वडा १८ को कार्यालय भवन पुननिर्माण सम्पन्न

मेरै कार्यकालमा सबै वडाका आफ्नै कार्यालय भवन हुनेछन् — मेयर शाकय

DSC_8224माघ १८

काठमाडौं । महानगरको वडा नंं. १८ को कार्यालय भवन पुननिर्माण सम्पन्न भएको छ । गएको बर्ष माघ ७ गते महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको भवन आज उहाँले नै उद्घाटन गर्नुभयो । उद्घाटन अवसरमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पनि सहभागी हुनुहुन्थ्यो । हनुमानढोकादेखि स्वयम्भूसम्मको सम्पदामार्गमा पर्ने वडा भवन करीब ६० लाख रुपैयाँ लागतमा पुननिर्माण सम्पन्न भएको हो ।

DSC_8251‘केन्द्रदेखि सबै वडाका आफ्नै आफ्नै भवन निर्माण गर्ने नीतिअनुसार बनेका योजनाको परिणाम वडा १८ को कार्यालय भवन हो ।’ मेयर शाक्यले भवन उद्घाटनपछि सम्वोधन गर्दै भन्नुभयो, ‘सांस्कृतिक ऐतिहासिक काठमाडौं सहरको हनुमान ढोका बिश्व सम्पदा क्षेत्रमा परम्परागत शैलीमा वडा कार्यालय निर्माण सम्पन्न गर्न पाउँदा मलाई खुशी लागेको छ ।’

मेयर शाक्यले आफ्नै कार्यकालमा सकेसम्म ३२ वटै वडाका आफ्नै सुविधासम्पन्न भवन निर्माण गर्ने योजना भएको भन्दै अहिले धेरै वटा वडाका आफ्नै भवन निर्माण हुँदै गरेको बताउनुभयो । ‘कतिपय वडामा तला थप्ने काम भैरहेको छ भने केही वडा भवन निर्माणको अन्तिम चरणमा पुगेका छन्,’ उहाँले भन्नुभयो, ‘वडा नम्बर २, २१ र २९ को पनि प्रक्रिया अघि बढेको छ ।’ उहाँले थप्दै भन्नुभयो — ‘आफ्नै भवन नहँुदा महानगरको केन्द्रबाट प्रवाह सेवा वितरणमा समस्या छ । यसबाट सेवाग्राहीमा परेको अप्ठ््यारो महसुस छ । यो समस्या समाधान गर्न हामीसँग पैसा पनि छ । तर, केही अवरोधका कारण भवन निर्माण कार्य अघि बढ्न सकेको छैन ।’ सहरी सेवा बितरण, भौतिक पूर्वाधार निर्माण, वातावरणीय सुधारसँगै सेवा व्यवस्थापनका लागि कार्यालय भवन निर्माण तथा मूर्त अमूर्त सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्धन हाम्रा प्राथमिक काम हुन्, मेयर शाक्यको भनाइ थियो ।

DSC_8151वडा भवनको उद्घाटन कार्यक्रममा बोल्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सांस्कृतिक सुहरको बीचमा रहेको वडा कार्यालयको भवन परम्परागत शैलीमा पुननिर्माण हुनुले महानगर सम्पदा व्यवस्थापनमा चनाखो भन्ने सन्देश दिएको बताउनुभयो । आफ्नो मन्त्रालय सहरी व्यवस्थापनकै लागि काम गर्ने भएकोले महानगरलाई गतिशील र स्वतस्फूर्त बनाउन आफूले पनि सहयोग गर्न सक्ने राज्यमन्त्री मानन्धरको भनाइ थियो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष न्हुछेकाजी महर्जनले, लक्षित समयमा नै निर्माण कार्य सम्पन्न भएको उल्लेख गर्दै वडाध्यक्ष महर्जनले भन्नुभयो, ‘नयाँ भवन निर्माणका लागि ४० लाख खर्च भयो । पुरानो भवनको पनि बाहिरी स्वरुपलाई नयाँ भवनकै डिजाइनमा तयार पार्दा २० लाख जति खर्च भयो । हामीले वडा भवन सम्पदा मार्गमा पर्ने भएकाले सम्पदामैत्री बनाएका छौँ । भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहज हुनेछ ।’

वडाध्यक्ष महर्जनकाअनुसार भवनमा सेवाग्राहीलाई बस्ने ठाउँको व्यवस्था गरिएको छ । त्यस्तै सुरक्षाका लागि वडा भवनमा चार ओटा सीसीटिभि क्यामेरा जडान गरिएका छन् । ‘हामीले वडा १८ लाई नमूना वडाका रुपमा विकास गर्न चाहेका छौँ,’ उहाँले भन्नुभयो, ‘अहिले वडाभरी विभिन्न ठाउँमा २४ ओटा सीसी क्यामेरा राखेका छौँ भने कुहिने र नकुहिने फोहोर संकलनका लागि जनचेतनामुलक कार्यक्रम गर्नेलगायतका कामलाई प्राथमिकता दिएका छौँ ।’

नरदेवी मन्दिरबाट ताम्सिपाखा जाने सडकको बायाँतर्फ नरदेवी आयुर्वे्दिक अस्पतालसँगै साविककै ठाउँमा भवन निर्माण भएको छ । नयाँ भवनको प्लिन्थ एरिया ३०० स्क्वायरफिटको छ भने कुल फ्लोर एरिया १०५० स्क्वायर फिटको छ ।

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत