रुवेला—दादुरा खोप कार्यकर्ताको अभिमुखीकरण शुरु

चैत्र १९ गतेदेखि २९ गतेसम्म २६७ खोप केन्द्रबाट करीब ७० हजार बालबालिकालाई खोप दिने काठमाडौं महानगरको लक्ष्य

DSC_4651चैत्र ३

काठमाडौं । महानगरले रुवेला दादुरा खोप कार्यकर्ताका लागि अभिमुखीकरण शुरु गरेको छ । आजबाट शुरु भएर ३ दिन चल्ने कार्यक्रममा ८० जना खोप कार्यकर्ता सहभागी हुनेछन् ।

अभिमुखीकरणमा खोप सम्बन्धि बिद्यमान अवस्था, परामर्श, खोप अभियानको आवश्यकता, खोप सेसन तयारी र सञ्चालन, खोपपश्चात् देखिने अबाञ्छित घटना (एईएफआइ — एडभर्स इभेन्टस् फलोइङ् इम्युनाइजेसन), जोखिम व्यवस्थापन लगायतका बिषय समावेश गरिएको छ । अभिमुखीकरण कार्यक्रममा महानगरका खोप अधिकृत सूर्य खड्का, जनस्वास्थ्य अधिकृत मञ्जु मास्के, बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का परामर्शदाता डा. भेषराज पोखरेल र डब्लुएचओका सर्भलेन्स मेडिकल अफिसर डा. सागर शाक्यको प्रस्तुति रहनेछ ।

चैत्र १९ गतेबाट शुरु हुने खोप कार्यक्रम महानगरका ३२ वडालाई ३ भागमा बाँडेर कार्यक्रम सञ्चालन हुनेछन् । त्यसअन्तर्गत पहिलो सेसन १९ गतेदेखि २१ गतेसम्म वडा ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडामा चल्नेछ । यी वडामा ७९ वटा खोप केन्द्र राखिनेछन् । यसैगरी २२ गतेदेखि २४ गतेसम्म वडा १, २, ३, ४, ५, ११, १२, १३, २६, २७, २८, २९ र ३० वडा गरी १३ वटा वडामा खोप कार्यक्रम चल्नेछ । यी वडामा ९३ वटा खोप केन्द्र राखिनेछन् । अभियानको तेश्रो सेसन २५ गतेदेखि २७ गतेसम्म चल्नेछ । यसअवधिमा वडा नं. १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ गरी १२ वटा वडामा चलाइनेछ । यी वडामा ९५ वटा खोपकेन्द्र रहनेछन् ।

यसअवधिमा छुटेका बालबालिका लागि २८ गते महानगरले सञ्चालन गरेको २७ वटा सहरी स्वास्थ्य क्लिनिकबाट खोप दिइनेछ । यस अवधिमा करीब ७० हजार बालबालिकालाई खोप दिने महानगरको लक्ष्य छ ।

रुवेला दादुराको खोप जन्मेको ९ महिनादेखि माथि र ५ बर्ष मुनिका बालबालिकालाई दिइन्छ । सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यो उमेर समूहका बालबालिकालाई नियमित खोप दिइरहेको छ । तर, सबै बालबालिका नियमित खोप कार्यक्रममा नआएका कारण अभियानका रुपमा यो कार्यक्रम चलाउनु परेको हो । महानगरका खोप अधिकृत सूर्य खड्का भन्नुहुन्छ — यस अघि आर्थिक बर्ष २०७२/०७३ पनि यो अभियान चलाइएको थियो । सन् २०२३ सम्ममा नेपालबाट रुवेला दादुरा निवारण गर्ने राष्ट्रिय अन्तरराष्ट्रिय लक्ष्यअनुसार अहिलेको अभियान चलाइएको हो ।

