प्रबिधिजन्य फोहोर व्यवस्थापन सम्बन्धि प्रस्तावमा महानगरको चासो

महानगर क्षेत्रको वातावरणीय अवस्थामा सुधार भएको छ तर सन्तोष मान्न अझ काम गर्न बाँक्ी छ — मेयर शाक्य

 

DSC_3764मंसिर २३

काठमाडौं । प्रदुषण व्यवस्थापनका दृष्टिले अहिले काठमाडौं महानगर क्षेत्रको अवस्थामा सुधार आएको छ बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले नियमित काम र सबैको एउटै मतले सन्तोष मान्ने ठाउँमा पुग्न समय नलाग्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा कार्यपालिका सदस्य तथा वडा सदस्यहरुका लागि आयोजना गरिएको ४ दिवसीय फोहोरमैला व्यवस्थापन सम्बन्धि पुनर्ताजगी कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले भन्नुभयो काठमाडौंमा घरेलु फोहोरको मात्र समस्या छैन । निर्माण कार्यमा भएको लापर्वाहीले धुँवा धुलोको समस्या थपिएको छ । यी काम गर्ने व्यक्ति व्यवस्थापनमा जिम्मेवार हुने हो भने समस्या जरैमा समाधान हुन्छ । तर, कतै कतै मनमा पनि फोहोर छ । मनको फोहोरले बाहिर सफा हुन नसकेको हो । यदि मन सफा गर्ने हो भने, बाहिरी सफाइमा समस्या छैन ।

उहाँले लगानी बोर्डमार्फत अघि बढेको फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिताको प्रसङ्ग उठाउँदै भन्नुभयो — बोर्डको प्रक्रिया टुङ्गोमा नपुगेकाले, महानगरसँग प्राप्त भएका प्रबिधिजन्य फोहोर व्यवस्थापनका प्रस्तावमाथि छलफल गर्न थालेका छौं । काठमाडौंको फोहोर निजी र गैरसरकारी क्षेत्रसँग मिलेर हिजो पनि हामीले नै व्यवस्थापन गरेका थियौं । आज पनि गरिरहेका छौं र भोलि पनि महानगरले नै गर्ने हो, मेयर शाक्यको भनाइ थियो ।

त्यस अवसरमा बोल्दै पूर्व मन्त्री गणेश शाहले — जन्मेदेखि मृत्यु नहुञ्जेल मानिसलाई चाहिने हावा र पानीको शुद्धिकरणका लागि बिशेष नीति तथा योजना ल्याउन महानगरलाई सुझाव दिनुभयो । शिशु जन्मिनेबित्तिकै खाना र पानी नचाहिन सक्छ तर हावा नभइ हुँदैन । व्यक्तिले जीवनको अन्तिममा खाना छोड्न सक्छ, पानी छोड्न सक्छ तर हावा छोड्ने बित्तिकै उसको जीवन जोखिममा पर्छ । त्यसैले यसप्रकारको योजना आवश्यक पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा बोल्दै प्रशासन बिभागका प्रमुख नमराज ढकालले — जनप्रतिनिधि र कर्मचारीको क्षमता बिकासबाट सहरी व्यवस्थापनमा दक्षता बढाउँदै गएको धारणा राख्नुभयो भने वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले — आफ्नो बिभाग घरेलु फोहोरको दिगो व्यवस्थापनसँगै रिचार्ज काठमाडौं र आकाशे पानी संकलन बिधिको प्रवर्धनमा लागेको बताउनुभयो ।

अभिमुखीकरणमा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले — सार्वजनिक स्थानमा देखिने धुँवा धुलो व्यवस्थापनका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै, पूर्वाधार निर्माणमा धेरै निकाय भएको, यी निकायहरु एकआपसमा सहयोगी नभए आफू आफ्नै कार्यक्रममा जिम्मेवार भएकाले समस्या भएको उल्लेख गर्नुभयो । त्यस्तै गुथिका प्राबिधिक सल्लाहकार प्रकाश अमात्यले — सार्वजनिक शौचालयका अवस्था र व्यवस्थापनमा प्रस्तुति गर्दै, महानगरमा भएका शौचालय राम्ररी उपयोग गर्न नसकिएको तथ्य उल्लेख गर्दै, भएकालाई व्यवस्थित गर्ने र नभएका ठाउँमा उपयुक्त बिधिको शौचालय निर्माण, सञ्चालन र व्यवस्थापन गर्न यस सम्बन्धि छुट्टै नीति आवश्यक रहेको बताउनुभयो । त्यस्तै घरेल फोहोर व्यवस्थापन र वातावरणीय सुधारका बिषयमा प्रस्तुति गर्दै जानु डंगालले — फोहोर उत्पादकलाई व्यवस्थापनको पहिलो जिम्मेवार बनाउनु पर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा लैजानु पर्ने बताउनुभयो ।

महानगरका ३२ वटा वडालाई आधा आधा गरेर हरेक समूहलाई २÷२ दिनको अभिमुखीकरणमा सहभागी गराइनेछ ।

 

यसमा तपाइको मत