घरधनी र व्यवसायीबीच कुरा नमिल्दा, पशु बधस्थल सुधार गर्न कठिन

मासु व्यवसायी र घरधनीलाई आपसी सहमति गराएर अवस्थामा सुधार गर्ने प्रयासमा छौं — अध्यक्ष श्रेष्ठ

 

DSC_2397मंसिर २

काठमाडौं । घरधनी र मासु व्यवसायीबीच कुरा नमिल्दा महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका पशुबधस्थलहरुको सुधार हुन नसकेको व्यवसायीहरुले भनाइ छ । सोमबार महानगरको कृषि तथा पशु सेवा बिभागको अगुवाईमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, नागरिक न्यायिक उपभोक्ता मञ्चसहितको अनुगमनका क्रममा बिष्णुमती नदी किनारामा व्यवसाय गर्ने व्यवसायीले यस्तो भनाइ राखेका हुन् ।

हाम्रो व्यवसाय सुधार गरेर राम्रो बनाउन हामीलाई पनि मन छ, तर घरधनीले जग्गा लिजमा दिनका लागि सम्झौता गरेको छैन । सम्झौता गरिदिनोस् भन्दा मान्नुहुन्न । गणेश रोय नेवाः क्वालिटी मिट सपका सञ्चालक सबिक शाही भन्नुहुन्छ — आज लगानी गरेर संरचना बनाउँला, भोलि उठेर जानोस् भन्ने डर छ । कसरी लगानी गर्नु? व्यवसायीलाई लगानी सुरक्षाको चिन्ता त छ नै यसबाहेक सरकारको सहयोगको पनि आश छ । क्वालिटी फ्रेस एण्ड फ्रोजन मिट प्रा. लि. मा भेटिनु भएका बिनोद खड्गीको माग थियो — हामी प्रयास गर्दैछौं । सरकारले पनि सहयोग गर्नुपर्छ । काठमाडौं बाहिर बधशाला बनाउँदैछौं, काठमाडौंको पनि सुधार गर्छौ । यसका लागि महानगरले सहयोग गर्नुपर्छ । पशु बधस्थलमा नै भेटिनुभएका अर्का व्यवसायी सुरेन खड्गी भन्नुहुन्छ — खै जसले जता बोलायो । त्यतै गएकै हो । कुरा हुन्छ । काम भएन । अब त बोलाएका ठाउँमा जान पनि मन छैन ।

DSC_2439अनुगमन टोली बधस्थलमा आएको देखेपछि छिमेकीहरु भेला भए । यसरी भेला हुने छिमेकीको भनाइ थियो — व्यवसाय नगर्नु हामीले भनेका छैनौं तर, व्यवसाय गर्ने नाममा हामीलाई समस्यामा पार्नु भएन । लादी भरिएर ढल टालिन्छ, घरभरि ढल छिर्छ । दुर्गन्धले घरमा बस्न नसक्ने हुन्छ । राती ११÷१२ बजेसम्म भैसी ल्याउने । १÷२ बजेदेखि बध गर्न थाल्ने । ग्याँस बालेर डडाउन थाल्दा जहाज आएको जस्तो हुन्छ । कसरी सुत्नु? यसरी गुनासो गर्नेमध्ये पाको उमेरकी लक्ष्मीदेवी खड्गी भन्दै हुनुहुन्थ्यो — कति झगडा गर्नु? भनेको मान्ने नै होइन । आइमाई मान्छे (उहाँकै आवाज) घरमा बिरामी छन् । सधैं झगडा गर्न आउन पनि सकिँदैन ।
बिष्णुमती नदी किनारामा रहेको लिङ्करोडभन्दा माथिल्लो भेगमा पशु पधशाला छन् । पहिले खोलाकै किनारामा पशु वध हुन्थ्यो । अहिले कम्तीमा टहराभित्र काम हुन्छ । केही सुधार त भयो तर यसले पुग्दैन । वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठ भन्नुहुन्छ — अहिले घरधनी र व्यवसायीका बीचमा कुरा नमिलेको देखिएको छ । उहाँहरुलाई एक ठाउँमा ल्याएर छलफल गराउँछौं । त्यसपछि व्यवसाय सुधारका लागि व्यवसायीसँग कुरा गर्छौ ।

DSC_2531अनुगमनका क्रममा आउनु भएका वडा सदस्य चन्द्रमान डंगोलका अनुसार वडा १९ भित्र सानाठूला गरी करीब ३५ वटा पशु बध स्थल छन् । पशु वध कार्यलाई व्यवस्थित बनाउन नसक्दा वातावरणमा नकारात्मक असर परेको छ । स्थानीयबासीहरु दुर्गन्ध हटाउन माग राख्नुहुन्छ । लगानी र प्रबिधि दुवै धेरै लाग्ने भएकोले वडाबाट के गर्ने भन्ने सोच्न सकेका छैनौं । अर्का वडा सदस्य मधुसुदन प्रधान भन्नुहुन्छ — व्यवसायीलाई अगाडि लगाएर समस्या समाधान गर्ने सोचका छौं । मासुजन्य खाद्यबस्तुको उत्पादन श्रोतमा नै ठूलो समस्या देखियो । यसलाई व्यवस्थापन गर्न व्यवसायीलाई समिति निर्माण गर्न भनेका छौं । अनुगमनको नेतृत्व गरिरहनुभएका महानगरको कृषि तथा पशु सेवा बिभागका प्रमुख हरिबहादुर भण्डारी भन्नुहुन्छ — वडाको अगुवाईमा घरधनी र व्यवसायीबीचको समस्या पहिचान गर्छौं । यसरी पहिचान गरिएका समस्या समाधान गर्ने त्यसपछि कार्यक्रम तय गर्छौ । व्यवसायीहरुले पहिलेभन्दा सुधार गर्न थालेको देखियो तर यसले पुग्दैन ।

मासुजन्य खाद्यबस्तुको स्वच्छताका लागि महानगरले ठोस काम गर्नु पर्ने देखियो । अनुगमनका क्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले भन्नुभयो — जनस्वास्थ्यमा तत्काल असर पु¥याउने भएकोले पनि मासुजन्य उत्पादनलाई नियमन गर्नुपर्छ । अनुगमनमा रहनु भएका नागरिक न्यायिक उपभोक्ता मञ्चका अध्यक्ष सहदेव गौत्तम भन्नुहुन्छ — अनुगमनलाई तीब्र र निरन्तर बनाउनुपर्छ ।

टोली बिहान ५ बजे नै बिष्णुमती नदी किनारामा रहेका पशुबध स्थलमा पुगेको थियो । शुरुवात्मा वडा १२ मा रहेको ह्युमत सामुदायिक पशु बधस्थलमा पुगेको थियो । अनुगमनका क्रममा पशुको स्वास्थ्य, पशु बध गर्ने तरिका, मासु छुट््याउने तरिका, सरसफाइ, भण्डारण र ढुवानी जस्ता पक्ष हेरिएको थियो । ह्युमत पछि वडा १९ क्षेत्रमा भएका करीब १० वटा बधस्थलको अवस्था हेरिएको थियो । यी स्थानमा बध गर्ने तरिका, सरसफाइजस्ता आधारभूत पक्षमा नै कमजोरी भेटिएको थियो । अनुगमनका क्रममा रोगी भेटिएका पाडालाई समूहबाट छुट््याएर अलग्याइएको थियो ।

 

यसमा तपाइको मत