DSC_4639काठमाडौं महानगरले २०७४ पुष २३ गते औपचारिक कार्यक्रम आयोजना गरेर आफूलाई पूर्ण खोप सुनिश्चित महानगर घोषणा गरिसकेको छ । कुनै स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न सम्बन्धित तहका १२ देखि २३ महिनासम्मका बालबालिकाको सर्बेक्षण गर्दा, उनीहरुले १ बर्षको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेको हुनुपर्छ । यस सर्वेक्षणका समयमा ती बालबालिकाहरु कम्तीमा १८ महिनादेखि त्यसै स्थानमा बसोबास गरेको हुनुपर्छ । राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १ बर्ष भित्रका बालबालिकालाई बि. सि. जि. खोप १ डोज, जन्मेको ४५ दिनदेखि १ महिनाको फरकमा पेन्टाभ्यालेन्ट (डि.पि.टि., हेपाटाइटिस बी, हिब) — ३ डोज, जन्मेको ४५ दिनदेखि १ महिनाको फरकमा ओरल पोलियो, र ९ महिना पूरा भएपछि दादु्रा रुबेलाको खोप — १ डोज दिएको हुनुपर्छ ।

खोप लगाएकै कारण नेपालबाट विभिन्न प्रकारका संक्रामक रोगहरु निवारण तथा नियन्त्रण भएका छन् । तीमध्ये सन् १९७७ मा बिफर रोग उन्मुलन भएपछि थप खोपप्रति नेपाल उत्साहित भएको पाइन्छ । अन्य रोगहरुको अवस्था हेर्ने हो भने सन् २००५ मा धनुटङ्कारबाट हुने मातृ तथा नवजात शिशु मृत्यु निवारण भइको देखिन्छ । त्यस्तै २००६ देखि जापानीज इन्सेफलाइटिस नियन्त्रणमा आएको छ । सन् २०१० अगष्टदेखि पोलियो शून्य अवस्था कायम रहेको छ भने त्यसै बर्षदेखि नेपाल दादुरा नियन्त्रण र निवारणतर्पm उन्मुख रहेको छ ।

नेपालमा सन् २०१४ देखि पूर्ण खोप सुनिश्चितता कार्यक्रम शुरु गरिएको हो । सन् २०११ मा गरिएको नेपाल स्वास्थ्य तथा जनसंख्या सर्वेक्षणले देशभरिमा १३ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित र ३ प्रतिशत बालबालिकाले एउटै पनि खोप नपाएको देखाएको थियो भने यो संख्या २०१६ मा आइपुग्दा पूर्ण खोपबाट बञ्चित हुने बालबालिकाको संख्या बढेर २२ प्रतिशत र कुनै पनि खोप नपाउने बालबालिकाको संख्या घटेर १ प्रतिशतमा झरेको देखिएको थियो । यो तथ्याङ्कले खोप नलिनेलाई खोपको पहुँचमा ल्याउनु जत्तिको महत्बपूर्ण छ, खोप लिएर हराउने बालबालिकालाई सबै खोप दिने वातावरण तयार पार्नु पनि उत्तिकै महत्वपूर्ण भएको देखाएको छ ।

बिगतका अवस्था र तथ्याङ्क बिश्लेषण गर्दा महानगरले प्रभावकारी र गुणस्तरीय नियमित खोप सञ्चालन गर्न प्रत्येक बर्ष हुने घरधुरी सर्वेक्षण, समीक्षा, सुक्ष्म—योजना अद्यावधिक, पूर्ण खोप प्रमाणिकरण जस्ता कार्यक्रममा ध्यान पु¥याउन आवश्यक देखिएको छ । त्यस्तै बार्षिक कार्यक्रममा खोप कार्यक्रम समाबेस गर्ने, प्रत्येक बर्ष पूर्ण खोप सुनिश्चितता भएको सार्वजनिकीकरण गर्ने, खोपवाट वचाउन सकिने रोगहरुको निगरानी बढाउने कार्यक्रममा ध्यान पु¥याउन पनि उत्तिकै जरुरी छ ।

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत