आगो नियन्त्रण, खोज तथा उद्धारको आधारभूत तालिम सम्पन्न

सरीरभन्दा पेशालाई माया गर्ने अग्नि नियन्त्रकलाई प्रोत्साहन हुने नीति ल्याइने — विपद् व्यवस्थापन बिभाग संयोजक शाक्य


DSC_2124मंसिर २

काठमाडौं । महानगरको अग्नि नियन्त्रण शाखा (जुद्ध बारुण यन्त्र कार्यालय) ले आगो नियन्त्रण, खोज तथा उद्धार सम्बन्धि सञ्चालन गरेको ७ दिने आधारभूत तालिम आइतबार सकिएको छ । तालिममा काठमाडौं महानगरका ६ जना नगर प्रहरी, शशस्त्र प्रहरीबाट ४ जना र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाबाट ४ जना गरी १४ जना अग्नि नियन्त्रक सहभागी हुनुहुन्थ्यो ।

तालिममा आगोको परिचय, आगोको बिज्ञान र प्रकार, आगो नियन्त्रण गर्ने उपकरण र बिधि, आगलागीका समयमा अपनाउनु पर्ने सावधानी, धुँवा भरिएको स्थानमा अग्लो स्थानमा आगो नियन्त्रण गर्ने सीप, फायर इस्टिङ्ग्वीसरको प्रयोग, आत्म सुरक्षाका सामाग्री र सीपसँगै खोज तथा उद्धारको आधारभूत सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो । तालिममा सिकेको ज्ञानलाई प्रयोगात्मक अभ्यास पनि गराइएको थियो ।

DSC_2140तालिम समापन अवसरमा बोल्दै महानगरको विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले — सरीरभन्दा बढी पेशाको माया गर्ने अग्नि नियन्त्रकहरुलाई आत्मसम्मान हुने गरी महानगरले कार्यक्रम अघि सार्ने बताउनुभयो । यो जटिल प्रकृतिको काम हो । साइरन बजाएर सडकमा आउँदा पनि सवारी जाम र नागरिकको अटेरीपनले समयमा घटना स्थलमा पुग्न नसकिने अवस्था छ । घटनास्थलमा पुगिसकेपछि पनि काम गर्न सजिलो छैन । आफ्नै सरीर जोखिममा राखेर अग्नि नियन्त्रकले काम गर्छन् । संयोजक शाक्यले भन्नुभयो — महानगरले अग्नि नियन्त्रण तथा खोज उद्धार सम्बन्धि आन्तरिक व्यवस्थापन मजवुत गरेर अन्य नगरलाई पनि श्रोत, सीप र प्रबिधिले सहयोग गर्छ ।

त्यस अवसरमा तालिममा सिकाइका बिषयमा जानकारी दिँदै, अग्नि नियन्त्रण शाखा प्रमुख लीलाराज गाछाले — काठमाडौं दमकलका अग्नि नियन्त्रकलाई जोखिमसँग लड्न सक्ने बनाउन नियमित क्षमता बिकासका कार्यक्रमको खाँचो देखाउनुभयो । यो पेशामा लाग्नेले दिन भन्न पाउँदैन । रात भन्न पाउँदैन । आफ्ना व्यक्तिगत र पारिवारिक प्राथमिक काम गर्न पाउँदैन । यति सबै क्षेत्रमा सम्झौता गरेर आगो नियन्त्रण गर्न खटिने जनशक्तिलाई नीतिगत व्यवस्थाबाटै प्रोत्साहित गरिनुपर्छ, गाछाको माग थियो । कार्यक्रममा बोल्ने क्रममा तालिमका सहभागी अमरगढी नगरका अग्नि नियन्त्रक मीमबहादुर ऐरले — तालिम पाएपछि आगो नियन्त्रणका लागि हिम्मत बढेको प्रतिक्रिया दिनुभयो । हामीलाई त आगो निभाउन जाँदा लगाउने लुगाका बारेमा पनि राम्ररी थाहा थिएन । तालिम लिँदा अग्नि सुरक्षा पोशाक र हेल्मेट लगाउन पाउँदा धेरै खुशी लागेको छ । त्यसै क्रममा बोल्दै महानगरका नगर प्रहरी जवान मोहनकुमार चौधरीले, थप तालिम लिन पाए हुनेथियो भन्ने प्रतिक्रिया दिनुभयो ।

समापन अवसरमा महानगरका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

 

यसमा तपाइको मत