सामाजिक सुरक्षा भत्ता वितरणको व्यवहारिक समस्या सुल्झाउन जनप्रतिनिधिको जोड

काठमाडौं महानगरमा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको संख्या करीब ३० हजार

DSC_1063फागुन ५

काठमाडौं । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई बैङ्किङ् कारोबार थाहा नहुँदा सरकारले दिएको रकम लिन कठिन भएको काठमाडौं महानगरका जनप्रतिनिधिहरुको भनाइ छ । आज शुरु भएको सामाजिक सुरक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले यसप्रकारको समस्या देखाउनुभएको हो ।

कार्यक्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले, भत्ता पाउनु पर्ने व्यक्तिले नपाउने वा ढिला गरी पाउने समस्यालाई नीतिगत र व्यवहारिक रुपमै समाधान गर्नुपर्ने बताउनुभयो । यसका लागि महानगर, वडा कार्यालय र बैङ्कको सम्बन्धित शाखा कार्यालयको निकट सम्बन्ध हुनुपर्ने उहाँको भनाइ थियो । यसै शीर्षक (सामाजिक सुरक्षा भत्ता) मा महानगरबाट बार्षिक करीब १ अर्व रुपैयाँ बराबरको कारोबार हुन्छ । बैङ्कहरुले यो रकमलाई व्यवसायिक संकलनका रुपमा होइन, सेवा प्रयोजनका रुपमा हेर्नुपर्छ, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको भनाइ थियो । त्यस क्रममा बोल्दै महानगरका प्रबक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले, निर्देशिका खुकुलो बनाउनु पर्ने सुझाव राख्नुभयो । अहिले बैङ्कमा खाता नहुनेले राज्यले दिएको सुबिधा पनि लिन पाएनन् । बैङ्किङ् कारोबार नजानेका, सिक्नका लागि पनि भेउ नपाउने उमेरका पाका मानिसले ‘हामीलाई भत्ता किन नदिएको?’ भनेर सोद्धा आफूले ‘पैसा लिन बैङ्क खाता खोल्नु’ भन्न व्यवहारिक नभएको बताउनुभयो । सक्नेलाई बैङ्कमा नै पठाऔं । तर नसक्नेलाई सम्बन्धितकै हातमा पैसा पर्ने गरी दिने गरी नियमावली सुधारौं, उहाँको भनाइ थियो ।

DSC_1025सरकारले जसका नाममा रकम पठाएको छ । यसैका हातमा भनेकै समयमा भत्ता वितरणलाई अझ प्रभावकारी बनाउन महानगर प्रयास गरेको छ । कार्यक्रममा बोल्दै प्रशासन बिभागका प्रमुख नमराज ढकालले कार्यक्रम सुनाउनुभयो । यस प्रकारका कार्यक्रम सञ्चालन गर्दा सबैमा बिषयको बुझाइ एउटै हुनुपर्छ । कार्यक्रम आयोजनाका बिषयमा धारणा राख्दै मानव संशाधन महाशाखाकी तालिम संयोजक सन्तु श्रेष्ठले — सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धि कानुनी प्रबन्ध र व्यवहारिक अभ्यासमा सम्लग्न सबैमा समान धारणा बनाउन यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

DSC_1052सामाजिक सुरक्षा कार्यक्रमलाई सरकारले बिभिन्न ८ प्रकारमा बिभाजन गरेर सञ्चालन गरेको छ । अभिमुखीकरणका कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागका निर्देशक जनकराज भट्टले — सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम ‘नगद बितरण’मा आधारित भएको बताउनुभयो । ‘१ व्यक्ति, १ बैङ्क खाता’ सरकारको नीति हो । यसै नीतिअनुसार सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिलाई उपलब्ध गराइने नगद उसको नाममा रहेको बैङ्क खातामा पठाउने गरिएको हो । निर्देशक भट्टले स्पष्ट पार्नुभयो । २ दिने अभिमुखीकरणको पहिलो दिन वडा १ देखि १६ सम्मका वडाध्यक्ष, वडासचिव र वडाबाट वितरण हुने सामाजिक सुरक्षा भत्ताका लागि खाता खोलिएका बैङ्कका प्रतिनिधिको सहभागिता थियो ।

DSC_1068नगद बितरणमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा जेष्ठ नागरिक, एकल महिला, बिधवा, पूर्ण अपाङ्गता भएका व्यक्ति, अति अशक्त अपाङ्ग, दलित, जनजाति, तोकिएका बालबालिकालाई राखिएको छ । यी व्यक्तिहरुले हरेक आर्थिक बर्षको साउनदेखि पुष मसान्तभित्र नाम दर्ता वा नविकरण गरिसक्नुपर्छ । नाम दर्ता गराउन वा साबिकमा सामाजिक सुरक्षा भत्ता पाईरहेका लाभग्राहीहरुले निरन्तर भत्ता प्राप्त गरिरहन नाम नबिकरण गर्ने निवेदकले आफ्नो स्थायी ठेगाना रहेको वडा कार्यालयमा गएर तोकिएको ढाँचामा दरखास्त दिनुपर्छ । यसरी नाम दर्ता गर्दा, तीनपुस्ते विवरण, नागरिकता नम्बर र सम्पर्क नम्बरसहितको विवरण आवश्यक पर्छ ।

पुष मसान्तभित्र नाम दर्ता नगराए वा नविकरण नगरे भत्ता रकम पाइनेछैन । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न जेष्ठ नागरिकको हकमा (महिला÷ पुरुष दुवै) ७० बर्ष उमेर पूरा गर्नुपर्छ । उनीहरुले भत्तावापत् २ हजार रुपैयाँ र उपचार खर्च वापत् १ हजार रुपैयाँ प्रतिमहिना प्राप्त गर्छन् । दलित जेष्ठ नागरिक र एकल महिलाले ६० बर्ष उमेर पूरा भएपछि भत्ता पाउँछन् । बिधवाको हकमा भने उमेर सम्बन्धि शर्त लागु हुँदैन । ‘सामाजिक सुरक्षा ऐन — २०७५’, तथा ‘सामाजिक सुरक्षा सञ्चालन सम्बन्धि कार्यबिधि — २०७५’, बमोजिम रीत र योग्यता पुगेका यस्ता व्यक्तिलाई नेपाल सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता स्थानीय सरकारमार्फत प्रदान हुने व्यवस्था छ । यसलाई थप व्यवस्थित गर्न बनाइएको ‘सामाजिक सुरक्षा नियमावली २०७६’ मन्त्री परिषद्बाट स्वीकृत भइसकेको छ । यी व्यवस्थासँगै ‘बिद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भत्ता भुक्तानी रणनीति — २०७४’ का आधारमा कार्यक्रम सञ्चालन हुने गरेका छन् ।

नगद हस्तान्तरण, श्रम बजार हस्तक्षेप, निःशुल्क सामाजिक सेवाहरु, गरिबी निवारण तथा सामाजिक शशक्तिकरणका कार्यक्रम, पेन्सन तथा सामाजिक बीमा सामाजिक सुरक्षाका कार्यक्रमअन्तर्गत पर्दछन् । सरकारले यस शीर्षकमा चालु आर्थिक बर्षका लागि ६४ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको छ । महानगरले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा करीब ३२ करोड रुपैयाँ वितरण गरेको छ । काठमाडौं महानगर क्षेत्रभित्र करीब ३० हजार व्यक्ति सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य छन् ।

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत