महानगरको ‘युवा सृजनशील सोच’ कार्यक्रममा साझेदार बन्न युएनडिपि इच्छुक

सहभागितामुलक कार्यक्रमबाट धेरै लाभ लिन सकिन्छ — उपाध्यक्ष बस्नेत

 

DSC_1766 (1)कार्तिक २९

काठमाडौं । महानगरभित्र भएका सृजनशील सोचलाई उद्यमशिलतामा प्रबर्धन गर्न महानगरको कार्यक्रममा संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम (युएनडिपि) ले सहभागिता जनाउन इच्छा देखाएको छ । नेपालका लागि युएनडिपिका आवासीय प्रतिनिधि आइशानी मेडागाङ्गोडा लबेले सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख महेश काफ्लेसहितका अधिकारीसँग भेटेर यस बिषयमा कुरा गर्नुभएको हो ।

युवाहरुमा भएको क्षमतालाई उत्पादनमुलक क्षेत्रमा लगाउन महानगरले ‘नविन सोच निर्माण’का क्षेत्रमा प्रतिस्पर्धात्मक कार्यक्रम समेत सञ्चालन गरेको बताउँदै आयोगका उपाध्यक्ष सहभागितामुलक कार्यक्रमबाट लक्षित समुदायमा पुग्न सजिलो हुने बताउनुभयो् । पूर्वाधार बिकास, बिकास निर्माण तथा व्यवस्थापन, सेवा सुबिधा बितरण तथा व्यवस्थापन, सम्पदा तथा पर्यटनलगायत क्षेत्रमा अहिले भएको अवस्थालाई सुधार गरी नागरिकको पहुँचमैत्री बनाउन उद्यमशिलताका साना—साना कामले पनि ठूलो योगदान दिन सक्छ । त्यसैले हामीले साना तर महत्वपूर्ण क्षेत्रमा युवाहरुलाई सहभागी गराउन चाहेका हौं, उपाध्यक्ष बस्नेतका भनाइ थियो ।

भेटका क्रममा आवासीय प्रतिनिधि मेडागाङ्गोडाले — वातावरण सुधार गर्न बैकल्पिक र स्थानीय सामानको प्रबर्धन, स्थानीय खानेकुराको प्रबर्धन जस्ता क्षेत्रमा काम गर्ने हो भने स्वदेशी उत्पादन प्रबर्धन पनि हुन्छ । सामान ढुवानी, भण्डारण र वितरणमा लागत पनि घट्छ । यसले स्थानीय स्तरमा रोजगार पनि बढ्छ, ताजा र स्वच्छ खानेकुरा पनि पाइन्छ । यस प्रकारका सोचलाई प्रबर्धन गर्ने हाम्रो कार्यक्रम हो । यस्ता कार्यक्रममा महानगरपालिकासँग मिलेर अघि बढ्न सकिन्छ । भेटका अवसरमा महानगरकाृ अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले सृजनशील सोचको प्रवर्धन गर्दा नागरिकलाई सोझै लाभ पुग्ने बताउनुभयो । नागरिकले स्थानीय स्तरमा उत्पादन गरेका बस्तुको बजार खोज्दै हिँड्नु नपरोस् भन्नका लागि यस प्रकारका कार्यक्रमको खाँचो छ, काफ्लेको भनाइ थियो ।

साझेदारितामा दुवै पक्षको संयुक्त लगानीबाट हुने काम, आफ्ना—आफ्नै लगानीबाट सञ्चालन हुने साझा कार्यक्रमको कार्यक्षेत्रजस्ता बिषय पहिचान गरिनेछन् । यसरी छनौट गरिएका कार्यक्रमबाट अधिकतम लाभ लिन कार्यक्षेत्र र मार्गनिर्देशन तयार पारेर सहमति पत्रमा हस्ताक्षर गरिनेछ । यसैका आधारमा साझेदारिता स्थापना हुनेछ ।

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत