फोहोर व्यवस्थापनमा एकरुपता कायम गराउन निजी क्षेत्रको स्वनियम व्यवस्था सार्वजनिक

स्वनियमले फोहोर व्यवस्थापनमा सकारात्मक प्रभाव पार्नेछ — कामपा प्रमुख प्रशासकीय अधिकृत न्यौपाने

DSC_3164फागुन १९

काठमाडौं । फोहर संकलन र ढुवानीका लागि काम गर्ने निजी कम्पनीका सदस्यहरुले स्वनियम पालना सम्बन्धि व्यवस्था सार्वजनिक गरेका छन् । आइतबार फोहोरमैला व्यवस्थापन संघ स्वमानले आयोजना गरेको ‘कार्य एकरुपता, अनुगमन तथा मुल्याङ्कन सम्बन्धि मापदण्ड सार्वजनिकीकरण र अभिमुखीकरण कार्यक्रम’मा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले यस व्यवस्था सम्बन्धि पुस्तिका सार्वजनिक गर्नुभएको हो । ‘कार्यसञ्चालन, अनुगमन तथा मुल्याङ्कन सम्बन्धि निर्देशिका — २०७६’ नाम दिइएको स्वनियम दस्तावेजमा कामदारको पोशाक, सुरक्षा सामाग्री, फोहरमैला संकलन गर्ने समय तालिका, कार्यपद्धति, सेवा शुल्क, सेवाग्राहीसँग गरिने व्यवहारलगायत व्यवस्था राखिएका छन् । त्यस्तै कर्मचारीको आचरण तथा अन्य मापदण्ड, ल्याण्डफिल साइटसम्म फोहरमैला ढुवानी तथा व्यवस्थापन गर्दा अपनाउनु पर्ने न्युनतम मापदण्डको परिपालना जस्ता बिषय समेटिएका छन् । यसको पालनाबाट निजी क्षेत्रको कामप्रति समुदाय र सरकार दुवै पक्षको विश्वास बढ्ने निजी क्षेत्रले अपेक्षा लिएको छ ।

DSC_3224कार्यक्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले — स्वनियम लागु गराएर आफूलाई अनुशासित बनाउन खोज्नु सराहनीय काम भएको उल्लेख गर्नुभयो । महानगरको प्राथमिक काम भनेकै फोहोर व्यवस्थापन गरेर सहरलाई सफाइ गर्नु हो । महानगरको यस काममा निजी क्षेत्रले ठूलो सहयोग पु¥याएको छ, उहाँले थप्दै भन्नुभयो — पुराना र खारिएका साथीहरुलाई अगाडि बढाउने हो भने सहर सफाइ र वातावरण राम्रो बनाउन ठूलो उपलब्धी हासील हुनेछ । त्यस क्रममा बोल्दै वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले — निजी क्षेत्रको स्वनियमले उनीहरुलाई परिचालन गर्न, कामको मुल्याङ्कन गर्न, काममा एकरुपता कायम गराउन सहज हुने धारणा राख्नुभयो । यसबाट निजी क्षेत्रलाई पहिचान दिन पनि सजिलो हुन्छ । उहाँले थप्दै भन्नुभयो — फोहोर संकलन तथा ढुवानी गर्ने सवारी साधनलाई एउटै रङ्को बनाउने कुरा आएको छ । यो सकारात्मक कुरा हो । यातायात व्यवस्था बिभागसँग बसेर हामी सहजीकरण गर्छौं, श्रेष्ठको भनाइ थियो ।

DSC_3170कार्यक्रममा बोल्दै स्वमानका पूर्व अध्यक्षहरु टीकाराम दाहाल र बासु उप्रेतीले — निजी क्षेत्रको कामको बिश्वसनीयता र गरिमालाई बढाउन कम्पनी तथा संस्थाहरुले सफाइमा गर्ने कामको एकरुपता जरुरी देखिएकोले यस प्रकारको व्यवस्था गरिएको बताउनुभयो । सफाइमा काम गर्नेहरुले पहिचानसहित काम गर्नु पर्ने अवस्था छ । त्यस्तै सफाइसँग जोडिएका हरियाली प्रवर्धन र वातावरणीय सुधारका अन्य काम गर्न पनि जरुरी छ, त्यसैले यो व्यवस्था गरिएको हो । कार्यक्रममा बोल्ने क्रममा संघका अध्यक्ष धनप्रसाद आचार्यले बताउनुभयो ।

सकारात्मक कामको थालनी हो । यसलाई थप सुदृढ र व्यवस्थित गर्दै लानेछौं । संघका वरिष्ट उपाध्यक्ष रामकुमार घिमिरेको प्रतिक्रिया छ ।

निर्देशिकाका नाममा जारी स्वनियम व्यवस्थामा ६ वटा परिच्छेद र एउटा अनुसूची राखिएको छ । फोहोरमैला संकलन र व्यवस्थापनका लागि हरेक संघ संस्थाले श्रोतमा फोहोर छु्ट्याउने, छुट्टिएको फोहोरमध्ये जैविक फोहोरलाई हप्ताको २ पटक र अजैविक फोहोरलाई एकपटक उठाउने, संकलित फोहोरलाई छोपेर मात्र प्रशोधन केन्द्र वा ल्याण्डफिल साइटमा पु¥याउने, समुदायलाई फोहोर व्यवस्थापनमा जागरुक गराउन, खुर्कीखार्की, माइकिङ् तथा तालिम गोष्ठी सञ्चालन गर्नुपर्ने, सरसफाइ नमूना क्षेत्र बनाउने, फोहोरमुक्त क्षेत्र घोषणा गर्नेलगायतका काम परिच्छेदमा व्यवस्था गरिएको छ । आफूले फोहोर संकलन गर्ने गरेको क्षेत्रमा पर्ने सडक, पार्कजस्ता सार्वजनिक स्थलहरुमा हप्ताको १ पटक अनिवार्य झाडु लगाउनु पर्ने, फोहोरको परिणाम र ढुवानी गर्नु पर्ने दुरीका आधारमा स्थानीय तहसँगको समन्वयनमा शुल्क निर्धारण गर्नुपर्ने, सफाइमा काम गर्नेको एउटै प्रकारको पोशाक हुनुपर्ने, सुरक्षा उपकरण प्रयोग गर्नुपर्ने, सवारीको बीमा गर्नुपर्ने, सवारी चालक अनुमति पत्र भएका चालकले मात्र सवारी चलाउनु पर्ने जस्ता व्यवस्था पनि निर्देशिकामा समेटिएका छन् ।

हिउँदको समयमा बिहान ६ बजेदेखि र बर्खाको समयमा बिहान ५ बजेदेखि सफाइ शुरु गरेर मुख्य सडकमा बिहान ८ बजेभित्र र भित्री सडकमा दिउँसो २ बजेभित्र फोहोर संकलनको काम सक्ने व्यवस्था गरिएको छ । उता प्रधामन्त्री तथा मन्त्री परिषद्को कार्यालयले भने बिहान साढे ८ बजेभित्र फोहोर संकलन सम्बन्धि सबै काम सक्नु पर्छ भनेको छ । यसमा निजी क्षेत्रमा आवद्ध भएर फोहोरको काम गर्ने कर्मचारीको तलब सुबिधा, औषधि उपचार, बीमा सुबिधा, सेवा अवधि, सुरक्षा पोशाकजस्ता बिषय व्यवस्था गरिएको छ । अनुसूचीमा फोहोर उत्पादकहरुबाट लिइने शुल्क सम्बन्धि व्यवस्था गरिएको छ । यसबमोजिम सबैभन्दा कम शुल्क १०० स्क्वायर फिटसम्ममा सञ्चालन भएका कस्मेटिक पसल, पत्रिका पसल, कपडा, फेन्सीको शुल्क राखिएको छ । यिनीहरुको मासिक शुल्क ३ सय रुपैयाँ हो । २ परिवारसम्म बसोबास गर्ने एक परिवारको मासिक शुल्क ४ सय राखिएको छ भने २ परिवारभन्दा बढी भए प्रति परिवार १५० रुपैयाँ थप गरिएको छ ।

शुल्कमा सबैभन्दा धेरै १०० बेडभन्दा माथिका अस्पतालको राखिएको छ । उनीहरुको मासिक शुल्क न्युमतम ५० हजार र अधिकतम १ लाख रहेको छ । १०० बेडभन्दा तलका अस्पतालको मासिक शुल्क मासिक न्युनतम २५ हजार र अधिकतम ५० हजार राखिएको छ ।

यी व्यवस्था पालना भएपछि फोहोर व्यवस्थापनका सवारी तथा उपकरण, काम गर्ने बिधि र प्रक्रिया, फोहोर संकलन गर्ने तालिका, शुल्क जस्ता कुरामा एकरुपता आउँछ, संघका महासचिव मीत्र घिमिरे अपेक्षा गर्नुहुन्छ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत