सार्वजनिक शौचालय बनाउन महानगर र गैर आवासीय नेपाली संघबीच सम्झौता

संघले कलंकी, कोटेश्वर, चावहिल र महाराजगञ्ज गरी ४ ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने

IMG_0803माघ २३

काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्रका ४ ठाउँमा आधुनिक र सुबिधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गर्न काठमाडौं महानगरपालिका र गैर आवासीय नेपाली संघका बीच सम्झौता सम्पन्न भएको छ । आज सम्पन्न भएको सम्झौतामा महानगरकातर्फबाट सहसचिव राजेश्वर ज्ञवालीले र संघका तर्फबाट कार्यकारी अधिकृत हेमन्तकुमार दवाडीले हस्ताक्षर गर्नुभएको छ । सम्झौताबमोजिम महानगरको वडा १४ कलंकी, वडा ३२ कोटेश्वर, वडा ७ चावहिल र वडा ३ महाराजगञ्जमा संघले सुबिधासम्पन्न शौचालय निर्माण गरेर ५ बर्ष सञ्चालन गर्नेछ । त्यसपछि ती संरचना महानगरलाई हस्तान्तरण हुनेछन् । संघले शौचालय निर्माण गर्न कलंकी, बालाजु, राष्ट्रपति कार्यालयको अघिल्तिर, जयबागेश्वरी सिफल चौर, कोटेश्वर र स्वयम्भू परिक्रमा मार्गको अध्ययन गरेको थियो । यसरी अध्ययन गरिएका स्थानमध्ये ४ ठाउँमा निर्माण, सञ्चालन र हस्तान्तरण गर्न दुवै पक्ष मञ्जुर भएपछि सम्झौता भएको हो ।

DSC_9020 (1)निर्माण गरिएका शौचालय सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति तथा व्यवस्थापकीय काम संघले गर्नेछ । ती शौचालय सञ्चालन गर्दा महानगरले तोकेको शुल्क लिइनेछ । यसरी संकलन भएको शुल्कबाट व्यवस्थापन र मर्मत सम्भारको काम गरिसकेपछि बाँकी पैसा थप शौचालय निर्माणका लागि खर्च हुनेछ ।

DSC_9047सम्झौताको कार्यान्वयन कलंकी र कोटेश्वरमा शाौचालय निर्माण गरेर अघि बढाइने संघले जनाएको छ । संघले अघि सारेको प्रस्ताव अनुसार कलंकीमा निर्माण हुने शौचालय ४० फिट लम्बाइ र १६ फिट चौडाइको हुनेछ । यसभित्र पुरुषका लागि पिसाब फेर्ने ३ वटा युरिनल र २ वटा शौचालय हुनेछन् । त्यस्तै महिलाका लागि ४ वटा र अपाङ्गता भएका व्यक्तिका लागि एउटा शौचालय हुनेछ । त्यस्तै कोटेश्वरमा पुरुषका लागि ७ वटा युरिनल र २ वटा शौचालय हुनेछन् भने अपाङ्गता भएका व्यक्तिका लागि १ वटा र महिलाका लागि ६ वटा शौचालय बनाइनेछन् । महिला शौचालयमा स्यानिटरी प्याड फाल्न मिल्ने तथा फ्यालिएका प्याडलाई बाष्पिकरण गरेर जोखिममुक्त बनाउने प्रबिधि जडान हुनेछ । त्यस्तै बच्चालाई प्याड फेराउने र स्तनपान गराउने ठाउँको पनि प्रबन्ध हुनेछ । प्रति घण्टा १ सय व्यक्तिले प्रयोग गर्ने आँकलन गरी यस प्रकारको शौचालयको ढाँचा अघि सारिएको हो । यी शौचालय निर्माण गरिसकेपछि बाँकी २ स्थानमा निर्माण कार्य अघि बढाइने संघका कार्यकारी अधिकृत दवाडीले जानकारी दिनुभयो ।

त्यस क्रममा बोल्दै संघका कार्यकारी अधिकृत दवाडीले — नमूना शौचालय तयार भइसकेपछि संघसँग आवद्ध बिभिन्न देशका शाखाहरुबाट पनि सार्वजनिक कामका लागि सहयोग प्राप्त हुने अपेक्षा गरेको बताउनुभयो ।

 

 

 

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत