अन्जानमै जनसाधारण साइबर अपराधमा

आफूले चलाउने ब्राउजरमा पहिले ठेगाना एकिन गरे पहिलो सुरक्षा स्तर

DSC_3867पुष २८

काठमाडौं । इन्टरनेटको सेवा लिने तर सुरक्षा उपायका बारेमा जानकारी नलिने चलनले जनसाधारण अन्जानमै साइबर अपराधमा परेको बिज्ञहरुले बताएका छन् । सोमबार वडा २९ ले काठमाडौंको कालिकास्थानमा शिखर युवा क्लव र सामुदायिक प्रहरी सेवा केन्द्रसँगको सहकार्यमा आयोजनामा सञ्चालन गरेको साइबर क्राइम सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रममा इन्टरनेटको सेवा लिनु अघि यस सम्बन्धि आधारभूत जानकारी नलिएको कुरालाई प्रशिक्षकले उठाएका थिए । तपाईहरु धेरै जसोले फेसबुक चलाउनुहुँन्छ, इमेल चलाउनुहुन्छ तर तपाईले चलाएको इमेल वा फेसबुक सही हो कि होइन, ख्याल गर्नुहुन्न । यसो हुँदा तपाई एकातिर पुग्नु पर्ने अर्कै तिर पुग्नुहुन्छ । प्रशिक्षक प्रा. डा. रामहरि सुवेदीले एकजना सहभागीलाई सुटुक्क फेसबुकमा आफ्नो सही युजर ठेगाना र गलत पासवर्ड र अर्का सहभागीलाई सही जिमेल ठेगाना र गलत पासवर्ड राख्न लगाएर उहाँहरुले सुटुक्क राख्नुभएको गोप्य पासवर्ड सार्वजनिक रुपमा बताएर उदाहरण पेश गर्नुभएको थियो ।

यो जादु केही होइन, गलत ठाउँमा सूचना राख्दा यसले असुरक्षा बढाउँछ । प्रशिक्षक प्रा. डा. सुवेदीले भन्नुभयो — इन्टरनेटका प्रयोगकर्ताले यस्ता कुरामा ख्याल राख्दैनन्, त्यसैले समस्यामा पर्छन् ।

प्रशिक्षण अवधिभर समय बिताउनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले — समुदायलाई सुरक्षित र व्यवस्थित बनाउन प्रबिधिजन्य समस्या आउनु पूर्व नै साबधानी अपनाउनु पर्ने धारणा राख्नुभयो । युवा परिचालन गरेर वडाले काम थालनी गरेको छ, यसलाई निरन्तरता दिनुहोला, नेता सिंहको भनाइ थियो । त्यस क्रममा बोल्दै वडाध्यक्ष कुश ढकालले — प्रबिधि समाजको अभिन्न अङ्ग भएको बताउँदै यसबाट सृजना हुन सक्ने समस्यालाई सरकारले पूर्वअनुमान गरेर समयमा सचेत हुनुपर्ने बताउनुभयो ।

प्रशिक्षणमा प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठसहित स्थानीय राजनीतिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

यसमा तपाइको मत