुको विवरण सम्बन्धित वडामा तत्काल अद्यावधिक गराउने प्रणालीको बिकास गर्ने, सम्भावित द्वन्द्वप्रति समयमै सचेत हुनुपर्ने, स्थानीय प्रशासन र प्रहरीसँगको सहकार्य बलियो बनाउँदै जानु पर्ने बिषयमा कार्यपालिका सदस्यहरुको बलियो जोड थियो ।

अहिलेसम्म राहत वितरसणका लागि अबलम्बन गरिएको एकद्वार प्रणालीबाट सकारात्मक परिणाम आएको बैठकको निष्कर्ष थियो । वडामा निश्चित बर्ग र समुदायलाई राहत दिन्छौं भन्ने पनि आएका छन् । यसले सामाजिक बिभेद बढाउँछ । त्यसैले कसैले पनि वडाको अनुमति वा स्वीकृति बिना राहत वितरण गर्न नपाउने अभ्यासलाई निरन्तरता दिइने छ ।
कार्यपालिकाका निर्णयलाई महानगरले प्रेस बिज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । बिज्ञप्तिको पूर्ण पाठको विवरण यस्तो छ घ

प्रेस विज्ञप्ति


काठमाडौँ महानगरपालिकाको मिति २०७७।२।४मा बसेको छयालीसौं विशेष नगर कार्यपालिका बैठकले कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण सम्बन्धमा देहायबमोजिम निर्णय गरेको छ ।

क) कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को अवधिमा उपत्यका प्रवेश गर्ने प्रवेश विन्दु (नाका) हरुबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोग गरी मानिसहरु उपत्यका प्रवेश गर्ने क्रम नरोकिएको र यसले काठमाडौंमा कोरोना भाइरस संक्रमणको खतरा वढ्दै गएकोले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखी पठाउने ।

ख) लकडाउनको अवधिमा कोही व्यक्ति अत्यावश्यक कामका लागि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्नुपर्ने भए निजको प्रस्थान विन्दुमै कोरोना भाइरस सम्बन्धी स्वास्थ्य परीक्षण गरी कोरोना भाईरस नभएको पुष्टि भएपछि मात्र उपत्यकामा प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउन नेपाल सरकार गृह मन्त्रालयलाई अनुरोध गर्ने ।

ग) लकडाउनको उलंघन गरी अनुमति नलिई लुकिछिपी काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्ति र निजलाई सहयोग पु¥याउने व्यक्तिलाई समेत उच्च निगरानी गरी कानुनबमोजिम कार्वाही गर्न नेपाल सरकार गृह मन्त्रालयलाई अनुरोध गर्ने ।

घ) नेपाल सरकारबाट जारी कोेरोना भाइरस (कोभिड — १९) सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ बमोजिम काठमाडौं महानगरपालिका क्षेत्रमा आवश्यक संख्यामा क्वारेन्टाइन सञ्चालन, व्यवस्थापनगर्न र आवश्यकतानुसार सःशुल्क क्वारेन्टाइन समेत सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखी पठाउने ।

ङ) कोभिड १९ संक्रमणको विस्तारलाई प्रभावकारी ढंगले रोकथाम गर्न अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा संलग्न जनप्रनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वयमसेवकहरुलाई निःशुल्क र सर्वसाधारणका लागि निःशुल्क एवं सशुल्क कोरोना भाइरस सम्बन्धी परीक्षणको अविलम्ब व्यवस्था मिलाउन नेपाल सरकारलाई अनुरोध गर्ने ।

च) अत्यावश्यक कामका लागि काठमाडौं प्रवेश गर्न संघीय मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयहरुबाट जारी अनुमतिपत्र (पास) बाट काठमाडौं प्रवेश गर्ने व्यक्तिको विवरण अद्यावधिक गरी निजको निगरानी गर्न आवश्यक देखिएकोले सम्बन्धित निकायले पास जारी गर्दा नै निजहरु काठमाडौंमा आई बसोबास गर्ने पालिका, वडा, टोल, सम्पर्क फोन नं. र घरधनीको नामसहितको विवरण लिनुपर्ने र सो विवरण काठमाडौं महानगरपालिकालाई सम्वन्धित कार्यालयलाई उपलब्ध गराउने आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई लेखी पठाउने ।

छ) लक डाउनको अवधिमा काठमाडौंमा बसोबास गर्ने कोही पनि भोकै बस्न नपरोस भन्ने उद्देश्यले कामपाले सबै वडाहरुमार्फत राहत वितरणको कार्य सञ्चालन भइरहेकोमा असहाय व्यक्तिहरु वाहेक दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक र बेरोजगारका लागि तोकिएबमोजिम श्रममा आधारित राहत सहयोग मात्र वितरण गर्ने ब्यवस्था गर्दा दिगो हुने हुंदा सो का लागि कार्यविधि तयार गरी कार्यान्वयन गर्ने ।

ज) कोभिड १९ को संक्रमण वढ्दै गएको र यसका लागि लकडाउनको अवधि पनि थप हुँदै गएको सन्दर्भमा समाजमा चोरी, घरेलु हिंसा, मानसिक रोग जस्ता सामाजिक समस्याहरु देखा पर्ने सम्भावना देखिएकोले यसको रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायको भूमिका र सक्रियता थप प्रभावकारी बनाउन गृह मन्त्रलायलाई अनुरोध गर्ने ।

झ लकडाउनको अवधिमा दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन काठमाडौं महानगरपालिका क्षेत्रभित्रको औषधि, ग्याँस र खानेपानी पसलवाहेक अन्य खाद्यान्न, फलफूल र तरकारी पसलहरु दैनिक विहान १० बजेसम्म मात्र सञ्चालन गर्न आवश्यक समन्वय सम्वन्धित निकायवाट गर्ने गराउने ।

ञ) काठमाडौं महानगरपालिकाका सबै वडा समितिहरुले लक डाउनको अवधिमा विदेश÷उपत्यकावाहिरबाट आएर आफ्नो वडामा बसोबास गर्दै आएका व्यक्तिको विवरण तोकिएको ढाँचामा राख्ने, उनीहरुकोे निगरानी गर्ने, स्वास्थ्य परीक्षण गरे नगरेको विवरण अद्यावधिक गर्ने र सो सम्बन्धी एकीकृत विवरण वडा कार्यालयहरुले प्रशासन विभागमा पठाउने व्यवस्था मिलाउने ।

ट) कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाबाट भएका समग्र कार्यहरुको अनुगमन गरी सोको प्रतिवेदन नियमित रुपमा प्रमुख समक्ष पेश गर्न काठमाडौं महानगरपालिकाको अनुगमन समितिलाई निर्देशन दिने ।


(ईश्वरमान डंगोल)
प्रवक्ता
काठमाडौं महानगरपालिका

५ जेष्ठ, २०७७

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत