काठमाडौंका प्रथम जननिर्वाचित मेयरको निधन

पारिवारिक श्रोतका अनुसार उहाँ बिगत १ बर्षदेखि लिभर क्यान्सरको समस्यासँग जुधिरहनुभएको थियो

DSC_8061मंसिर २७

काठमाडौं । काठमाडौका प्रथम जननिर्वाचित सभापति (मेयर) जनकमान श्रेष्ठको आज बिहान ७ बजे आफ्नै निवास टेकुमा निधन भएको छ । उहाँकी बुहारी रीना श्रेष्ठका अनुसार उहाँ बिगत १ बर्षदेखि लिभर क्यान्सरको समस्यासँग जुधिरहनुभएको थियो । उहाँ घरमै बसेर उपचार गराइरहनुभएको थियो । उहाँ मंसिर ८ गते ९२ बर्ष पूरा गरेर ९३ बर्षमा प्रवेश गर्नुभएको थियो । उहाँकी श्रीमति एक छोरा र एक छोरी हुनुहुन्छ ।

उहाँको अहिले पशुपति आर्यघाटमा अन्तिम संस्कार भइरहेको छ । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्य आर्यघाट पुग्नुभएको थियो । त्यस क्रममा उहाँले, दिवङ्गत सभापति श्रेष्ठले स्थानीइ शुशासन र स्वशासनको जग बसाउन खेल्नु भएको भूमिकाको स्मरणा गर्नुभएको थियो ।

सभापति श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले मृत आत्माको चीर शान्तिको कामना गर्दै र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

Janak Man at AryaGhatस्व. श्रेष्ठ निर्वाचित हुँदाको समय

२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि जनतामा जनमैत्री प्रशासन र आफ्नै आँगनमा बलियो सरकारको अपेक्षा थियो । तर, यसका लागि आवश्यक संरचना ज्ञान भने थिएन । २००८ सालमा काठमाडौं नगरपालिका ऐन जारी भएपछि संरचनागत व्यवस्था तयार भयो । यही ऐनका आधारमा २०१० साल भाद्र १० गते नगरपालिकाको चुनाव सम्पन्न भयो ।

Press Release Janak Manत्यसबेला सभापति र उपसभापतिको छुट्टै उम्मेद्वारी हुँदैनथ्यो । पहिले सबै वडाबाट सदस्य निर्वाचित हुन्थे । तीमध्येबाट निर्वाचन भएर सभापति र उपसभापति चुनिने कानून थियो । त्यसैबमोजिम जनकमानले वडा २ बाट उम्मेद्वारी दिएका थिए । उनका प्रतिस्पर्धीका रुपमा लगन टोल समितिका कांग्रेसबाट दामोदर शर्मा, ब्रह्म टोलबाट तुलसीबहादुर बास्तोला (पाटन हाइस्कूलका शिक्षक), इनाखा टोलमा रत्नमान सुब्बा (मिल्ट्रीका ग्राजुएट अफिसर)को सम्भावना थियो । तर तीमध्ये तुलसीबहादुर र रत्नमानले उनकै समर्थन गरे । दामोदर शर्माले उम्मेद्वारी दिए । यीबाहेक प्रजा परिषद्का कनकबहादुर जोशीको पनि उम्मेद्वारी प¥यो । त्यस निर्वाचनमा वडा २ (हालको वडा १२ र २१) मा ४ वटा मतदान केन्द्र थिए भने हरेक केन्द्रमा ३÷३ वटा मतपेटिका थिए । हरेक उम्मेद्वारका लागि एक पतपेटिका (आफूले जुन उम्मेद्वार चुन्नु पर्ने हो उसैको पेटिकामा मत दिनु पर्ने) थिए ।

निर्वाचनमा करीव २५०० मत ल्याएर जनकमान निर्वाचित भए ।

DSC_8091सभापतिको निर्वाचन

नगरपालिकाका १८ वडामा १८ सदस्य निर्वाचित भएपछि तीमध्येबाट सभापति र उपसभापति छान्नु पर्ने थियो । त्यो काम सजिलो थिएन किनभने निर्वाचित सदस्यहरुमध्ये कुनै पनि दलको बहुमत थिएन । समीकरण गरेर नेतृत्व छान्नु पर्ने थियो । १८ जनामध्ये ६ जना कम्युनिष्टबाट, ५ जना प्रजा परिषद्बाट, ३ जना कांग्रेसबाट ३ जना स्वतन्त्र र १ जना गोर्खा दलका सदस्य थिए । गोर्खा दलले थापाथली क्षेत्र (वडा नं. १) बाट निर्वाचित थिए । त्यस क्षेत्रमा राणा परिवारका मानिसहरु बस्थे ।

पहिलो धेरै सदस्य भएको कम्युनिष्ट र दोश्रो धेरै सदस्य भएको प्रजा परिषद्को सभापति पदका लागि दावी थियो । यी दुवै पक्ष आफ्नालागि बहुमत पु¥याउने कोशिशमा थिए । कांग्रेस पार्टीले कम्युनिष्टलाई सिद्धान्तले पनि सपोर्ट गर्दैन भनेर प्रजा परिषद ढुक्क थियो । यता दलहरु आफ्नो बहुमत जुटाउन लाग्यो, उता मजिष्ट्रेट (प्रमुख जिल्ला अधिकारी) सभापतिको निर्वाचनको तयारीमा लागे । प्रक्रिया शुरु भएपछि प्रजा परिषद्कातर्फबाट पुष्करनाथ उप्रेती र कम्युनिष्टकातर्फबाट जनकमानले उम्मेद्वारी दर्ता गराए । यसबेलासम्ममा प्रजा परिषद्ले निर्वाचित सबै सदस्यलाई बोलाएर आफ्ना पक्षमा समर्थन गर्न चिया खुवाइसकेको थियो । त्यो बेला अहिलेको जस्तो थिएन । निर्वाचित भइसकेपछि आफूबीचमा चिनजान पनि त्यही चियापानका समयमा भएको थियो ।  

एक दिन स्वतन्त्रबाट निर्वाचित घननाथ उपाध्यायले जनकमानलाई भेटेर स्वतन्त्रले समर्थन गर्ने बताए । यसपछि उनैले कांग्रेस मनाउन सल्लाह पनि दिएन । यसै बमोजिम जनकमान वडा ३ बाट निर्वाचित प्रयागराज सिंह सुवाललाई उपसभापति बनाउने शर्तमा कांग्रेस मनाउने रणनीतिमा लागे । त्यो काम सजिलो थिएन । कांग्रेसका अध्यक्ष विश्वेश्वरप्रसाद कोइरालाले कुनै पनि हालतमा कम्युनिष्टलाई समर्थन गर्दैनथे, त्यसैले गणेशमानलाई फकाएर अघि बढ्ने दाउमा लागे । कुराकानी र छलफल शुरु भयो । जनकमानको प्रस्तावमा गणेशमानले पहिले त विश्वाश गरेनन् । उनले “कम्युनिष्टले धोका दिन्छन् । भर गर्नु हुँदैन ।” भन्ने जवाफ दिएका थिए । पछि सभापतिमा जनकमानलाई दिएका भोट उपसभापति पनि दिने, लिखित सहमति भएपछि ३ सिटमा सीमित कांग्रेसले उपसभापति पाउने निश्चित भयो । यसै सहमति बमोजिम कांग्रेस र स्वतन्त्रको भोट पाएर जनकमान सभापति बने । त्यसबेला उनलाई गोर्खा दलका सदस्यको पनि मत आएको थियो ।

यो समीकरणको बनावट र निरन्तरताको शर्तबमोजिम सभापतिको निर्वाचन भएको १५ दिनभित्र उपसभापतिको निर्वाचन भयो । त्यस निर्वाचनबाट प्रयागराज सिंह सुवाल उपसभापतिमा निर्वाचित भए ।  

 

यसमा तपाइको मत