सम्मान, सांस्कृतिक कार्यक्रम र प्रदर्शनीसहित महानगर दिवस सम्पन्न

संघीय व्यवस्थाको जग दरो बनाउन, संघीय राजधानी सहरको जग बलियो बनाउनु पर्नेमा बक्ताहरुको जोड

DSC_6093मंसिर २९

काठमाडौं । सम्मान, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र मौलिक खानाको प्रदर्शनसँगै महानगरले २५ औं बार्षिकोत्सवका कार्यक्रम सम्पन्न गरेको छ । मंसिर २८ र २९ गते गरी दुई दिन मनाइएको कार्यक्रममा पैदल तथा साइकल यात्राको प्रबर्धनका लागि साइकल ¥याली, दमकल बिस्तार गरी वडा ६ बाट सेवा शुभारम्भ, उत्कृष्ट व्यक्तिगत करदाता सम्मान, परम्परागत नाच तथा बाद्य गुरु सम्मान, शुशासन पत्रकारिता पुरस्कार वितरणलगायत कार्यक्रम सम्पन्न गरिए । समारोहमा मन्त्री त्रिपाठी, सहरी बिकास राज्यमन्त्री रामबीर मानन्धर, महानगरका प्रमुख र उपप्रमुखसहित अधिकारीहरुले ज्यापु समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६० गुथि, गुँला बाजाका २३ वटा समूहका बाजा गुरुहरुलाई नगद सहित सम्मान गर्नुभएको हो । त्यसैगरी मखं त्वाकी श्री ३ कुमारी प्रकृति महर्जन र किलाघः त्वाः की कुमारी रेसुका महर्जनलाई मासिक १५ हजार रुपैयाँ भत्तासहित सम्मान गर्नुभयो । त्यस्तै इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका बाजा गुरुहरूलाई सम्मान गरिएको थियो ।

DSC_5911आइतबार बसन्तपुरमा आयोजना गरिएको मुल समारोहमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले — काठमाडौंको गरिमा बचाउनका लागि मात्र नभइ संघीयताको जग बलियो बनाउन पनि महानगरका उदाहरणीय हुनुपर्ने बताउनुभयो । काठमाडौंको बिरासत ठूलो छ । यो राजनीति र प्रशासनिक व्यवस्था परिवर्तनको साक्षी पनि हो । सबै मिलेर यसको गरिमा बचाउनुपर्छ, मन्त्री त्रिपाठीको भनाइ थियो । कार्यक्रममा बोल्दै संघीय संसद सदस्य जीवनराम श्रेष्ठले — महानगरको बिकास र समृद्धिका लागि राम्रा कामको प्रशंशा र सुधार गर्नु पर्ने कामका लागि रचनात्मक सुझाव दिनुपर्ने धारणा राख्नुभयो । त्यस्तै प्रदेश सभा सदस्य नारायण सिलवालले प्राप्त उपलब्धीलाई जोगाएर थप कार्यक्रम अघि बढाउनु पर्ने बताउनुभयो ।

DSC_5967कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — महानगरको गौरव र महानगरबासीका चाहना पूरा गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो । यसका लागि जस्तासुकै चुनौतीको पनि सामना गर्न तयार रहेको मेयर शाक्यको भनाइ थियो । उहाँले काठमाडौंलाई सहयोगापेक्षी मानवमुक्त बनाउन थालिएको अभियान र बौद्धमा सञ्चालन गरिएको दमकल भवनलाई महत्वपूर्ण उपलब्धीका रुपमा प्रस्तुत गर्नुभयो । महानगरभित्रका परम्परागत बाद्य तथा नाच गुरुहरुलाई सम्मान गरेका छौं । हामी मूर्त अमूर्त सांस्कृतिक सम्पदालाई जोगाउने कुरालाई प्राथमिकता दिन्छौं, मेयर शाक्यको भनाइ थियो ।

कार्यक्रममा टोलमा रहेका जीवित देवी कुमारीमध्ये मरु लाई जनही मासिक १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । त्यस्तै ८ जना पत्रकारलाई व्यक्तिगत र २ वटा सञ्चार माध्यमलाई संस्थागत रुपमा शुशासन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । व्यक्तिगततर्फ पुरस्कार प्राप्त गर्नेमा नेपाल समाचार पत्रका ईश्वरराज ढकाल, नागरिक दैनिकका हिमाल लम्साल, नयाँ पत्रिकाका तीर्थ बस्नेत, राष्ट्रिय समाचार समितिका शर्मिला पाठक, राजधानी दैनिकका केशव पाण्डे, झीँगु डट कमका रेखा शाक्य र लहना बाः पौ साप्ताहिकका नृपेन्द्र श्रेष्ठ हुनुहुन्छ । त्यस्तै संस्थागततर्फ नेवा अनलाइन र गोरखापत्र दैनिकलाई पुरस्कार प्रदान गरियो । उहाँहरुलाई सम्मान पत्रसहित जनही ५० हजार राशीको चेक उपलब्ध गराइएको थियो । पुरस्कार प्रदान गर्न महानगर सञ्चार तथा जनसम्पर्क सल्लाहकार राजेन्द्र स्थापितको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिको सदस्यमा सहायक बिज्ञ मणिराज बास्तोला ‘मोहन’ हुनुहुन्थ्यो भने सदस्य प्रशासन बिभागका प्रमुख नमराज ढकाल सदस्य सचिव हुनुहुन्थ्यो ।

DSC_6590उत्कृष्ट करदातामा सम्पत्ति करतर्फ वडा ६ का छेतेन ग्युर्मान श्रेष्ठलाई सम्मानित गरियो । उहाँले ४ लाख ६४ हजार ३८४ रुपैयाँ कर तिर्नुभएको थियो । त्यस्तै बहाल करतर्फ वडा ११ की जया राज्य लक्ष्मी शाहलाई सम्मान गरियो भने व्यवसाय करतर्फ वडा ५ मा रहेको उपमा डेभलपर्स प्रा. लि. लाई सम्मानित गरियो । शाहले २४ लाख बहाल कर तिनुभएको थियो भने प्रा. लि. ले ५० हजार व्यवसाय कर तिरेको थियो । मनोरञ्जन करतर्फ वडा ३० मा रहेको कुमारी चलचित्र मन्दिरलाई सम्मान गरियो । चलचित्र मन्दिरले १५ लाख ७० हजार ७६३ रुपैयाँ मनोरञ्जन कर तिरेको थियो । यो रकम गएको आर्थिक बर्षृमा भएको कारोबारका आधारमा लिइएको हो । यससँगै बिद्यालयस्तरीय निबन्ध र कविता प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान प्रदान गरिएको थियो । दिवसका अवसरमा आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्तरीय ‘मेरो काठमाडौं, म बनाउँछु’ विषयमा निबन्ध प्रतियोगिता र माध्यमिक तह (कक्षा ९ र १०) स्तरीय ‘सांस्कृतिक शहर, काठमाडौं नगर’ विषयमा कविता प्रतियोगिता आयोजना भएको थियो । त्यस्तै कर्मचारी र जनप्रतिनिधिबीच सम्पन्न डोरी तान, कुर्सी दौड, घैंटो फोड्ने प्रतियोगिताका बिजेतालाई पनि नगदसहित सम्मान गरिएको थियो ।

यससँगै महानगरमा २५ बर्ष नियमित सेवा गर्ने १७ जना कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरियो । यसरी पदक प्राप्त गर्ने कर्मचारीहरुमा निर्देशक कमलबाबु श्रेष्ठ, निर्देशक रबिन्द्र कुमार राई, उपनिर्देशक रामबाबु महतो, उपनिर्देशक निर्मल बराल, उपनिर्देशक मनोज सिंह सुवाल, उपनिर्देशक गम्भीरलाल श्रेष्ठ, ईञ्जिनियर बीरबहादुर कार्की, इञ्जिनियर माधव श्रेष्ठ, अमिन उत्तमप्रसाद भट्टराई, नायव सुब्बा कृष्ण गोपाल प्रधान हुनुहुन्छ । त्यस्तै कार्यालय सहयोगी राजु खत्री, मेतर अञ्जु नेपाली, कुचीकार सानुकान्छी पोडेनी, कुचीकार कुचीकार मीना कुचीकार, कुचीकार शान्ता पोडेनी, कुचीकार बुद्धलक्ष्मी पोडेनी र कुचीकार सुर्जमाया पोडेनी हुनुहुन्छ ।

मुल कार्यक्रमपछि व्यवस्थापन उपसमितिले बसन्तपुरमा मौलिक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

दिवसलाई व्यवस्थित गर्न वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा व्यवस्थापन उपसमिति, वडा ३२ का अध्यक्ष एवं सुशासन समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा कर्मचारी, करदाता सम्मान तथा पुरस्कार उपसमिति, वडा १५ का अध्यक्ष एवं प्रवक्ता ईश्वरमान डंगोलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, वडा १६ का अध्यक्ष मुकुन्द रिजालको संयोजकत्वमा कविता, निबन्ध तथा खेलकुद उपसमिति गठन गरिएको थियो ।

२०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । महानगर घोषणा भएको यस वर्ष २५ वर्ष पुगेको हो ।

 

यसमा तपाइको मत