चौथो केएमसिएमएमएसि जुडो केन्दो प्रतियोगिता सम्पन्न

मात्सुमोतो नगरको लगानी काठमाडौंका जनताले प्रयोग गरिरहेका छन् — मेयर शाक्य

 

DSC_1510कार्तिक २७

काठमाडौं । आज चौथो केएमसिएमएमएसि (काठमाडौं महानगरपालिका मल्टिपर्पोस मार्सल आर्ट सेन्टर) जुडो एण्ड केन्दो च्याम्पियनसिप प्रतियोगितामा सम्पन्न भएको छ । महानगरको वडा १६ स्थित मार्सल आर्ट सेन्टरमा सम्पन्न जुडो खेलमा ७ जना महिलासहित ४२ जनाले र केन्दोमा १२ जना महिलासहित २० जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए । यसरी सञ्चालन गरिएका खेलमध्ये केन्दोको सिनियरतर्फ मेनुका थपलिया र जुनियर तर्फ दा छिरिङ् बिजेता बन्नुभयो । खेलमा सिनियरतर्फ कुङ्गा केन्दो ल्हामु र जुनियरतर्फ गङ्गा लुङ्गेलीले दोश्रो स्थान हात पार्नुभयो । खेलमा दुवै दुवै समूहमा दुई—दुई जनाले तृतीय स्थान हासील गर्नुभयो । यसरी तेश्रो स्थान हासील गर्नेमा सिनियरतर्फ ज्ञानुका बुढाथोकी र छिरिङ् छुजुम तथा जुनियरतर्फ जमुना लुङ्गेली र इसिका प्रधानाङ्ग हुनुहुन्छ ।

DSC_1098जुडोमा १२ तौल समूहमा प्रतिस्पर्धा भएको थियो । २४ के. जि., त्यस्तै २५, २७, ३०, ३१, ३२, ३५, ४४, ४५, ७३, ७८ र ८१ के. जि. समूहमा भएको प्रतिस्पर्धामा क्रमशः सन्दिप परियार, रोहन गौत्तम, नसिब खुलाल मगर, ज्याकबाबु के. सी, सम्राट परियार, सरष्टा नापित, सुजन परियार, उत्सव भुजेल, आशिष शेर्पा, प्रनिश महर्जन, सुनिता मगर र बिजय लामा बिजयी बन्नुभएको थियो । नेपाल जुडो एशोसिएसन र नेपाल इआइदो केन्दो संघको प्राबिधिक सहयोगमा सम्पन्न महानगरको मल्टिपर्पोस मार्सल आर्ट केन्द्रले आयोजना गरेको प्रतियोगितामा बिजेतालाई मात्सुमोतो नगरका उपप्रमुख त्सुबोता अकियो, नेपालका लागि जापानका राजदूत मासामिचि साइगो, वडाध्यक्षहरु मुकुन्द रिजाल, ईश्वरमा डंगोल र पूर्व वडाध्यक्ष लक्ष्मीरत्न तुलाधरले संयुक्त रुपमा सिल्ड, प्रमाण पत्र र पदक प्रदान गर्नुभएको थियो ।

DSC_1148प्रतियोगिता उद्घाटनका क्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — नेपालको  काठमाडौं र जापानको मात्सुमोतो नगरबीचको भगिनी सम्बन्धको लाभ स्थानीयबासीसम्म पुगेको बताउनुभयो । जापान सरकार र मात्सुमोतो नगरले दिएको सहयोगमा आफ्नातर्फबाट थप गरेर खेलको बिकासमा उपयोग गरिएको धारणा राख्दै उहाँले भन्नुभयो — सहयोगलाई हामीले संरक्षण गरेका छौं, दुरुपयोग गरेका छैनौं । केन्द्रको दक्षिणतर्फ प्याराफिट बनाउनु पर्नेछ, यसका लागि महानगरले आवश्यक रकम व्यवस्था गर्छ, मेयर शाक्यको भनाइ थियो ।

कार्यक्रममा बोल्दै राजदूत साइगोले जापान र नेपालको सम्बन्धका बिषयमा धारणा राख्दै भन्नुभयो — खेलकुदबाट दुई देशबीचको सम्बन्ध अझ मजवुत बन्नेछ । हामी नेपालमा खेलिने खेलका लागि पनि सहयोग गर्छौ र जापानमा खेलिने खेल खेल्न चाहनेलाई प्रबर्धन गर्छौ । मार्सल आर्टमा जुडो केन्दो खेलेको देखेर म अत्यन्त हर्षित भएको छु, कार्यक्रममा मात्सुमोता नगरका उपप्रमुख अकियोले भन्नुभयो — यस खेलको बिकास गरेर काठमाडौंबासीलाई फाइदा पु¥याउन हामी थप सहयोग गर्नेछौं । यस प्रकारका खेलले दुई नगरका जनताले फाइदा पाएका छन् । यो केन्द्रमा खेलाइने खेलबाट महानगरका टोल—टोल र वडा—वडाका जनतालाई जोडेको छ । यसले बिकास र खेलकुदलाई पनि जोडेको छ, कार्यक्रममा वडा १६ का अध्यक्ष मुकुन्दर रिजालले धारणा राख्नुभएको थियो ।

त्यसै अवसरमा उपप्रमुख अकियोले वडाध्यक्ष रिजाललाई केन्दो खेलमा प्रयोग हुने सिनाइ (बेतको बिशेष खालको लौरो) ६० थान र जुडो गि १० थान प्रदान गर्नुभएको थियो । त्यस अवसरमा मात्सुमोतो केन्दो फेडेरेसनका उपाध्यक्ष साकाओ उसिरा र उहाँकी धर्मपत्नी मुसुको उसिराले केन्दो काता प्रदर्शन गर्नुभएको थियो । साकाओ केन्दो खेलको ७ औं र मुसुको ५ औं डन हुनुहुन्छ । त्यसपछि अमित चौधरीले ईआई प्रदर्शन गर्नुभएको थियो भने केदारमान स्थापितले खुकुरी प्रदर्शन गर्नुभएको थियो ।

DSC_1275अन्तरराष्ट्रिय उपाधि

नेपाली खेलाडीहरुले अन्तरराष्ट्रिय स्तरमा सञ्चालन भएका जुडो र केन्दो खेलमा बिजयी बनेका छन् । फुपु ल्हामु खत्री जुडो खेलको साफ गोल्ड मेडलिस्ट हुनुहुन्छ । त्यस्तै रमेश मगरले साफ ब्रोन्च मेडल, उमेश मगरले थाइल्याडमा सम्पन्न इन्टरनेशनल ब्रोन्च मेडल र सुमिता मगरले यमनमा सम्पन्न एशियन च्याम्पियनसिप ब्रोन्च मेडल र दीपक श्रेष्ठले साफ सिल्भर मेडल प्राप्त गर्नुभएको खेलका मुख्य प्रशिक्षक धर्मकुमार श्रेष्ठले जानकारी दिनुभयो । केन्दोतर्फ शान्ति भडारी, अमित चौधरी शैलेन्द्र कार्की, कमला लामा र दिपेश डंगोलले अन्तरराष्टिय स्तरमा सम्पन्न खेलमा स्थान हासील गर्नुभएको छ । यी खेलहरु सिंगापुर, मलेसिया, भियतनाम, कम्बोडिया, थाइल्याण्डलगायत देशमा सम्पन्न भएका थिए ।

अहिले केन्द्रमा जुडोतर्फ धर्मकुमार श्रेष्ठ र दीपक श्रेष्ठ तथा केन्दोतर्फ शान्ति भण्डारी र अमित चौधरीले प्रशिक्षण दिइरहनुभएको छ । केन्द्रमा जुडोतर्फ ५५ जना र केन्दोतर्फ २५ जना खेलाडी रहेको केन्द्रका प्रमुख दिनेशराज शर्माले बताउनुभयो ।

DSC_1346काठमाडौं र मात्सुमोतोको सम्बन्ध

काठमाडौं र मात्सुमोतो नगरकाबीचमा सन् १९८९ नोभेम्बर १७ तारिखका दिन भगिनी सम्बन्ध स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । सम्बन्ध स्थापना भएको १० औं बर्षको अवसरमा दुवै नगरकातर्फबाट लगानी गरेर महानगरको वडा १६ नयाँबजारमा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र निर्माण गरियो । १ करोड २२ लाख ८६ हजार लागतमा निर्माण भएको केन्द्रका लागि जापान सरकार र मात्सुमोतो नगरकातर्फबाट ६६ लाख ६६ हजार ६६३ रुपैयाँ सहयोग प्राप्त भएको थियो । २०५८ साल बैशाख १९ गते शिलान्यास भएको केन्द्र त्यसै बर्षको माघ ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र जापानका पूर्व प्रधानमन्त्री रियोतारो हासिमोतोले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । केन्द्र ६ रोपनी ११ आना जग्गामा फैलिएको छ । २०७२ सालको भूकम्पले यसलाई आंशिक क्षति पु¥याएको थियो ।

DSC_1367२०७२ सालको भूकम्पले पु¥याएको क्षति व्यवस्थापन गर्न मात्सुमोतो नगरले १ करोड जापानी येन सहयोग गरेको थियो । २०७२ भदौ २ गते मात्सुमोतो नगरका प्रमुख डा. अकिरा सुगेनोयाकोतर्फबाट, अन्तरराष्ट्रिय नीति महाशाखाका निर्देशक मानावु याकुवोले महानगरका तत्कालीन प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिं तामाङ्लाई उक्त रकमको अभिलेख हस्तान्तरण गर्नुभएको थियो । त्यस रकममा जापानी जनताकोतर्फबाट संकलन भएको ८० लाख येन र नगरकोतर्फबाट प्रदान गरिएको २० लाख येनबराबर हुन आउने रकम थियो ।

दुई नगरबीच आपसी सम्बन्ध भएपछि आपसी सिकाइका लागि दुवै नगरका प्रमुख तथा प्रतिनिधि जाने आउने क्रम चलिरहेको छ । यस क्रममा २०७३ पुष ५ गते मात्सुमोतो नगरका प्रमुख डा. अकिरा सुगेनोया काठमाडौं आउनुभएको थियो । उहाँसँग नगर परिषद् सभापति नोवुओ इनोकाइ पनि सहभागी हुनुहुन्थ्यो । त्यस बेला दुवै नगरकातर्फबाट राष्ट्रिय जुडो खेलाडी फुपु लामा खत्रीलाई १० हजार नगद राशीसहित सम्मान गरिएको थियो । त्यसबेला राष्ट्रिय सभा गृहमा मात्सुमोतो नगरका सांस्कृतिक तथा प्राकृतिक महत्व झल्काउने र त्यहाँका स्थानीयको दैनिक जीवनसँग सम्बन्धित तस्विरहरु प्रदर्शन गरिएको थियो । भ्रमणका बेला दुई नगरको मैत्रीपूर्ण सम्बन्धको प्रतीकका रुपमा नगर प्रमुख सुगेनोया र नगर परिषद् सभापति नोवुओ इनोकाइले हिमालयन साकुरा जातका बिरुवा रोप्नु भएको थियो ।

 

यसमा तपाइको मत