महानगरको ३८ औं कार्यपालिका बैठक सम्पन्न

युनाइटेड बहुउद्देश्यीय सहकारीलाई "समस्याग्रस्त सहकारी" घोषणा

DSC_3062मंसिर ३

काठमाडौं । वडा स्तरमा २५ औं महानगर दिवस मनाउनेलगायत बिभिन्न प्रस्तावमा निर्णय गर्दै महानगरको ३८ औं कार्यपालिका बैठक सम्पन्न भएको छ । मंगलबार महानगरको केन्द्रीय कार्यालय जे. डि. ए. कम्प्लेसको सभा कक्षमा सम्पन्न बैठकले प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा ‘२५ औं महानगर दिवस मुल समारोह समिति’ गठन गरेको छ । बैठकले वडा ३१ मा निर्माण सम्पन्न भएको पञ्चकुमारी सामाजिक गुठीको नक्सा स्वीकृत दस्तुर फिर्ता गर्ने निर्णय गरेको छ । बैठकका अध्यक्ष एवं महानगरका प्रमुखले बैठकमा यस सम्बन्धि जानकारी दिँदै भन्नुभयो — यस अघि धार्मिक संरचना निर्माण गर्दा नक्सा स्वीस्कृत गर्ने परम्परा थिएन । तर, यस्ता संरचना महानगरको अभिलेखमा आउन जरुरी थियो । त्यसैले हामीले — धार्मिक तथा सामाजिक संघ संस्थाको संरचना निर्माण गर्दा नक्सा स्वीकृत गर्नु पर्ने र संरचना निर्माण सम्पन्न भएपछि भवनको नक्सा स्वीकृत गर्दा लागेको दस्तुर फिर्ता गर्ने नीतिगत व्यवस्था गरेका छौं । यसै व्यवस्थाबमोजिम पञ्चकुमारी गुठीको नक्सा स्वीकृत दस्तुर फिर्ता गर्न लागिएको हो ।

बैठकले वडा २९ मा सञ्चालित युनाइटेड बहुउद्देश्यीय सहकारीलाई ‘समस्याग्रस्त सहकारी’ घोषणा गरेको छ । २०६४ सालमा दर्ता भएर चलेको सहकारीका सञ्चालक २०७४ सालबाट सम्पर्क बिहिन भएका छन् । महानगरको प्रशासन बिभागका प्रमुख नमराज ढकालकाअनुसार १५१ जना सञ्चालक रहेको सहकारीका सञ्चालक भागेपछि बचतकर्ताले महानगरमा निवेदन दिएका थिए । यस अघि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्री परिषद्मा जानु पथ्र्यो । अहिले यो अधिकार नगर कार्यपालिकामा आएको छ । यही व्यवस्थाअनुसार निर्णय भएको, ढकालले जानकारी दिनुभयो । महानगर कार्यक्षेत्र बनाएर काम गर्ने १ हजार ८४८ सहकारी छन् ।

DSC_3007काठमाडौंलगायत देशका बिभिन्न स्थानमा आयोजना हुने १३ औं साफ खेलकुदका सम्बन्धमा छलफल गर्दै बैठकले वडा ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठको अध्यक्षतामा राजस्व, वातावरण, सूचना तथा सञ्चारसहित सम्बद्ध बिभागका अधिकारीसहितको ७ सदस्यीय समिति गठन गरेको छ । खेलाडी तथा बिशिष्ट पाहुनाको स्वागतका लागि स्वागत द्वार निर्माणमा समन्वय गरिदिने, होर्डिङ्, डिजिटल बोर्ड र महानगरका सञ्चार माध्यमबाट खेलकुद सम्बन्धि सूचना तथा जानकारी प्रसारण व्यवस्था मिलाइदिने, खेल स्थानमा घुम्ती शौचालय, एम्बुलेन्स र दमकल तैनाथ गर्ने, सडकका खाल्टाखुल्टी पुरिदिनुपर्ने, खेलकुदलाई सहरका बिभिन्न स्थानमा अवलोकन गर्ने व्यवस्था मिलाउने, सरसफाइलगायतका काम गरिदिन महानगरलाई महानगरलाई पत्र प्राप्त भएको प्रबक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो ।

काठमाडौंमा गुड्ने २० बर्ष अवधि पूरा भएका सवारी साधन बिस्थापन गर्ने क्रममा यातायात व्यवस्था बिभागले माग गरेको रायमा बैठकले — यसरी बिस्थापन हुने सवारी साधनका सट्टामा ल्याइने सवारी साधन धेरै मानिस अट्न सक्ने, पेट्रोल डिजेलको सट्टा बिजुलीबाट चल्न सक्ने खालको हुनु पर्ने राय दिने निर्णय गरेको छ । त्यस्तै महानगरलाई आश्रित मानिसमुक्त सहर बनाउने अभियानलाई प्रभावकारि बनाएर सञ्चालन गर्ने, मानव सेवा आश्रमसँगको सहकार्य थप २ बर्षका लागि नविकरण गर्ने लगायतका निर्णय गरेको छ, प्रबक्ता डंगोलले बताउनुभयो ।

 

 

यसमा तपाइको मत